हेटौंडा सडक विस्तार सुरु, करिब ७ सय सुरक्षाकर्मी तैनाथ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सडक विस्तारको लागि शनिबार बिहानैबाट डोजर चलेको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले सडक विस्तारको लागि जारी गरेको १५ दिने सूचनाको समय शुक्रबार सकिएपछि शनिबारबाट सडक विस्तारको कार्य सुरु गरिएको हो । स्थानीय प्रशासनको सहयोगमा सुरक्षाकर्मी परिचालन गरेर सडक डिभिजन हेटौंडाले रेखाङ्कभित्र परेका संरचना भत्काउन सुरु गरेको हो ।

हेटौंडाको बुद्धचोक राप्तिरोड बैंक रोडस्थित घरहरु भत्काउने कार्य जारी छ । बजार क्षेत्रका अन्य स्थानमा पनि डोजर चलाउन सुरू गरेको छ । ४ स्थानबाट एकैपटक सडक क्षेत्रको संरचना भत्काउन सुरु गरेको हो । सुरक्षाको लागि करिब ७ सय सुरक्षाकर्मी फिल्डमा खटिएको छ भने थप सुरक्षा दस्ता तयारी अबस्थामा राखिएको बताइएको छ ।

सडक डिभिजनले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोकहुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने सूचना प्रकाशित गरेको थियो । तोकिएको समयमा संरचना नभत्काए कार्यालय आफैंले भत्काउने जानकारी दिदै सूचना जारी गरेको भए पनि सडक सीमा क्षेत्रका कतिपय घरहरु खाली भएका छैनन् । मुआब्जा र क्षतिपूर्ति माग्दै सडक विस्तार हुने क्षेत्रका घरधनी र व्यवसायीहरु आन्दोलित भएका छन् ।

सूचनामा उल्लेखित क्षेत्रमा सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने सडक डिभिजनले जनाएको छ । यसअघि सडक विस्तारको लागि सडक डिभिजनले पटक पटक सूचना प्रकाशित गर्दै सडक क्षेत्रमा पर्ने संरचना भत्काउन गरेको प्रयास सफल भएको थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

पुराना अनुहारसँगै पर्सामा १०५ को उमेद्वारी दर्ता