एमाले दैलेखलाई धक्का, बलियो जनमत भएका नेता नै रास्वपा प्रवेश

दैलेख । सांसद नभए पनि जनसरोकारका विषयमा निरन्तर सक्रिय रहँदै दैलेखी जनताबीच लोकप्रिय रहेका नन्दकिशोर बस्नेत(एनके) (रास्वपा)मा प्रवेश गरेका छन् । संघीय निर्वाचन क्षेत्र नम्बर–१ दैलेखबाट नयाँ अनुहारलाई अघि सार्नुपर्ने धारणा राख्दै आएका बस्नेतले एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा रोजेका हुन् ।

एमाले नेतृत्वले २०७९ सालको निर्वाचनमा एकीकृत समाजवादीका नेता अमरबहादुर थापासँग पराजित भएका रविन्द्र शर्मालाई पुनः एक नम्बरमा सिफारिस गरेपछि बस्नेत असन्तुष्ट बनेका थिए । पुरानै अनुहार दोहोर्‍याउँदै जाने प्रवृत्तिमा एमाले अझै पनि सुधारको संकेत नदेखिएको ठहर गर्दै आफूले रास्वपामा प्रवेश गरेको बस्नेतले बताएका छन् ।

शनिबार रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर बस्नेत औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् । एमाले दैलेखमा चिनिएका नेताका रूपमा परिचित बस्नेतलाई यसअघि नै भावी उम्मेदवारका रूपमा चर्चा गरिँदै आएको थियो । सोहीअनुसार यसपटक एमाले दैलेखले संघीय निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ बस्नेतसहित पाँच जनाको नाम सिफारिस गरेको थियो ।

पछि रत्नबहादुर खड्का र तेजबहादुर चन्दले आफ्नो नाम फिर्ता लिएपछि बस्नेत, रविन्द्रराज शर्मा र लिला विसीको नाम केन्द्रमा सिफारिस गरिएको थियो । तर अन्ततः बस्नेतले टिकट नपाउने र पुरानै अनुहार दोहोरिने निश्चित भएपछि पार्टी परिवर्तन गरेको एमालेका एक नेताले बताए ।

रास्वपाबाट दैलेख–१ मा बस्नेत उम्मेदवार बन्ने सम्भावना प्रबल देखिएको छ । एमालेले आन्तरिक रूपमा सुधारको संकेत नदेखाएको र नेतृत्व पुरानै ढर्रामा अघि बढिरहेको निष्कर्षसहित बस्नेतले नयाँ राजनीतिक विकल्प रोजेको एकाले निकट एक नेताले बताए ।

बस्नेतसँगै शनिबार अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य शमशेर खड्का, राष्ट्रिय युवा संघ सहकारी विभागका केन्द्रीय सदस्य प्रकाश ढुङ्गाना तथा नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्व कार्यकारी अधिकृत बखतबहादुर शाहीसहित अन्य नेता–कार्यकर्ताहरू पनि रास्वपामा प्रवेश गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

epaper

ताजा समाचार

आईसीसी विश्वकप लिग–२ क्रिकेट : नेपालद्वारा यूएईलाई २०१ रनको लक्ष्य