काठमाडौं । नेपालमा ‘स्ट्यान्डप कमेडी’मा लोकप्रियता हासिल गरेको कमेडी दरबार टिमले अब अस्ट्रेलियामा रहेका नेपालीहरूलाई पनि हसाउने भएको छ । चलचित्र निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई अस्ट्रेलियाको हास्य यात्रामा लैजान लागेका छन् । यो यात्राको तयारी अहिले तीव्र गतिमा भइरहेको निर्देशक बस्नेतले राजधानीलाई जानकारी गराए । उनका अनुसार कमेडी दरबारका विक्की अग्रवालसँग सो यात्राको लागि कागजी सम्झौता गरेर कार्यक्रमको तयारी थालिएको छ ।
निर्देशक बस्नेतका अनुसार यो कार्यक्रमको लागि कमेडी दरबार टोलीले एक महिना भित्र कार्यक्रमको पूर्ण तयारी सक्ने छन् । त्यसपछि माघको दोस्रो हप्ताबाट अस्ट्रेलियामा एक महिनाको प्रस्तुति दिने छन् । यस’bout शोभितले भने,‘अस्ट्रेलियामा रहनु भएका नेपालीहरूलाई मनोरञ्जन गराउने उद्देश्यले अस्ट्रेलिया हास्यव्यंग्य यात्रा गर्न लागिएको हो । सो कार्यक्रमका लागि अस्ट्रेलियामा पनि तयारी सुरु गरिएको छ ।’
उनका अनुसार यो यात्रामा कमेडी दरबारका अधिकांश कलाकार सहभागी रहने छन् । यो हास्यव्यंग्य यात्रा सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासललगायत ८ वटा सहरमा प्रस्तुत गरिने छ ।
कार्यक्रमको तयारीका लागि आफू अर्को साता अस्ट्रेलिया प्रस्थान गर्ने शोभितले बताए । कार्यक्रमको प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट रहेको छ भने यात्रा आयोजकका रूपमा थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट रहेको छ । यसअघि यही आयोजक टोलीको कार्यक्रममा अग्रज संगीतकार शम्भुजित बासकोटासहित यम बराल, आनन्द कार्कीलगायतले अस्ट्रेलियाका विभिन्न सहरमा आफ्नो प्रस्तुती दिइसकेका र सो कार्यक्रम सफल भएको पनि शोभितले जनाए ।






