एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद

महाधिवेशन प्रतिनिधि छनौटमा असहमती जनाउदै असन्तुष्ट पक्षद्धारा गरिएको पत्रकार सम्मेलन ।

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद सुरु भएको छ । जिल्ला कार्यसमितिले सर्वसहमतिमा छनोट गरिएको भन्दै दश जनाको नाम सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले उक्त निर्णय सच्याउन माग गर्दै केन्द्रीय सङ्गठन विभागमा उजुरी दिएका छन् ।

नेकपा एमाले कोशी प्रदेश समितिलाई बोधार्थ दिइएको उजुरीमा कोशी प्रदेश समिति लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे लगायत २८ जना युवा नेताहरुले हस्ताक्षर गरेका छन् । उजुरीमा केन्द्रीय नेताहरुले आफ्नो गोजिका व्यक्तिलाई प्रतिनिधि बनाएको भन्दै निर्णय सच्याउन माग गरिएको छ । असन्तुष्ट पक्षले केन्द्रीय नेताहरुले विधि र विधान विपरित निर्वाचन समितिलाई समेत बेवास्ता गर्दै पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाएका छन् ।

दिक्तेलस्थित एल्लो हाउसमा पत्रकार सम्मेलन गरी असन्तुष्ट पक्षले केन्द्रीय नेताहरुको इसारामा जिल्ला कार्यसमितिले आफूखुसी सार्वजनिक गरेको निर्णयलाई बदर गरेर लोकतान्त्रिक पद्धतिमार्फत प्रतिनिधि छनोट गर्न माग गरेका छन् । एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समितिका अध्यक्ष गोपाल आचार्यले पाँच हजार ६० जना पार्टी सदस्यको भावना विपरित नेताहरुले निर्णय गरेको आरोप लगाए ।

एमाले खोटाङका अध्यक्ष देवबिक्रम राईले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रदेश सचिवालय सदस्य विणादेवी राई, सदस्य पुष्पकला भुजेल, जिल्ला अध्यक्ष राई स्वयम्, उपाध्यक्ष कुमारप्रसाद आचार्य, सचिव सुरेन्द्रकुमार राई, उपसचिव कविता राई, सचिवालय सदस्य दिपक ठटाल र सदस्य जगत किराती छनोट भएको उल्लेख छ ।

विज्ञप्तिमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गर्ने पार्टी सदस्यहरु र महाधिवेशन प्रतिनिधि छनोटका लागि समन्वय, सहजीकरण र व्यवस्थापन गर्न बनेको समिति तथा निर्वाचन समितिबीच छलफल गरेर सर्वसहमतिमा प्रतिनिधि छनोट गरिएको भनिएको छ । मङ्सिर २७ गतेबाट भक्तपुरमा हुने एमालेको ११ औं महाधिवेशनका लागि खोटाङमा ६५ जनाको उम्मेदवारी परेको थियो ।

महाधिवेशनका लागि खोटाङबाट पोलिटब्यूरो सदस्य एवम् जिल्ला इन्चार्ज विशाल भट्टराई, केन्द्रीय सदस्यहरु उषाकला राई, खगेन्द्र राई, रमेशकुमार पौडेल र अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले प्रतिनिधि हुनुहुन्छ । यस्तै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेका केन्द्रीय सदस्यहरु बबि चाम्लिङ र अम्बिका राईसमेत महाधिवेशन प्रतिनिधि छनौट भएका छन् ।

पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश लेखा आयोगका सचिव घिमिरे, एमाले खोटाङका जिल्ला सदस्य एवम् खेलकुद महासंघका केन्द्रीय सदस्य आशिष राई, निवर्तमान सचिवालय सदस्य एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपाका वडाध्यक्ष दिनेश राई, नगर समिति अध्यक्ष आचार्य, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य डेबिट राई लगायतको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल