सुर्खेत । बुवा पूर्णबहादुर शाही ठकुरी र आमा ललिता शाही ठकुरीको कोखबाट सुर्खेत सिम्ता गाउँपालिका–६ राकममा बिजय शाही ठकुरीको २०५६ सालमा जन्म भयो । जन्मदै दृष्टिबिहीन भएर जन्मिएका शाहीको बाल्यकाल गाउँमै वित्यो । पहिलो सन्तानको रूपमा जन्मिएका शाही दृष्टिबिहीन भएको जनाउँदै उहाँका बुवा आमा चिन्तित थिए । किनकी त्यतिबेलाको समयमा अपाङ्गता भएका व्यक्तीलाई हेर्ने दृष्टिकोण अहिलेको जस्तो थिएन ।
निम्न परिवारमा जन्मिएका शाहीले सानैदेखि पढाईमा रूचि राख्थे । शाहीले पढाइमा रूचि राख्न थालेपछि बुवा आमाले विद्यालयमा पढ्न पठाउने निर्णय गरे । अनि उनी गाउँकै विद्यालयमा जान थाले । विद्यालय गएपनि उनको सिकाइ राम्रो हुनसकेको थिएन । विद्यालयमा अपाङ्गता भएका व्यक्तीलाई पढाउने छुट्टै कक्षापनि थिएन । विजयको बहिनी पनि दृष्ट्रिबिहीन नै थिए । विजय भन्छन्, “अन्य साथीले जसरी सिक्न पाएको भए, म पनि पढ्न सक्थे होला भन्ने मलाइ लाग्थ्यो, बहिनीपनि दृष्टिबिहीन नै थिइन । घरमा बुवा आमाले साह्रै चिन्ता गर्ने गर्नुहुन्थ्यो । गाउँका मानिस पनि पढाएर यीनिले के नाई गर्न सक्छन र ? भन्ने गर्थे ।”
एकदिनको कुरा हो, शिखर मावी रामघाटमा अध्यापन गराउने शिक्षक टेकबहादुर ओली विजयको घरमा आइपुगे । विजय र उनको बहिनीलाई देखेपछि उनीहरुलाई शिखर मावी रामघाटमा दृष्टिबिहीनको लागि ब्रेललिपीबाट पढ्ने वातावरण छ भनेपछि विजयको घरमा खुशीयाली छायो । उनको परिवारले पहिलोपटक सुनेको थियो की दृष्ट्रिबिहिनको लागि ब्रेललिपीबाट पढाइ हुन्छ भनेर । अनि भोलिपल्ट पढ्नको लागि बिजय रामघाट गए ।
पढाइमा सधैँ उत्कृष्ट
जब बिजय ब्रेललिपीबाट आफ्नो पढाइ सुरु गरे । उनी सधैँ कक्षामा उत्कृष्ट हुँदै गए । कक्षामा गुरुले पनि उनलाई हौसला दिन्थे भने घरमा बुवा आमाले पढ्नमा जोडबल गर्थिन । “हामीजस्ता दृष्ट्रिबिहिनको लागि पढ्ने वातावरण रहेछ भन्ने थाहा भयो, अनि बुवा आमा गुरुको हौसला पनि पाएँ, त्यसपछि मेरो ध्यान पढाइमा नै केन्द्रीत हुन थाल्यो । कक्षामा सधैँ उत्कृष्ट नम्बर ल्याएर पास हुन्थे,” विजय भन्छन् ।
विजयले कक्षा ५ सम्म शिखर माविमा पढे । त्यसपछिको शिक्षा भने उनले को पेशा कृषि थियो व्यवसायमुखिभन्दा पनि निर्वाहामुखी भएको हुँदा घरको आर्थिक अवस्था पनि कमजोर थियो । अनि खाना बस्न विद्यालयले सहयोग गथ्र्यो अनि ब्रेललिपीबाट पढ्न थालियो ।
पढ्न रूचि सानैदेखि भएपनि पढ्न सकिन्न की भन्ने लागेका उहालाई जव ब्रेल लिपीबाट पनि पढाइ हुँदो रहेछ भन्ने थाहा भएपछि अझैँ पढ्न जोश आयो । कक्षामा सधैँ उत्कृष्ट नतिजा ल्याउन थाले । अनि सबै घरपरिवार गुरुले पनि माया गर्थे । शिखर मावीमा प्रथामिकत तहको शिक्षा लिएका उनले त्यसपछि बाँकेको कोहलपुरमा रहेको त्रिभोवन मावीमा पढाइ गरे । कोहोलपुरमा उहाको पढाइ उत्कृष्ट नै थियो । अनि उनले ‘ए’ ग्रेड ल्याएर २०७३ सालमा एसईइ पास गरे ।
घरमा खुशीयाली
छोराछोरी नै दृष्टिबिहीन भएको चिन्तामा रहने विजयको बुवा आमा जब बिजय माध्यामिक शिक्षा परीक्षा (एसईइ)मा राम्रो नतिजा ल्याएर पास भए । त्यसपछि भने घरमा खुशीयालीको वातावरण सुरु भयो । बिजय भन्छन्, “छोराछोरी नै दृष्ट्रिबिहिन भए भनेर सधैँ चिन्तामा बुवा आमा हुनुहुन्थ्यो, जब म एसईइ पास भए । अनि मेरो घरमा धेरै खुशियाली छएको थियो, त्यसले झनै मलाइ हौसला मिलेको थियो ।”
बिजय प्लस टु पढ्न कलेज भर्ना भए । घरको आर्थिक अवस्था कमजोर थियो । बुवाआमाको मुख्य पेशा कृषि थियो । त्यो पनि निर्वाहमुखी मात्रै । तथापी उनले धेरै अभावकाबीचमा प्लस टुमासमेत उत्कृष्ट अङ्क ल्याएर २०७६ सालमा उत्तीर्ण गरे ।
सफलतामा पुग्न परिलक्षित साथ
बिजयको घरको आर्थिक अवस्था कमजोर थियो । प्लस दुई पास गरेका उहाँलाई स्नातक तह कसरी पढ्ने भन्ने चिन्ता थियो । पढ्नको लागि आर्थिक अवस्था कमजोर थियो । उनको कुनै आम्दानी पनि थिएन । सधैँ उत्कृष्ट अङ्क ल्याएर पास भएका बिजयलाई जीवनमा केही राम्रो काम गर्ने लक्ष्य थियो ।
रकम अभावकै कारण लक्ष्य पुरा हुन्न की भन्ने चिन्तामा बसेका बिजयसँग एकजना अपाङ्गताको क्षेत्रमा काम गर्ने व्यक्तिसँग भेट भयो । उनीसँग सबै आफ्ना व्यथा भनेपछि उनले परिलक्षि संस्थाले अपाङ्गता भएका बिपन्न विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नको लागि छात्रवृत्ती दिने कुरा थाहा पाएपछि उनले छात्रवृत्तिको लागि परिलक्षित संस्थामा आवेदन दिए । उनी छात्रावृत्तिको लागि छनौट भए । त्यसपछि उनी शिक्षा क्याम्पसमा स्नातक तहमा भर्ना भए । उनलाई उच्च शिक्षा हासिल गर्न सहज भयो । बिजयले उच्च शिक्षा पढ्दै शिक्षक सेवा आयोगको तयारी गरे । अनि उनले शिक्षक सेवा आयोगमा पहिलो पटक नै २०८० स्थायी शिक्षकमा नाम निकाल्न सफल भए । त्यो दिन संसार जितेको जस्तो अनुभूति उनलाई भएको थियो ।
अहिले बिजय त्रिवेणी मावि सल्यानमा प्रावी तहमा अध्यापन गराइहेका छन् । उनी भन्छन्, “अपाङ्गता भएका व्यक्तिलाई अवसर दिए सफलता प्राप्त गर्न सक्छन, म परिलक्षित संस्थालाई धेरै धन्यवाद दिन चाहान्छु । संस्थाले गर्दा नै अहिले म यो स्थानमा छु । मेरो आगामी योजना शिक्षण पेशाबाटै अगाडि बढ्ने र आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई अगाडि बढाउने योजना छ ।”रासस






