महानिर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । बुधबार आयोगले अधिकारीसहित पूर्वनिर्देशक मुरारी भण्डारी र कर्मचारी तथा ठेकेदार कम्पनीसमेतबाट १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ बिगो असुल हुनुपर्ने दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अधिकारी र भण्डारीलाई पक्राउ गरिसकिएको छ भने उनीहरूलाई हिरासतमै राखेर थुनछेक गरिने आयोग सम्बद्ध स्रोतले जनाएको छ । बुधबार आयोगमा तारेख बुझ्न पुगेकै समयमा आयोगले पक्राउ गरी आरोपपत्रसहित विशेष अदालत लगेको हो । अदालतले हिरासतमै राखेर थुनछेक गर्न अनुमति दिएको खण्डमा उनीहरू हिरासतमै हुनेछन् ।

आरोपपत्रमा महानिर्देशक अधिकारीसहित उपप्रबन्ध निर्देशक सम्बृद्धि श्रेष्ठ प्रबन्धक नलविक्रम थापा, इन्जिनियर गुरुदत्त अधिकारी र कन्सल्टेन्सी फर्म अभियन्त्र प्रालिका विजय थापालाई प्रतिवादी बनाइएको छ । आयोगले मुद्दा दायर गरेसँगै अन्य प्रतिवादी फरार रहेको आयोगले जनाएको छ । भक्तपुरको नलिञ्चोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोपमा आयोगले आरोपपत्र दायर गरेको हो ।

आयोगको ‘मिहिन छानबिन’मा
नागरिक उड्डयन प्राधिकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिहिन छानबिनको सूचीमा रहेको छ । आयोगमा प्राधिकरणविरुद्धका दर्जनौं उजुरी रहेको आयोग सम्बद्ध स्रोतले बताएको छ ।

गत १६ असोजमा आयोगले सिनामंगलमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट कागजातहरू बरामद गरेको थियो । प्राधिकरणमा विभिन्न परियोजनाको निर्माणमा अनियमितता भएको आशंकामा उजुरी परेपछि आयोगले मिहिन अनुसन्धान गरिरहेको आयोग सम्बद्ध स्रोतले बताएको छ ।

संसदीय निर्देशन
नागरिक उड्डयन प्राधिकरणका विभिन्न आयोजनाको सञ्चालनदेखि कर्मचारी नियुक्ति र अनुसन्धानका नाममा सञ्चालन हुने अनेकौं कार्यक्रमका नाममा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि सार्वजनिक महत्वको विषयका रूपमा संसद्को विषयगत समितिमा पनि पटकपटक प्राधिकरणका गतिविधिमा छानबिनको माग उठिरहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी विषयगत समिति तथा सार्वजनिक लेखा समितिमा समेत प्राधिकरणका महानिर्देशक अधिकारीले पटकपटक बयान दिएका थिए । चित्तबुझ्दो जवाफ पनि नदिने र अनेकौं शक्तिकेन्द्रको प्रभावमा उम्किरहने अधिकारीलाई कारबाही गर्नुपर्ने आवाज संसदीय समितिमा पटकपटक उठेको थियो ।

जेनजीको ‘टार्गेट’मा पनि महानिर्देशक अधिकारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि पक्राउ गरेका अधिकारीका विषयमा उठेका धेरै भ्रष्टाचारका घटनालाई लिएर जेनजी अभियन्ताले समेत चासो लिएका थिए ।

जेनजी आन्दोलनका क्रममा धेरै भ्रष्टाचार हुने कार्यालय र निकाय तथा त्यसको जिम्मेवार अधिकारीका रूपमा महानिर्देशक अधिकारीको नाम पनि अग्रपंक्तिमै थियो । जेनजी आन्दोलन सकिएलगत्तै बनेको नयाँ सरकारलाई ध्यानाकर्षण गराउँदै भ्रष्टाचारीलाई कारबाहीको माग गर्ने क्रममा अधिकारीलाई पनि कारबाहीको माग गर्दै जेनजी अभियन्ता तथा आन्दोलनकारीले विभिन्न निकायमा दबाब दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

प्रादेशिक अस्पताल मलङवाको समिति मनोनयन गैरकानुनी भन्दै स्थानीय युवाको विरोध प्रदर्शन