सिटामोलको ट्रेलरमा जनसेनाको पीडा

काठमाडौं । यही २३ साउनबाट चलचित्र घरमा रिलिज हुने नेपाली चलचित्र ‘‘सिटामोल’’को ट्रेलर बुधवार सार्वजनिक गरिएको छ । ट्रेलरले दुई दशक अघिको जनयुद्धका पीडाहरूलाई दर्साएको छ । माओवादी जनयुद्धमा लागेर खुट्टामा गोलीले छाडेर अपांगता भएका व्यक्तिको त्यसपछिको अवस्थालाई ट्रेलरमा समेटिएको छ ।

युद्धविराम पछि जनसेना समायोजन हुँदा राज्यबाट ती अपांगता भएका जनसेनाले पैसा पाउँछन् । त्यो पैसा पाएपछि उनको विवाह पनि हुन्छ । तर त्यो पैसा अरुले हत्याउन खोजेपछि उनले पैसा जोगाउन गर्नु परेको संघर्षलाई पनि ट्रेलरमा समेटिएको छ ।

यो चलचित्रको ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरमा केही कमेडी पनि प्रस्तुत गरिएको छ । जसमा आर्थिक अभावले निम्त्याएको समस्या र सामाजिक व्यंग्य पनि प्रस्तुत छ । यो चलचित्र हास्य प्रधान शैलीमा निर्माण गरेको निर्माण पक्षले जनाएको छ । ट्रेलरमा सौगात मल्ल र बेनिशा हमाललाई बढी स्थान दिइएको छ ।

राज बहादुर साने निर्देशित सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली, आराध्य राज्यलक्ष्मी डिसीको अभिनय छ ।

तुल्सी देवी फिल्म प्रालिले जुन तारा फिल्म्सको सहकार्यमा निर्माण भएको यो चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको सिटामोलमा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता छन् । चलचित्रका सह निर्माता गंगाराम श्रेष्ठ हुन् ।

यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, दिव्य सुवेदीको छायांकन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर