काठमाडौँ । गत १६ माघबाट रिलिज भएको पल शाहको नेपाली चलचित्र ‘आ बाट आमा’ले नेपालमा निकै राम्रो व्यापार गरेसँगै एक महिना अघिबाट यो चलचित्रलाई खाडी मुलुक युएई, कतारमा प्रदर्शनी गर्ने तयारी हुँदै थियो । निर्देशक चन्द्र पन्तका अनुसार यी दुईसहित अन्य देशबाट पनि चलचित्र रिलिजको लागि उच्च मागसहित त्यहाँ प्रदर्शनीको तयारी भइरहेको थियो । संयुक्त अरब इमिरेट्स, (युएई), कतारमा त रिलिजको क्यालेन्डर समेत तय भएको थियो ।
तर इरान, इजरायल र अमेरिकाबिच बढ्दो सैन्य युद्धका कारण युएई, कतारसहित आधा दर्जन खाडी मुलुकहरू युद्धको चपेटामा परेपछि त्यहाँका चलचित्र घरमा दर्शक आउन छाडेका छन् । कति बेला कहाँ मिसाइल खस्छ भन्ने डरले मध्यपूर्वका धेरै देशमा अहिले चलचित्र बजार बन्द भएको छ । जसका कारण त्यहाँ रिलिज गर्न लागिएका नेपाली चलचित्र ‘आ बाट आमा’को प्रदर्शन तत्काल गर्न नसकिने त्यहाँका वितरकहरूले बताएका छन् ।
यस्तै अनमोल केसीको सफल चलचित्र ‘जेरी अन टप’ दुई साता अघि भारतमा रिलिज गरिए पनि यो चलचित्रको समेत खाडी मुलुकमा रिलिज बाँकी थियो । अमेरिका, अष्ट्रेलिया, जापानमा राम्रो व्यवसाय गरेको ‘जेरी अन टप’ युएई, कतारमा रिलिज गरिँदै थियो । अहिले नेपाली चलचित्रको राम्रो बजार बनेको युएई, कतारसहितको मध्यपूर्वका देशमा दैनिक जसो इरानले मिसाइल र ड्रोन आक्रमण गर्न थालेपछि त्यहाँ चलचित्र प्रदर्शन नै स्थगित गरिएको छ ।
रिलिज भएको यी दुई चलचित्र मात्र हैन, एक महिनापछि २७ चैतमा रिलिज हुने बिराज भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘राम नाम सत्य’को पनि युएई, कतारमा रिलिजको लागि त्यहाँका वितरकहरूसँग कुराकानी चलिरहेको थियो । निर्माण पक्षका अनुसार युद्धका कारण अनिश्चित कालको लागि त्यहाँका वितरकहरूले नेपाली चलचित्र अहिले लिन नसक्ने अवस्था आएको बताएका छन् । तरका कारण युद्ध नरोकिएसम्म त्यहाँ प्रदर्शन गर्ने भनिएका नेपाली चलचित्रको रिलिज सम्बन्धित वितरकहरूले स्थगित गरेका छन् । जसका कारण मध्यपूर्वका देशमा इरानद्वारा गरिएको युद्धले नेपाली चलचित्रको युएई, कतार जस्ता देशमा हुने प्रदर्शन प्रभावित भएको छ ।
यसरी इरान, इजरायल र अमेरिकाबिच बढ्दो सैन्य तनावले विश्व राजनीति मात्र होइन, नेपालसहित अन्तर्राष्ट्रिय चलचित्र उद्योगमा पनि उल्लेखनीय प्रभाव पार्न थालेको छ । मध्यपूर्व क्षेत्रमा बढेको युद्धको अवस्था, हवाई मार्ग बन्द हुनु, सुरक्षा जोखिम तथा बजार अनिश्चितताका कारण नेपालसँगै, बलिउड, दक्षिण भारतीय, युरोपेली देखि हलिउडसम्मका चलचित्र उद्योगमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष असर देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विशेष गरी मध्यपूर्वका धेरै देशमा युद्धका कारण जनजीवन असामान्य बनेपछि त्यहाँ चलचित्र प्रदर्शन र वितरणमा समस्या उत्पन्न भएको छ । चलचित्र घरमा दर्शक आउन छाडेपछि धेरै मल्टिप्लेक्स थिएटरले युद्धको कारण देखाउन चलचित्र प्रदर्शनलाई स्थगित गरेका छन् ।
इजरायल, इरान, लेबनान, सिरिया, इराकसहित खाडी क्षेत्रका युएई, कतार, बहराइन, ओमन, कुवेत जस्ता मुलुकले सुरक्षा सतर्कता, आकाश मार्ग बन्द र निरन्तर हमलाको जोखिमका कारण नियमित चलचित्र प्रदर्शन प्रभावित भएको बताइएको छ । ड्रोन आक्रमणको कारण देखाउँदै युएई स्थित दुबई, अबुधाबीका मल्टिप्लेक्स चलचित्र प्रदर्शनका लागि असमर्थन भएका छन् । यी देशका कतिपय स्थानमा चलचित्र हलहरू अस्थायी रूपमा बन्द गरिएका छन् भने कतिपय ठाउँमा मनोरञ्जन गतिविधि सीमित गरिएको छ ।
मध्यपूर्व क्षेत्र भारतीय तथा अन्तर्राष्ट्रिय चलचित्रको ठुलो बजार मानिन्छ । विशेष गरी संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, कुवेत र बहराइनमा ठुलो संख्यामा नेपाली, बंगलादेशी, पाकिस्तानी, भारतीय तथा एसियाली दर्शक बसोबास गर्ने भएकाले यहाँ रिलिज हुने चलचित्रबाट ठूलो आम्दानी हुने गर्दछ। तर अहिलेको युद्धले ती बजारहरूमा दर्शक उपस्थितिमा कमी आएसँगै प्रदर्शन अनिश्चित भएको त्यहाँका अन्तर्राष्ट्रिय चलचित्र वितरक संस्थाले जनाएका छन् । दुई साता अघि रिलिज भएको भारतीय चलचित्र ‘द केरला स्टोरी–२’ युद्धकै कारण मध्ये पूर्वी एसियामा रिलिज हुन नसकेर ठुलो घाटा भएको यसका निर्माता तथा लेखक अमरनाथ झाले बताएका छन् ।
युद्धको असरका कारण केही भारतीय ठुला चलचित्रको प्रदर्शन मिति नै परिवर्तन गरिएको छ । कन्नड सुपरस्टार यश अभिनीत चलचित्र ‘टक्सिक’ को १४ मार्चको रिलिज मिति युद्धकै कारण स्थगित गरेर ४ जुलाईमा सारिएको अभिनेता यशले जनाएका छन् । उनका अनुसार मध्यपूर्वको अस्थिर अवस्थाका कारण निर्माण पक्षले प्रदर्शनलाई जुन ४ सम्म सार्ने निर्णय गरेका छन्।
अभिनेता रणवीर सिंहको बहु प्रतिक्षित चलचित्र ‘धुरन्धर –२’ १४ मार्चमै रिलिज तय भएको छ । तर यो चलचित्र मध्यपूर्व बजार युद्धले अस्थिर रहेका कारण त्यहाँ रिलिज हुन नसक्ने करोडौँ रूपमा अन्तर्राष्ट्रिय आम्दानीमा असर पर्ने यसका निर्देशक आदित्य धरले बताएका छन् । ती क्षेत्रमा केही समयपछि ओटिटी रिलिज गर्नेकी भन्ने कुराकानी भइरहेको पनि आदित्यको कथन छ ।
यता इरान–इजरायल युद्धको तनाव बढेपछि निर्देशक नितेश तिवारीले आफ्नो महत्त्वाकांक्षी चलचित्र रामायण पार्ट १ को मुम्बईमा आयोजना गरिने भनिएको विशेष कार्यक्रम हाललाई स्थगित गरेर पछि सारिएको बताएका छन् ।
फेब्रुअरीको तेस्रो सातापछि हलिउडका ठुलो चलचित्रहरू युद्धकै कारण खाडी क्षेत्रका आधा दर्जन मुलुकमा रिलिज हुन सकेका छैनन् । यस्तै युद्ध तत्काल अन्त्य नभए आगामी महिनाहरूमा अझ धेरै हलिउड चलचित्रको रिलिज मिति परिवर्तन हुने त्यहाँका वितरकहरूले बताएका छन् ।
युद्धको प्रभाव केवल रिलिजमा मात्र होइन, चलचित्र छायांकनमा पनि देखिएको छ। इजरायल, जोर्डन, साउदी अरब तथा संयुक्त अरब इमिरेट्समा भइरहेका आधा दर्जन हलिउड चलचित्र तथा वेभ सिरिजसहित केही अन्तर्राष्ट्रिय चलचित्रहरू असुरक्षाका कारण छायांकन स्थगित गरिएको छ । कतिपय स्थानमा साइरन बज्ने बित्तिकै लुक्नु पर्ने भएकाले छायांकन स्थगित गरेर आफ्नो देश फर्कनु परेको हलिउड निर्माताहरूले जनाएका छन् ।
यसरी मध्यपूर्व क्षेत्रमा युद्ध लम्बिँदै गएमा विश्व चलचित्र उद्योगमा अझ ठुलो प्रभाव देखिन सक्छ । यस क्षेत्रका देशहरू केवल प्रदर्शन मात्र नभई अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लोकप्रिय गन्तव्य पनि हुन्। दुबई, अबुधाबी, जोर्डनको बाडी रम मरुभूमि र साउदी अरबका लोकेसनहरूमा हलिउड तथा अन्तर्राष्ट्रिय चलचित्रहरूको छायांकन हुँदै आएको छ । युद्धका कारण ती लोकेसनहरूमा छायांकन अनुमति रोकिएको छ । बिमा लागत तथा सुरक्षा व्यवस्थाको जिम्मा ती देशले लिन मानेका छैनन् ।
यसरी हेर्दा इरान, इजरायल र अमेरिकाबिचको युद्धले विश्व राजनीति जस्तै विश्व चलचित्र उद्योगलाई पनि प्रत्यक्ष रूपमा प्रभावित पार्न थालेको छ । युद्ध लम्बिँदै गएमा मनोरञ्जन उद्योगमा आर्थिक जोखिम र प्रदर्शन अनिश्चितता अझ बढ्ने अन्तर्राष्ट्रिय चलचित्र विश्लेषकहरू बताउँछन् ।






