दुर्घटनामा एकजनाको मृत्यु, २० घाइते

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेमा बस र इभी माइक्रोबस ठोक्किँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा इभी चालक धादिङ जिल्ला घर भएका ३३ वर्षीय रमेश अवस्ती हुन् । दुर्घटनामा घाइते उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशीष बिकले जानकारी दिए ।

सो दुर्घटनामा २१ जना घाइते भएका थिए । गम्भीर २ जनामध्ये अवस्तीको मृत्यु भएको हो ।

बिहीबार दिउँसो ४ बजेर ५५ मिनेटमा तनहुँ सदरमुकाम दमौलीदेखि मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–००६ख ६५०३ नम्बरको इभी (माइक्रो) बन्दीपुर गाउँपालिका वडा ४, ठूलढुंगामा आपसमा ठोक्किएका थिए ।

बसमा सवार १३ जनामध्ये ११ जना घाइते भएका हुन् । तीमध्ये ५ जनाको अवस्था मध्यम र ६ जना सामान्य छन् । त्यस्तै, इभीमा सवारमध्ये ९ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनाको चितवन मेडिकल कलेज, ४ जनाको पोखराको मणिपाल शिक्षण अस्पताल र १ जनाको रत्नहरि अस्पताल, दमौलीमा उपचार भइरहेको छ । बाँकीको स्थानीय लक्ष्मी अस्पताल तनहुँमा उपचार भइरहेको छ ।

दुर्घटनाको खबरपछि प्रहरी चौकी डुम्रेका प्रहरी नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा ८ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक कृष्णबहादुर चन्दको कमाण्डमा ५ जनाको टोली उद्धारका लागि खटिएको थियो । दुबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर