लुम्बिनी दोस्रो क्वालिफायरमा आज विराटनगरसँग प्रतिस्पर्धा गर्दै

कीर्तिपुर । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो ।

अब दोस्रो क्वालिफायरमा बिहीबार लुम्बिनीले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै पराजित भएको थियो ।

बुधबार काठमान्डुले दिएको १ सय १२ रनको लक्ष्य लुम्बिनीले १७ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो ।

लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान गरे । ३४ बलको सामना गरेका उनले २ छक्का प्रहार गरे । उनी १२औं ओभरको अन्तिम बलमा काठमान्डुका रशिद खानको बलमा विकेटकिपर जोन सिमसनबाट क्याच आउट भए ।

अर्का ओपनर दिनेश अधिकारी ४ रनमै सनी पटेलको बलमा करण केसीबाट क्याच आउट भए । उनले आउट हुनुपूर्व ५ बलमा १ चौका प्रहार गरेका थिए । कप्तान रोहितकुमार पौडेलले १८ रन बनाउँदा सन्दीप जोराले २३ रनको योगदान गरे । २५ बल खेलेर १ चौका र १ छक्काको मद्दतमा १८ रन बनाएका पौडेल नवौं ओभरको अन्तिम बलमा शाहब आलमको बलमा बोल्ड भए ।

सन्दीप जोराले २३ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए । उनलाई १७औं ओभरमा सन्तोष यादवले बोल्ड गरे । दिलीपनाथ ७ रनमा सन्तोष यादवकै बलमा एलबीडब्लूको धरापमा परे ।

यस्तै, निरोशन डिक्वेलाले १४ रन बनाउँदा दिलीप नाथले ७ रन तथा रुबेन ट्रम्पलम्यानले ५ रन बनाए । १४ बलमा २ चौका प्रहार गरेका डिक्वेलालाई काठमान्डुका कप्तान करण केसीले १४ रनमा बोल्ड गरे । अन्त्यमा रुबेल ट्रम्पलम्यानले चौका प्रहार गरेर लुम्बिनीलाई जिताए । जे स्मिथ भने शून्य रनमा नटआउट रहे ।

बलिङमा काठमान्डुका सन्तोष यादवले २ विकेट लिए । करण केसी, सनी पटेल, शाहब आलाम र रशिद खानले १–१ विकेट आफ्नो नाममा पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु खराब ब्याटिङ गर्दै सस्तैमा समेटिएको थियो । ओपनिङदेखि नै धर्मराएको ब्याटिङ बल्लतल्ल सय रन कट्यो ।

काठमान्डु १९ दशमलव १ ओभरमा १ सय ११ रनमा अलआउट भयो । काठमान्डुको सुरुवाती ब्याटिङ लाइनअप धरासायी बनाएको लुम्बिनीले पावरप्लेभित्र ४ विकेट लिइसकेको थियो ।

काठमान्डुका शीर्ष चार ब्याटर दोहोरो अंक जोड्न नसकी सस्तैमा आउट भए । जसका कारण टोली संकटमा पारेको थियो । ब्याटरले रनका लागि संघर्ष गरेका थिए । काठमान्डुका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । १७ बलमा १ छक्कासहित २३ रन बनाएका यादव रन आउट भए ।

महोम्मद आदिल आलम र जोन सिम्पसनले १८–१८ रनको योगदान गरे । १७ बलमा १ चौका र १ छक्कासहित सिम्पसनले १८ रन बनाए । उनलाई रोहित पौडेलले आउट गरे । आलमले भने ११ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

दोस्रो ओभरको पहिलो बलमा काठमान्डुका ओपनिङ ब्याटर आकाश त्रिपाठीलाई १ रनमा लुम्बिनीका शेर मल्लको बलमा कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट गराए ।

तेस्रो ओभरको पहिलो बलमा काठमान्डुले अर्को विकेट गुमाउन पुग्यो । ७ रन बनाएका सनी पटेल लुम्बिनीका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानको बलमा एलबीडब्लूको सिकार भए । चौथो ओभरको पाँचौं बलमा भारतीय मूलका अमेरिकी अलराउन्डर मिलिन्द कुमार २ रनमा आउट भए । उनलाई शेर मल्लले बोल्ड गरे ।

यसपछि ओपनर ब्याटर बेन चाल्र्सवर्थ ४ रनमा पेभिलियन फर्किए । रशिद खानले २ रन बनाउँदा करण केसीले ९ रनको योगदान गरे । साहब आलम ४ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका मल्ल र पौडेलले ३–३ विकेट लिए । मल्लले ४ ओभरमा २२ रन दिए भने पौडेलले २५ रन खर्चिए । यस्तै, ट्रम्पलम्यानले २ विकेट लिन सफल भए । उनले ३ दशमलव १ ओभरमा १ मेडन राख्दै १० रन मात्र दिए ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार