काठमाडौं । यदि सबै कुरा ठीकठाक रह्यो भने छिमेकी राष्ट्र भारत कोलकाताका फुटबलप्रेमीले एक दशकपछि महान् फुटबल खेलाडी लियोनेल मेस्सीलाई हेर्ने मौका पाउनेछन् ।
कोलकातापछि उनी अहमदाबाद, मुम्बई र दिल्ली पनि जानेछन्, ती स्थानमा सर्वकालीन फुटबलर मेस्सीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बईको वानखेडे स्टेडियमको बुकिङलगायत सबै औपचारिक तयारीसमेत पूरा भइसकेको छ । तर मेस्सीबाट भारत आउने आधिकारिक पुष्टि भने भइसकेको छैन ।
स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले ‘सबै तयारीलाई अन्तिम रूप दिइएको र मेस्सीबाट आधिकारिक पुष्टिकरण पर्खाइमा रहेको’ जनाएको छ । चाँडै नै यो उनको सामाजिक सञ्जाल ह्यान्डलमा थाहा हुने विश्वास गरिएको छ । अहिलेलाई भने प्रस्तावित कार्यक्रममा सहमति भएको छ । तालिकाअनुसार मेस्सी आगामी १२ डिसेम्बरमा राति १० बजे कोलकाता पुग्ने छन् । त्यहा“ उनी दुई दिन र एक रात बस्ने छन् ।
त्यस्तै, १३ डिसेम्बरमा बिहान ९ बजे कोलकातामा ‘भेटघाट र अभिवादन’ कार्यक्रमपछि मेस्सीको ७० फिट अग्लो प्रतिमा ‘भीयआईपी’ रोडस्थित लेकटाउन श्रीभूमिमा अनावरण गरिने छ । यसपछि उनी इडेन गार्डेन जानेछन्, जहाँ १२ देखि १ः३० बजेसम्म ‘गोट कप’ र ‘गोट कन्सर्ट’ हुनेछ ।
स्रोतका अनुसार मेस्सीले प्रतिटोली सात खेलाडीको ‘सफ्ट टच’ र ‘सफ्ट बल’ खेल खेल्ने छन्, जसमा सौरभ गांगुली, लिएन्डर पेस, जोन अब्राहम र बैचुङ भुटिया पनि उपस्थित हुने जनाइएको छ । इडेन गार्डेनमा हुने कार्यक्रमको टिकटको न्यूनतम दर ३५ सय भारु तोकिएको छ । ६८ हजार क्षमता भएको सो स्टेडियममा मेस्सी एक घण्टा २० मिनेट बस्ने छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उनलाई सम्मान गर्ने कार्यक्रम छ ।
१३ डिसेम्बर साँझ अहमदाबादमा अदानी फाउन्डेसनको निजी कार्यक्रममा भाग लिने मेस्सी १४ डिसेम्बरमा मुम्बई पुग्नेछन् । त्यहाँ दिउँसो ३.४५ बजे ‘सीसीआई’मा ‘भेटघाट र अभिवादन’ कार्यक्रम आयोजना हुनेछ । यसपछि, वानखेडे स्टेडियममा साँझ ५ः३० बजेदेखि ‘गोटकप’ र ‘कन्सर्ट’ आयोजना गरिने छ । यसका लागि वानखेडे स्टेडियम बुक गरिएको छ ।
यसैगरी,मेस्सीले एमएस धोनी र विराट कोहलीसँग सात खेलाडीको क्रिकेट खेल खेल्न सक्ने सम्भावना छ । तर, स्रोतले मुम्बईमा कुनै क्रिकेट खेल नहुने दावी गरेकाने छ । भारतीय सेलिब्रेटीको उपस्थितिमा सफ्ट बल र सफ्ट टच म्याच हुनेछ, जसले उनको यात्रा थप रोमाञ्चक बन्ने विश्वास गरिएको छ ।






