वीरगन्ज । संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक वृत्तमात्र पथभ्रष्ट भयो भनी आक्षेप खेपिरहेको समयमा नीजि क्षेत्र झन त्योभन्दा बढी पथभ्रष्ट भएको पाइएको छ । राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले गएको आर्थिक वर्ष ०८१÷०८२ मा राजश्व चुवावट तर्फ निगरानी बढाउँदा यस्तो तथ्य सतहमा आएको हो ।
नेपालमा आर्थिक कारोवार गर्ने अधिकाँश व्यवसायीहरु झन राजनीतिक दल र राजनीतिकर्मीभन्दा गैताल रहेछन् भन्ने उनीहरुलाई दण्डजरिवाना गर्दा उठेको राजश्वको बढि तथ्यले पुष्टि गरेको छ । वैद्य कारोवारको नाटक मञ्चन गरी उनीहरुले पनि झन राजश्व छल्न ठूलै हर्कत गर्दा रहेछन् भन्ने राजश्व चुहावट मुद्दामा मागदावी गरेको रकमको तथ्याँकले समेत औल्याएको छ । यो तथ्याँकमा १ हजार ५ सय ८१ दशमलब ३८ प्रतिशतको राजश्व बढोत्तरी भएको तथ्याँकले तीन–छक्क पारेको छ । राजश्व अनुसन्धान कार्यालय पथलैया बाराको राजश्व चुहावट मुद्दा मागदावी तर्फको राजश्वको अघिल्लो आ.ब.को तुलनामा यस्तो छलाँङ्ग भेटिएको हो । यो अनुसन्धान कार्यालयको निगरानीका क्रममा यो वैध व्यापार व्यवसायको नामको भीषण छलछाम भएको पनि खुलेको छ ।
यो भनेको अघिल्लो आर्थिक वर्ष ०८०-०८१ को तुलनामा गएको आर्थिक वर्ष ०८१-०८२ मा रु.७१ करोड ८१ लाख २५ हजार बढी राजश्व चुहावट मुद्दा मागदावी रकम सकलन भएको तथ्याँकले पुष्टि गरेको छ । जबकी राजश्व चुहावट मुद्दा मागदावी रकम शीर्षकमा अघिल्लो आर्थिक वर्ष ०८०-०८१ मा जम्मा ४ करोड ५४ लाख ११ हजार २ सय ९८ मात्र थियो । तर राजश्व अनुसन्धान कार्यालय पथलैयाले निगरानी बढाउँदा गएको आर्थिक वर्ष ०८१-०८२ मा भने सो रकम बढेर कुल ७६ करोड ३५ लाख ३६ हजार ३ सय पुगेको सो कार्यालयको तथ्याँकले देखाएको छ । यो वैध व्यापारको धज्जी उडाउने ‘ग्रे च्यालन’को नमूना भएको उद्योग व्यापार क्षेत्रका नेताहरु पनि स्वीकार्छन् ।
धरौटी सदरस्याहा तर्फ पनि सवा दुईसय बढी
राजश्व अनुसन्धान कार्यालय पथलैयाको निगरानीमा धरौटी सदरस्याहा तर्फको शिर्षकमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा २ सय २३ दशमलब ५२ प्रतिशत वृद्धि भएको पाइएको छ । यो भनेको पनि कुल ६ करोड ६१ लाख १० हजार ७ सय ३५ रुपैया हो । जबकी अघिल्लो आर्थिक वर्ष यो शीर्षकमा जम्मा २ करोड ४ लाख ३४ हजार ६ सय ९५ रुपैया मात्र राजश्व संकलन भएको थियो । त्यसै गरी राजश्व चुहावट तर्फ अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष ११ वटा मुद्दा बढि दर्ता हुनु अवैध कारोवारले शीर उठाउन थालेको संकेत मिलेको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले संकेत गरे । जबकी यो कार्यालयले अघिल्लो आ.ब.मा ३ वटा मात्र राजश्व चुहावटका मुद्दा दर्ता गरेको थियो । तर गएको आर्थिक वर्षमा त्यसको तुलनामा ३ सय ३६ दशमलब ६७ प्रतिशत बढि मुद्दा दर्ता भएको पनि उनको तर्क छ ।
कार्यालयले दर्ता हुन आएका सूचना÷उजुरी फस्र्यौटलाई उच्च प्राथमिकतामा राख्दा अघिल्लो आ.व. को ५८.३२ प्रतिशत फछ्र्यौट भएका सूचना÷उजुरी को शीर्षकमा पनि गत आ.व. मा ९३.४९ प्रतिशत उजुरी फस्र्यौट भएको कार्यालयको तथ्याँकमा उल्लेख छ । राजस्व अनुसन्धान कार्यालय, पथलैयाले आ.व. २०८१÷०८२ मा राजस्व चुहावट र विदेशी बिनिमय गरी २८ वटा मुद्दा दर्ता गरेर धरौटीलाई निष्कृय रुपमा राख्नुभन्दा राजस्व खातामा सदरस्याहा गर्दा पनि राजश्वको पाटोमा प्रगति भएको देखिएको राजश्व कार्यालय पथलैयाको दावी छ ।
कार्यालयको प्रगति सबै शिर्षकमा छलाँङ्ग
राजस्व चुहावट धरौटी संकलन तर्फ पनि राजश्व कार्यालय पथलैयाले अघिल्लो आ.व. मा सकलन गरेको राजश्वभन्दा ९२ दशमलब ५० प्रतिशत बढि राजश्व संकलन गरेको छ । यो भनेको अघिल्लो वर्ष संकलन भएको रु ६ करोड ११ लाख ३५ हजार ८ सय ७५ रुपियाभन्दा बढि रु. ११ करोड ७६ लाख ८५ हजार १ रुपियाँ हो । राजस्व संकलन गर्ने निकाय नभए पनि आफूहरुको गरेको कामको प्रभाव अन्य निकायको राजस्व संकलनमा पनि देखिने राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत शर्माको दावी छ ।
सो कार्यलयले लिलाम बिक्री तर्फ पनि आ.व.२०८०-८१ को राजश्व ८४ लाख ८६ हजार ८ सय ५९ रुपैयाबाट बढाएर गएको आ.व. २०८१÷८२ मा ५ करोड ४९ लाख १८ हजार ६ सय २६ रुपैया पु-याएको छ । जुन सो शिर्षकमा पनि ५ सय ४७ दशमलब १० प्रतिशत राजश्वको दर बढेको पाइएको हो ।
दण्डजरिवानाबाट बढी राजश्व उठ्नु नीजि क्षेत्रको हकमा दुःखद्
राजश्व संकलन गर्ने निकायभन्दा पनि अनुसन्धानको पाटोमा बढि निगरानी गर्ने कार्यालयले कैफियत फेला पारी गरेको दण्डजरिवानाबाट राजश्व कार्यालय पथलैयाले मात्र कुल १ अर्ब ३ करोड ९५ लाख ३६ हजार ६ सय २१ रुपैया राजश्व संकलन गरेको छ । जुन राज्यको आँखाबाट त सही हो । सो कार्यालयको प्रगतिको सूचकाँकमा झन सकारात्मक कदम हो ।
तथापि सभ्य व्यवसायको दृष्टिकोणबाट निश्चित रुपमा यो राजश्वको मात्रा बढ्नु सकारात्मक होइन । यो भनेको ग्रे लाइनबाट व्यवसायभ भरहेको उदाहरण पनि हो । राज्यको नीति र अनुशासनमा जो कोही बाँधिनु पर्नेमा कार्वाही स्वरुप उठेको राजश्वले अनुसन्धान कार्यालय पथलैयाको प्रगतिको अर्थ चाही राख्ने प्रमुख अनुसन्धान अधिकृत शर्माको भनाइ छ ।
जितपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा भने वैध व्यवसाय गर्ने नीजि क्षेत्रलाई यसले मन दुखाएको तर्क गर्छन् । ‘यस्तो राजश्व बढि उठ्नु राम्रो संकेत होइन’ संघका अध्यक्ष शर्माले भने । ‘यो राजश्वबाट देश विकासमा पनि खासै टेवा पुग्दैन’ उनले थपे । ग्रे च्यानलबाट कारोवार गर्नेहरुको कारण नीजि क्षेत्रको साख घटाउने काम यस्तै तथ्याँकले गर्ने उनको भनाइ छ ।






