जाजरकोट । जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक र पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीगाउँकी सुष्मा सुधा मल्ल तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । नवराज १७ र सुष्मा १४ वर्षको हुँदा उनीहरूको नजर जुधेको थियो । समयसँगै उनीहरूको उमेर पनि बढ्दै गयो । तर पनि उनीहरूको प्रेममा कुनै कमी आएन । चोखो प्रेमलाई सार्थक बनाउँदै उनीहरू विवाह गर्ने निर्णयसम्म पुगे । तर, विवाहका लागि आफ्ना अभिभावकलाई राजी गराउन दुवै जना सफल भएनन् ।

सुष्माका अभिभावकमा कथित ठूलो जातको घमण्ड थियो । सोही घमण्डकै कारण सुष्माको अभिभावकबाट नवराजले बेलाबेलामा कुटाइ र दुव्र्यवहार भोग्दै आएका थिए । नवराजका बाबुआमाले भने मल्लकी छोरीसँग विवाह गर्न असम्भव भन्दै फकाउने प्रयास गरिरहेका थिए ।
तर, यही जातीय द्वन्द्वको परिणाम नवराज–सुष्मा प्रेमको दुःखान्त अन्त्य मात्र भएन, नवराजको ज्यान नै गयो । नवराजसँगै सुष्मालाई लिन गएका अन्य १८ युवामध्ये दुई जनाको पनि ज्यान गयो । तीन जनाको स्थिति खुलिसकेको छैन ।
गत शनिबार नवराज आफ्ना साथीलाई लिएर सोतीमा प्रेमिका लिन पुगे । तर, सोतीगाउँ पुगेका युवाहरू सुष्मासँग देखभेट हुन नपाउँदै गाउँलेको आक्रमणमा परे । केटीसँग भेट नहुँदै उनीहरूको भागाभाग सुरु भयो । केटीका आफन्तले अन्धाधुन्ध आक्रमण गर्न थालेपछि उनीहरू ज्यान जोगाउन भागे ।
नवराजले ४–५ दिनअगाडि नै साथीहरूसँग सोती जान अनुरोध गरेका थिए । नवराज बाटो लागेदेखि सुष्मासँग नियमित फोनवार्तामा थिए । उनको घरबाट दुई घण्टामा सोती पुगिने भए पनि ४–५ घण्टा पछि मात्र उनीहरूको टोली सोती गाउँ पुगेको थियो ।
‘हामी ५ बजे केटीको घर नजिक पुगेका थियौं । तर, सोती नपुग्दै हामी आएको केटीको घरपरिवारले थाहा पाइसकेका रहेछन् । हाम्रो टोली केटीको घरको ३० मिटर तल पुग्न नपाउँदै उनकी आमा प्रकाशी मल्लले यो डुम किन आयो, अस्तिको चोटले यसलाई पुगेनछ, आज यो डुमको टोलीलाई मार्नैपर्छ भन्दै डुम, कामीलगायत अपशब्द बोल्दै गालीगलौज गर्न थालिन्,’ नवराजको साथी सुदीप खड्काले भने । केटीकी आमाले नवराजलाई नदेख्दै गाली गर्न सुरु गरेको खड्काले बताए ।

‘हामीले नवराजलाई नचिनिने गरी लगेका थियौं । तर, केटीको आमाले एक्कासि गाली गरिन् । गाली गर्न थालेपछि हाम्रो टोली केटीको घरमा नपुगी फर्कियो । हामीले १० मिनेटको बाटो हिँडेर तल नाउला भन्ने ठाउँमा पुगेर पानी मागेर खायौं । हामीलाई नाउलामा रहेका अपरिचित व्यक्तिले बाबुहरू बस्नुहोस्, काफल खानुहोस् भन्दै अलमलाउन थाले । यो षड्यन्त्र हो कि भन्ने लागेर हाम्रो टोली नाउलाबाट ५ मिनेट हिँडेर मध्य पहाडी लोकमार्ग नजिक पुग्न नपाउँदै एक्कासि ६०–७० जनाको समूहमा आएका गाउँलेले ढुंगामुढा बर्साउन थाले । हामी जिउ जोगाउन भाग्दा भाग्दै गाउँलेहरूले चारैतिरबाट घेरा हालेर लखेटी लखेटी ढुंगामुढा, हँसिया, चिर्पटलगायतले कुटपिट गर्न थाले,’ उनले राजधानीसँग भने ।
उनले गाउँलेहरूले आफूहरूलाई सोतीगाउँदेखि आधा घण्टा टाढा रहेको भेरी नदी किनारसम्म लखेटी लखेटी नवराजलगायतलाई हत्या गरी अन्यलाई घाइते बनाएको बताए । सोतीका गाउँलेहरूले आफूहरूलाई भेरी नदीतर्फ किनाराबाहेकको दिशाबाट उम्कन नपाउने अर्धचन्द्रमाको घेरामा हालेर अन्धाधुन्ध कुटपिट गरेको पनि उनले बताए ।
‘घेरामा परेको हाम्रो टोलीलाई भेरी नदीबाहेक कतैबाट पनि भाग्ने बाटो थिएन । हामीले हात जोडेर प्राणको भीख माग्दा पनि कुटिरहे । हँसिया, चिर्पटलगायतले प्रहार गरिरहे । को बाँच्यो ? को म-यो ? कसैलाई थाहा भएन । घटनास्थलनजिक प्रहरी पनि देखेका थियौं, उनीहरू चुपचाप बसे,’ अर्का घाइते मदन शाहीले भने । आफन्तले केटीलाई फोन गर्न लगाएर नवराजलाई बोलाएको हुन सक्ने मदनले बताए ।
‘पुरै गाउँ उर्लेर आएका थिए । महिला, केटाकेटी सबै थिए । ठकुरीकी छोरी लिन खोज्ने साले डुमहरू भन्दै हामीमाथि कुटपिट भयो,’ उनले भने, ‘घटनामा बाँच्न सफल भएकालाई प्रहरीले लग्यो, मरेकालाई भेरी हाले । आफ्नो ज्यान कसरी जोगाउने भन्ने भयो । अन्य साथीहरूको अवस्था के भयो ? थाहै भएन,’ मदनले भने ।
घटनामा परी मृत्यु भएका तीन जनाको शव भेरीको किनारामा फेला परेको छ । नवराजसहित गणेश बुढा र पश्चिम रुकुम चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव फेला परेको हो । भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही, ४ का सन्दीप विक अझै बेपत्ता छन् ।
मंगलबार मृतकका आफन्तले केटी पक्षका १२ जनाको नाममा जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता गराएका छन् । घटनाले ठूलो रूप लिएपछि जातीय र क्षेत्रीय रंग दिने प्रयास हुन थालेको अधिकारकर्मीको भनाइ छ ।
सरकारद्वारा पाँच सदस्यीय छानबिन समिति गठन
रुकुम पश्चिममा दलित युवालाई प्रेम गरेकै कारण हत्या गरिएको विषयमा छानबिन गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गत १० जेठको राति भएको हत्या प्रकरणको विषयमा संसद्मा विरोध भएपछि गृहमन्त्री रामबहादुर थापाले सरकारले सत्यतथ्य छानबिन गर्ने जानकारी दिएका हुन् ।
गृहमन्त्री थापाले संघीय संसद्का दुवै सदनमा बोल्दै रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी गराए । उनले घटना’bout संसद्लाई गराएको जानकारीअनुसार रुकुम पश्चिम चौरजहारी–८ मा वीरबहादुर मल्लकी छोरी भगाउन जाजरकोट भेरी नगरपालिका–४ का युवाहरू १० जेठको साँझ रुकुम गएका थिए ।
‘प्रेम सम्बन्धमा परेका विकले केटीलाई भगाउने क्रममा दुई पक्षबीच झैझगडा भएको थियो,’ उनले भने, ‘केटी पक्षले युवती भगाउन आएका युवाहरूको समूहलाई भेरी नदीतर्फ लखेटेका थिए ।’
केटी पक्षले लखेट्ने क्रममा मृत्यु भएका नवराज विकको शव १० जेठको राति १० बजेको समयमा भेरी नदीको बीच भागमा फेला परेको गृहमन्त्री थापाले जानकारी गराए । भोलिपल्ट टीकाराम सुनारको शव भेरी नदीमा फेला परेको थियो । मृतकमध्ये तेस्रो व्यक्ति गणेशबहादुर बुढाको शव सोमबार भेरी नदीमा भेटिएको थियो । भगाउने कार्यमा सहभागी भएको आरोपमा १२ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको गृहमन्त्री थापाले जानकारी गराए । पक्राउमा परेकाहरूमा युवतीसहित उनका बुबाआमा, वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित सन्तोष मल्ल, रमेश मल्ललगायत छन् ।
केटा पक्षका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आफन्तलाई बुझाएको थापाले जानकारी गराए । लोकेन्द्र सुनार, गोविन्द शाही, सन्जु विक हालसम्म बेपत्ता भएको थापाले जानकारी गराए । जाजरकोट र रुकुम पश्चिमबीच सद्भाव कायम गर्न दुई जिल्लाले समन्वयात्मक कार्य गरेको उनले सदनलाई जानकारी गराए । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री थापाको जवाफपछि बोल्दै सांसदहरूले यो घटनामा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नहुने माग गरे । राजनीतिक आवरणमा कसैलाई पनि सफाइ दिने र आझेलमा पार्ने कार्य गर्न नहुने उनीहरूले माग गरेका छन् ।
सांसदहरूले यो घटनाको छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न पनि माग गरेका छन् । सांसदहरूले गृहमन्त्रीलाई यो घटना ढाकछोप नगर्न चेतावनी पनि दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अमरेशकुमार सिंहले गृह मन्त्रालयको नेतृत्वमा गठन हुने समिति ढाकछोपका लागि हुने भन्दै संसदीय समिति गठनको माग गरे । सांसद लक्ष्मी परियारले वडाध्यक्ष पनि पक्राउ परेको गृहमन्त्रीले बताए पनि हाल वडाध्यक्ष छुटेको बताइन् । उनले प्रश्न गरिन्, ‘के जनप्रतिनिधिलाई उन्मुक्ति दिनुपर्ने हो ?’
सांसद निरुदेवी जैरुले यस्ता घटना उठ्ने र सेलाउने क्रम हुँदै आएको भन्दै रुकुम पश्चिमको घटना अब सेलाउन नसक्ने बताइन् । सांसद सुजाता परियारले यो घटनामा संलग्न सवैलाई छानबिन गर्न संसदीय समिति बनाउन माग गरिन् । सांसद शरदसिंह भण्डारीले पनि संसदीय छानबिन समिति बनाउन माग गरे । सांसद विमला परियारले ‘सानो जात भएकै कारण अझ कतिले ज्यान गुमाउने हो भन्दै दलितका छोराछोरी कति दिन बलात्कार हुने, झुन्डिने कार्य कहिलेसम्म हुने हो ?’ भन्दै प्रश्न गरिन् । सांसद प्रकाश रसाइली स्नेहीले यो अपराध मात्र नभई अपराधको पराकाष्ठा भएको टिप्पणी गरे । उनले संसदीय समिति गठन गर्न माग गरे । वडाध्यक्षकै संलग्नतामा घटना भएको भन्दै उनले दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताए ।
सांसद दिलेन्द्रप्रसाद बडुले यो घटना निष्पक्ष ढंगमा छानबिन गर्न माग गरे । रुकुमका सांसद जनार्दन शर्माले उक्त घटनामा जाजरकोटबाट आएका व्यक्तिहरूको कसैले बर्बरतापूर्वक हत्या नगरेको बताए । खोलामा पस्दा तीन जनाको ज्यान गएको भन्दै उनले ‘हत्या गर्नेहरूको’ बचाउ गरे । त्यसपछि प्रमुख प्रतिपक्ष कांग्रेसका सांसलहरूले होहल्ला गरे । रुकुम पश्चिमको चौरजहारीका वीरबहादुर मल्लको घरमा १८ जना युवा आएको देखेपछि मल्लकी श्रीमतीले छिमेकीहरू बोलाएको र वडाध्यक्षले प्रहरीले खबर गरेको शर्माले जिकिर गरे । भाग्ने क्रममा सबै युवाहरू नदीमा हामफालेको र तीन जनाको शव भेटिएको उनले दाबी गरे ।






