बुद्धभूमिमा ताल–तालै रोजगारीको खानी (फोटोफिचर)

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा फैलिएको बृजा ताल सुन्दर पिकनिक स्पट मात्र नभई रोजगारीको खानी बन्ने सम्भावना बोकेको छ। १३.२ हेक्टर क्षेत्रफलमा फैलिएको यो तालमा फुल फेजमा माछा पालन गरिए वार्षिक ४० लाख रुपैयाँसम्मको माछा उत्पादन सम्भव हुने विज्ञहरूको भनाइ छ। तर, समुदायसँग पर्याप्त लगानी नहुँदा सम्भावना व्यावसायिक स्तरमा रूपान्तरण हुन सकेको छैन।

बुद्धभूमि नगरपालिकाले इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहकार्यमा १ करोड ६७ लाख रुपैयाँको घुम्ती कोष स्थापना गरी माछा पालनमा लगानी थालेको हो। नगर प्रमुख केशव कुमार श्रेष्ठका अनुसार, यस कोषबाट आयआर्जन र वातावरण संरक्षण दुबैलाई प्राथमिकता दिँदै योजनाहरू अघि बढाइएको छ।

बृजा तालमा हालसम्म ४९ लाख रुपैयाँभन्दा बढी खर्च गरेर माछा पालन सुरु गरिएको छ। संरचना निर्माणदेखि भुरा र दाना खरिदसम्म समुदायको प्रत्यक्ष सहभागिता छ। तर, अध्यक्ष मिना थारुले भने अनुसार, “हामीले कोषबाट ३१ लाख रुपैयाँ फिर्ता गरिसकेका छौं, अझै पनि लगानी गर्न चुनौती छ।”

यसैगरी, तिनघेरवा सामुदायिक वनले ३.३ हेक्टर क्षेत्रफलमा ३६ लाख रुपैयाँ, वडा नं. ४ को बुड्डी तालमा ३० लाख र वडा नं. ९ को मैटहवा तालमा १६ लाख रुपैयाँ लगानी गरी माछा पालन कार्यक्रम सञ्चालन गरिएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेल भन्छन्, “गाउँमा माछा पालनजस्ता सम्भावना छन्, तर युवाहरू विदेश पलायन भइरहेका छन्। उनीहरूलाई सहुलियत ऋण र अनुदानमार्फत स्वरोजगारमा आकर्षित गर्न सकियो भने रोजगारी गाउँमै सिर्जना हुन्छ।”

पशु सेवा विज्ञ डा. प्रवेज आलमका अनुसार, “माछा पालनका लागि संरचना तयार भए पनि दाना खरिदका लागि स्रोतको अभावले उत्पादनमा बाधा पुगेको छ।”

योजना अनुसार, द च्यारीटेबल फाउन्डेसन अस्ट्रेलियाबाट प्राप्त रकम बुद्धभूमि नगरपालिकाको समन्वयमा ५ वर्षभित्र फिर्ता गर्ने सर्तमा कोषमा लगानी गरिएको हो। यही कोषबाट मैटहवा तालमा दुई वर्षअघि लगानी गरिएको थियो।

हालसम्म ११ सयभन्दा बढी घरधुरी सो कोषबाट लाभान्वित भइसकेका छन्। तर अझै पानीको स्रोतका लागि बोरिङको अभाव, दाना खरिदको समस्या र लगानीको असहजता जस्ता चुनौती कायमै छन्।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै