खोटाङ । नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दश जना नेताको नाम सिफारिस गरेको छ ।
एमाले सचिवालय कमिटिको सोमबार दिक्तेलमा बसेको बैठकले केन्द्रीय सदस्य एवम् पूर्वसांसद विशाल भट्टराई, कोशी प्रदेश समितिका उपसचिव देवान राई, जिल्ला अध्यक्ष देवबिक्रम राई, पूर्व केन्द्रीय सदस्यहरु खगेन्द्र राई र रमेश पौडेल, प्रदेशसभा सदस्य एवम् कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई पिके, पूर्व जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, प्रदेश लेखा आयोग समितिका सचिव ओमप्रकाश घिमिरे, जिल्ला सचिवालय सदस्य धनकुमारी श्रेष्ठ र जेनजी समूहबाट अखिलका केन्द्रीय सदस्य विष्णु उपरकोटीलाई उम्मेदवार सिफारिस गरेको हो ।
जिल्लाबाट सिफारिस हुने नेताहरुको नामावली सोमबार नै कोशी प्रदेश समितिमा पठाइएको जिल्ला अध्यक्ष देवबिक्रम राईले जानकारी दिए । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा बसेको एमाले सचिवालय समितिको बैठकमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि आकांक्षीहरु धेरै भएपछि सबै जना नेताको नाम सर्वसहमत निर्णय गरेर प्रदेश समितिमा पठाइएको एमालेले जनाएको छ ।
एमाले खोटाङले समानुपातिक उम्मेदवारका लागि यसअघि नै उषाकला राई, खगेन्द्र राई र कर्ण घलेको नाम सिफारिस गरेको थियो । जिल्लाबाट सर्वसहमत सिफारिस भएका नेताहरुमध्ये उषाकलाको नाम केन्द्रीय समितिको बन्द सूचीमा समावेश भएर निर्वाचन आयोगमा पेश भइसकेको छ ।






