लमजुङ । लमजुङबाट लोक साहित्यकर्मीको सम्मानका लागि हरेक वर्ष वितरण हुँदै आएको राष्ट्रिय सम्मान पुरस्कारका लागि उपप्राध्यापक दिव्येश्वरी जोशी छनौट भएकी छन् । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले वितरण गर्ने उक्त पुरस्कार प्रतिष्ठानको स्थापना दिवसको ३ दिने ठाडोभाका मेलाको उद्घाटन सत्रमा यही चैत २० गर्न प्रदान गरिने तयारी छ ।
‘ठाडोभाका– टीकाकुमारी ढुंगाना स्मृति राष्ट्रिय पुरस्कार’ नामक उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको छ । लोक साहित्यका क्षेत्रमा विशेष दखल राख्ने व्यक्तित्वलाई यो पुरस्कार वितरण गर्ने गरिन्छ । गत वर्ष यो पुरस्कार त्रिविको नेपाली केन्द्रीय विभागका प्रमुख कृष्णप्रसाद न्यौपानेलाई प्रदान गरिएको थियो ।
ठाडोभाका लोककला प्रतष्ठिान नेपालका सल्लाहकार रमेशचन्द्र अधिकारी संयोजक रहेको छनौट समितिमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी र पुरस्कार संस्थापक प्रतिष्ठानका सल्लाहकार रहेका नरेन्द्रराज ढुंगानाकी धर्मपत्नी सीता ढुगानाको छनौट समितिले जोशीलाई पुरस्कारका लागि चयन गरेको हो ।
सम्मानित व्यक्तित्व दिव्यश्वरी जोशी पेशाले पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौँमा उपप्राध्यापक हुन् । भाषा, साहित्य, लोकसाहित्य र संस्कृतिसम्बन्धी अध्ययन, अनुसन्धानमा विशेष रुचि राख्नु हुने जोशीले त्रिभुवन विश्वविद्यालयबाट एम. ए, एम. फिल (नेपाली) गरेकी छन् । उनका अनुसन्धानात्मक कृतिहरू डोटेली उखानको अध्ययन (२०७६), सम्पादन सिद्धान्तका आधारमा डोटेली घरगीत (२०७७) र डोटेली लोकसंस्कृतिमा ज्युँती (२०८०) प्रकाशित छन् ।
यसैगरी, बालकथा सङ्ग्रहहरू कृपाको चाहना बालकथा सङ्ग्रह (२०७९), ‘विसौंपर्वको रमाइलो’ कविता (२०७९) पाठ्यपुस्तकमा समावेश छ । उहाँका दुई अनुसन्धान प्रतिवेदन ‘डोटेली भाषिकामा प्रचलित उखानहरूको अध्ययन, २०५४ र डोटेली घरगीतको सन्दर्भपरक अध्ययन, दर्शनाचार्य, शोध प्रबन्ध, कीर्तिपुर: नेपाली केन्द्रीय विभाग, २०७१ रहेका छन् ।
उनको सुदूर पश्चिमको गौरव : गौरापर्व, २०७८ निबन्ध समेत प्रकाशित छ । त्यस्तै, लघुअनुसन्धान मूलक कृतिमा डोटेली सांस्कृतिक तथा ऐतिहासिक लोककथाहरूको लोकतात्रिक विश्लेषण, लघु अनुसन्धान पत्र, बागबजार त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस, २०७१ र डोटेली चैतमा रसविधान, लघु अनुसन्धान पत्र, लूनगङ्गा चौधरी अध्ययन प्रतिष्ठान, २०७६ रहेका छन् । लोकवार्ताकोश (२०७९)को सहलेखनको कार्य जोशीले गरेकी छन् ।






