साविक विजेता जनकपुर पुछारमा

कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकटमा साविक विजेता जनकपुर बोल्ट्स दोस्रो संस्करणमा पुछारको टोली बनेको छ ।

लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराउँदै पहिलो संस्करणमा विजेता बनेको टोली जनकपुरलाई दोस्रो संकरणमा पुछारको टोली बनाइदियो ।

लिग चरणको अन्तिम खेलमा कर्णालीद्वारा जनकपुर पराजित

तालिकामा दुई जित र पाँच हारसँगै कुल ४ अंकका साथ कर्णाली याक्स छैटौं स्थानमा छ । उति नै अंक भए पनि चितवन लायन्स तालिकाको सातौं स्थानमा रहेको छ भने जनकपुर २ अंकसहित आठौं बनेर पुछारमा रह्यो । कर्णालीले जनकपुरसँगै लुम्बिनीलाई हराउँदा सुदूरपश्चिम, काठमान्डु, पोखरा, चितवन र विराटनगरसँग पराजित हुन पुगेको थियो ।

यस्तै, जनकपुरले चितवनलाई ६ विकेटले हराएको थियो भने कर्णालीसँगै सुदूरपश्चिम, काठमान्डु, पोखरा, लुम्बिनी र विराटनगरसँग हार व्यहोरेको थियो । अंक तालिकामा सुदूरपश्चिम १२ अंकसहित पहिलो, विराटनगर १० अंकसहित दोस्रो, समान अंक भए पनि रनरेटमा पछि पर्दै काठमान्डु तेस्रो र लुम्बिनी लायन्स ८ अंकसहित चौथो भए ।

अब सुदूरपश्चिम र विराटनगरबीच मंगलबार पहिलो क्वालिफायर खेल हुनेछ । जित हात पार्ने टोली आगामी शनिबार हुने फाइनलमा पुग्नेछ । पराजय भोग्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा अवसर पाउनेछ ।

बुधबार इलिमिनेटरको खेलमा काठमान्डु र लुम्बिनी भिड्नेछन् । जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा पुग्नेछ ।

कर्णालीसँग जनकपुर ३ रनले पराजित
आइतबार लिग चरणको अन्तिम खेलमा १ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रनमै समेटियो ।

जनकपुरका लागि सर्वाधिक ५१ रन संजय कृष्णमूर्तिले बनाए । ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरेका उनी नन्दन यादवको बलमा गुल्सन झाबाट क्याच आउट भए । २५ रनको योगदान दिएका संगीत कोरे सोमपाल कामीको बलमा सिकार भए । उनी नजिबुल्लाह जर्दानबाट क्याच आउट भए । जान निकोल लोफ्टी इटन १३ रनमा नटआउट रहँदा आदित्य महता १ रनमा रनआउट भए ।

जनकपुरका सुरुवाती ब्याटरले खराब प्रदर्शन गरे । माज सदाकत १६ बलमा १२ रन बनाउँदै आउट भए । उनी विलियम बोसिस्टोको बलमा एलबीडब्लू सिकार भए । आशिफ शेख र अनिल साह शून्य रनमै आउट भए । ३ बल खेलेका आशिफ मार्क वाटको बलमा अर्जुन घर्तीबाट क्याच आउट भए । ५ बलको सामना गरेका अनिल भने पवन सर्राफको बलमा बोसिस्टोबाट क्याच आउट भए । मयन यादवले ९ रन बनाए ।

बलिङतर्फ विलियम बोसिस्टोले २ विकेट लिँदा मार्क वाट, पवन सर्राफ, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । कर्णालीका लागि ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए । यस सिजन पहिलो खेल खेलेका शेख ३२ बलमा १ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाउँदै ललित राजवंशीको बलमा संजय कृष्णमूर्तिबाट क्याच आउट भए ।

यस्तै, गुल्सन झाले २० बलमा १९ रन बनाए । उनी माज सदाकतको बलमा अनिल साहबाट क्याच आउट भए । कप्तान सोमपाल कामी १८ रनमा नटआउट रहे । १० बलमा १ चौका र १ छक्का प्रहार गरेका झाले १८ रन बनाए । यसैगरी, प्रियांक पाञ्चलले १६ रन बनाउँदा विलियम बोसिस्टोले १५ रन तथा नजिबुल्लाह जर्दानले १३ रनको योगदान दिए । मार्क वाट र अर्जुन घर्ती समान ४–४ रनमा आउट भए । वाट ४ रनमा कुलेको बलमा आउट हुँदा घर्ती रन आउट भए । यस्तै, दीपेन्द्र राउत पनि २ रनमै आउट हुन पुगे ।

बलिङमा जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले २–२ विकेट लिँदा संगीत कुरे, अनिल साह र माज सदाकतले समान १–१ विकेट लिए ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी