प्रिय बालेन्द्र ! सञ्जालसँगै मैदानमा उत्र

ने पालले अंगीकार गरेको संसदीय प्रणालीमा प्रधानमन्त्री जनताले प्रत्यक्ष रूपमा नभई निर्वाचित सांसदमार्फत छान्ने व्यवस्था छ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा ६ राजनीतिक दलले भावी प्रधानमन्त्रीको अनुहार सार्वजनिक गरेका छन् । सार्वजनिक अनुहारमध्ये एमाले अध्यक्ष केपी ओली र रास्वापा वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाह ‘झापा–५’बाट प्रतिस्पर्धामा छन् । यस क्षेत्रबाट अन्य दलसमेत प्रतिस्पर्धी भएकाले दुई अनुहारमध्ये एकले जित्ने या दुबै हार्ने सम्भावना छँदै छन् । ओली–बालेनमध्ये ‘कसले जितेर प्रधानमन्त्री होला या हुनुपर्छ ?’ भन्ने प्रमुख विषय होइन, ‘देशको नेतृत्व गर्छु’ भनेर घोषणा गरेर आएका नेताले सिंगो देश र जनतालाई ‘मेरा एजेण्डा र प्राथमिकता यस्ता छन्’ भन्ने हिम्मत गर्नुपर्छ भन्ने हो ।

टिप्पणी

‘नयाँ पुस्ताको नेतृत्व गर्र्छु र परम्परागत दललाई विस्थापित गर्र्छु’ भन्ने जोस रास्वपाद्वारा घोषित भावी प्रधानमन्त्री बालेनमा छ । चुनावमुखमा सञ्चारजगत्देखि नागरिक तहसम्ममा भावी प्रधानमन्त्रीका दाबेदारले सार्वजनिक रूपमा आफ्ना एजेण्डा सार्वजनिक गरुन् भन्ने छ । दलहरूले घोषणापत्र ल्याइनसकेको अवस्थामा र जनताले सार्वजनिक बहसमार्फत् नै हो सरकार सञ्चालनको दाबी गर्नेका हैसियत थाहा पाउने । दाबेदारमध्येका एमाले अध्यक्ष ओलीले सार्वजनिक बहसका लागि तयार भएको बताइसके । तर, जोसिला शाहचाहिँ विरोधाभासपूर्ण चरित्रको सिकार बनेका देखिन्छन् । ‘डिजिटल प्लेटफर्म’मा आक्रामक टिप्पणी गर्न माहिर बालेनले एमाले अध्यक्ष ओलीसँग ‘फेस–टु–फेस’ (आमने–सामने) बहसको चुनौती अस्वीकार गरेपछि उनीमाथि गम्भीर नैतिक प्रश्न खडा भएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार ‘देश बनाउने र बिगार्नेबीचको लडाइँमा म सार्वजनिक बहसका लागि तयार छु’ भन्दै प्रधानमन्त्रीका उम्मेदवारलाई खुल्ला चुनौती दिएका छन् । लोकतन्त्रमा यस्तो बहसलाई स्वागत गरिनुपर्छ । ‘डिजिटल लिडर’ र परिवर्तनको संवाहक ठानिएका बालेनले यो चुनौती स्वीकार गर्नुको साटो सामाजिक सञ्जालको सहारा लिँदै ओलीको पोस्टमा गएर गालीगलौज गर्न रुचाए । (अहिलेसम्म बालेनले ‘होइन’ भनेर खण्डन पनि गरेका छैनन्) । बालेनले फेसबुक कमेन्टमा ओलीलाई ‘आतंकवादी’ र ‘७६ बच्चाको हत्यारा’को संज्ञा दिँदै एउटै मञ्चमा उभिन अस्वीकार गरे । उनको यो तर्क भावनात्मक लाग्न सक्छ, तर यो भावना कम आक्रोश बढी हो । यो बालेनको ‘पलायनवादी मानसिकता’ पनि हो । सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्ने र ‘कमेन्ट वार’ गर्ने बालेन आफ्ना ‘भिजन र एजेन्डा’ लिएर प्रतिस्पर्धीसँग आमनेसामने उभिने बेला किन पन्छिए ? के उनलाई आफ्ना एजेन्डा र तर्कमाथि विश्वास छैन ?

लोकतन्त्रमा नेताको परीक्षा लुकेर लेखिने ‘कमेन्ट’मा होइन, खुल्लामञ्चमा विचारको भिडन्तमा हुन्छ ।

बालेन शाहको यस व्यवहारमा सबैभन्दा ठूलो ढोङ देखिन्छ । जब कि उनी आफ्ना समर्थक र पार्टी कार्यकर्तालाई ‘अरू उम्मेदवार वा दललाई ‘गाली नगर्नु, सभ्य बन्नू’ भन्दै निर्देशन दिन्छन् । कार्यकर्तालाई संयमित हुन सिकाउँछन्, तर आफै ं भने विपक्षी नेताको फेसबुक पोस्टमा गएर तल्लोस्तरको टिप्पणी गर्न भ्याउँछन् । ‘डिजिटल लिडर’ हुनुको अर्थ किबोर्ड पछाडि लुकेर गाली गर्नुमात्र हो ? ओलीसँग बालेनका असहमति छन् र हुन सक्छन् । त्यही कुरा बहसमा उभिएर जनताका सामुन्ने आँखामा आँखा जुधाएर भन्न किन सकिरहेका छैनन् बालेन ?

जनेजी आन्दोलनक्रममा भएका घटना हेर्न आयोग बनेको छ । उसले ओली–बालेन दुबैको लिखित नै सही, बयान लियो । बालेनले भनेझैं ओली ‘७६ जना बच्चाको हत्यारा हुन् कि होइनन् ?’ त्यो आयोगले नै भन्ला ! भावी प्रधानमन्त्रीका दाबेदारले होइन । बालेनले े ‘घटना जिम्मा नेतृत्वले लिनुपर्ने’ तर्क गरिरहँदा विगतमा काठमाडौं तीनकुनेको ‘राजावादी आन्दोलन’मा राप्रपा छाडेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘फोहोर गरेको’ भन्दै जरिमाना पुर्जी काटेको सायद बिर्सिए । नत्र, सिंहदरबार जलाउने चेतावनी, जेनजी आन्दोलनमा अन्य निकाय निषेध गरेर सेनासँग महानगरको नाममा एकल सहकार्यजस्ता प्रश्नको घेरामा बालेन स्वयं पनि छन् । आन्दोलनको सफलताको हिस्सा खोज्ने बालेनले ‘क्षतिको दोष अरुलाई मात्र लगाउन मिल्छ कि मिल्दैन ?’ भनेर सोधिने प्रश्नमा जनताले उनको उत्तर सुन्न पाउनुपर्दैन र ?

के एजेन्डा अभाव हो ?
‘झापा–५’मा ओलीसँगै चुनावी मैदानमा उत्रिएका बालेनले बहस बहिष्कार गर्न ुलाई धेरैले ‘आत्मविश्वास कमी’ भनेका छन् । फेसबुकमा ‘पपुलिस्ट’ बनेर ‘सेन्टिमेन्ट’ बेच्न सजिलो छ, तर बहसमा बसेर देशको राजनीति, अर्थतन्त्र, परराष्ट्र नीतिदेखि सर्वाङगीण विकासको खाका प्रस्तुत गर्न गाह्रो छ । कतै बालेनलाई यसकै डर पो हो कि ! उनलाई डर त छैन, ‘कतै अनुभवी ओलीहरूसँगको प्रत्यक्ष बहसमा आफ्नो सतही राजनीतिक ज्ञान उदांगो हुन्छ’ भन्ने । लोकतन्त्रमा नेताको परीक्षा लुकेर लेखिने ‘कमेन्ट’मा होइन, खुल्लामञ्चमा विचारको भिडन्तमा हुन्छ । आशा गरौं, विगतका ‘डिजिटल मेयर’ फेसबुक वालमा जति बहादुर देखिन्छन्, वास्तविक बहसको मैदानमा उति नै कमजोर र कायर छैनन् ।

अन्तमा प्रिय ‘भावी प्रधानमन्त्री’लाई एउटामात्रै सुझाव छ, ‘सार्वजनिक बहसमा खरो उत्रिनुस् । प्रतिस्पर्धीको विगतप्रति घृणा र आगतप्रतिको शंकाका कारण तथा असर’bout सार्वजनिक मञ्चबाटै भन्दिनू । यसले भावी प्रधानमन्त्रीको कद होचो होइन्, उँचो नै बनाउने छ ।’

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन