मोरङ–६ मा कडा प्रतिस्पर्धा हुने संकेत

सुन्दरहरैंचा (मोरङ) । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहेका क्षेत्रमध्ये एक कोशी प्रदेश अन्तर्गतको मोरङ–६ पनि बनेको छ । नेपाली काँग्रेस का नेता डा. शेखर कोइराला यस पटक पनि यस क्षेत्रबाट उम्मेदवार रहेकाले यो क्षेत्र थप चासोको केन्द्र बनेको हो ।

शेखर कोइरालालाई चुनौती थपिँदै

मोरङ क्षेत्र नम्बर ६ मा बुढीगङ्गा गाउँपालिका, सुन्दरहरैचा नगरपालिका का वडा नम्बर २ देखि ७ सम्म तथा विराटनगर महानगरपालिका का वडा नम्बर ४ देखि ७ साथै वडा नम्बर ९, ११ र १२ समेटिएका छन् । निर्वाचन आयोग का अनुसार यस क्षेत्रमा कुल १ लाख ३७ हजार ८३२ मतदाता रहेका छन् भने १४९ मतदान केन्द्र तोकिएका छन् ।

२०७९ को आम निर्वाचनमा यसै क्षेत्रबाट कोइरालाले ३५ हजार २२४ मत ल्याएर विजय हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी लालबाबु पण्डित ले २२ हजार ९४६ मत पाएका थिए । त्यस्तै यादव कुमार प्रधान ले ९ हजार १४० र गोपाल क्षेत्री ले ८ हजार ९२५ मत प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ पनि यस क्षेत्रमा काँग्रेस अग्रस्थानमा थियो । त्यसबेला काँग्रेसले २३ हजार ७१० मत ल्याउँदा एमालेले १९ हजार ३८९ मत पाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी ले ११ हजार ५२६, राष्ट्रिय प्रजातन्त्र पार्टी ले १० हजार ६४१ तथा माओवादी केन्द्र ले ८ हजार १८५ मत ल्याएका थिए ।

यस पटक भने दल र स्वतन्त्र गरी १७ उम्मेदवार मैदानमा छन् । काँग्रेसले पुनः कोइरालालाई उम्मेदवार बनाएको छ भने एमालेले विनोद ढकाल लाई अघि सारेको छ । त्यस्तै नेकपाबाट ओपेन्द्र कुमार राय, रास्वपाबाट रुबिना आचार्य र राप्रपाबाट सबिन निरौला प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनले कोइरालालाई सहज जित दिलाएको विश्लेषण गरिन्छ । तर यस पटक सबै दल छुट्टाछुट्टै मैदानमा उत्रिएकाले प्रतिस्पर्धा कडा हुने संकेत देखिएको छ । पार्टीभित्र विशेष महाधिवेशनका क्रममा उनले खेलेको तटस्थ भूमिकालाई लिएर आलोचना भइरहेको र देशभर परिवर्तनको माग बढिरहेका कारण यसले उनको मतमा प्रभाव पार्न सक्ने आकलन पनि गरिएको छ ।

उता एमालेभित्र अध्यक्ष केपी शर्मा ओली का कडा आलोचक मानिएका ढकाललाई उम्मेदवार बनाइएको छ । यसले एमाले समर्थकहरूबीच एकता कति कायम हुन्छ भन्ने कुराले पनि परिणाममा ठूलो भूमिका खेल्ने देखिन्छ । साथै देशभर देखिएको नयाँ राजनीतिक लहरको प्रभाव रास्वपालाई केही फाइदा पुग्ने आँकलन भए पनि त्यो जित सुनिश्चित गर्ने स्तरसम्म पुगिसकेको संकेत भने हालसम्म देखिएको छैन । राप्रपाले पनि यस क्षेत्रमा आफ्नो स्थिर मत आधार कायम राखेको विश्लेषण भइरहेको छ ।

स्थानीय मतदाताको भनाइमा यस पटकको चुनाव “व्यक्ति, विचार र विकल्प” बीचको प्रतिस्पर्धा बनेको छ । पुराना अनुभवी नेताको भरोसा, नयाँ शक्तिको उत्साह र वैकल्पिक शक्तिको आकर्षण—तीनै पक्षको प्रभाव देखिएकाले अन्तिम नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न कठिन बनेको छ ।

समग्रमा मोरङ–६ अहिले केवल एउटा निर्वाचन क्षेत्र होइन, राष्ट्रिय राजनीतिक सन्देश दिने प्रयोगशाला जस्तै बनेको छ । यहाँको परिणामले केवल एउटा सिटको निर्णय गर्ने छैन, बरु मतदाताको बदलिँदो सोच, दलहरूको प्रभाव र भविष्यको राजनीतिक दिशालाई समेत संकेत गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

हक्कीमा मधेशको जित