काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलका बाहीनी स्तर (डिआईजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्ड स्थित चम्पावतमा सम्पन्न भएको छ ।
समन्वयात्मक वैठक सम्पन्न गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ वाहिनी मुख्यालय अत्तरियाका निमित्त वाहिनिपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी आफ्नो प्रतिनिधि मण्डलको नेतृत्व गरि भारतको चम्पावत पुगेका हुन् ।
बैठकमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अबैध घुसपैठ, चोरी निकासी, लागु औषध ओसारपसार नियन्त्रण सम्बन्धि छलफल भएको छ । फाल्गुण २१ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा हुनसक्ने निर्वाचन बिरोधि तत्वहरुको अवैध घुसपैठ रोक्न तथा मौन अवधीभर हुने सीमानाका सिलका सन्दर्भमा समन्वयात्मक रूपमा प्रभावकारी नतिजा प्राप्त गर्ने गरि कार्य गर्ने सम्बन्धि समेत छलफल हुनुका साथै बैठकमा सीमा क्षेत्रमा हुनसक्ने अवैध गैरकानुनी गतिविधिहरुको सुक्ष्म निगरानी गरि सूचना आदानप्रदान एवं त्यस्ता गतिविधीहरुलाई पूर्ण नियन्त्रण गर्ने र विपद व्यवस्थापनका सन्दर्भमा समन्वय गरी विभिन्न प्रकृतिका विपद सिमुलेशन अभ्यासहरु संचालन गर्ने सम्बन्धि छलफल भएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।
उक्त बैठकमा निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरुलाई सम्बोधन गर्न सयुक्त र समानान्तर सीमा गस्तीलाई सशक्त बनाउनको साथै सुरक्षा व्यवस्थालाई चुस्त एवं दुरुस्त पार्ने सम्बन्धमा समेत छलफल भएको छ । त्यसै गरि सीमा क्षेत्रमा हुने अबैध गतिविधि, तेस्रो देशका नागरिकहरुको अनाधिकृत प्रवेश, लागु औषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगदको तस्करी नियन्त्रणका लागि निरन्तर एवं घनिष्ठ सहकार्य गर्नका लागि आ(आफ्ना मातहतका युनिटहरुलाई निर्देशन दिने सन्दर्भमा समेत छलफल भएको छ ।
भारतीय सिमा सुरक्षा बल सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआईज द्वय सुधान्सु नौटियाल र अनिल कुमार शर्मा सहित सुदूरपश्चिम प्रदेशसंग सीमा क्षेत्रमा कार्यरत रहेका भारतीय समकक्षी सशस्त्र सीमा बलका सबै रेजिमेन्ट प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।नेपाली प्रतिनिधि मण्डलका सदस्यहरुमा सशस्त्र प्रहरी बल, नेपाल कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी., कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देल, दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक गुणराज न्यौपाने, बैतडी र डडेल्धुराका गुल्मपतिहरु सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय जङ्ग बहादुर कुवर र प्रकाश चन्द्र भट्टको सहभागिता रहेको नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका सुचना अधिकारी सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्र भट्टले जानकारी दिएका छन् ।
सशस्त्र सीमा बल, भारत र सशस्त्र प्रहरी बल, नेपाल बिच केन्द्रीय, प्रदेश र जिल्ला स्तरमा विभिन्न समन्वयात्मक बैठकहरु निरन्तर हुदै आईरहेका छन् ।






