धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ३३ सय बढी सर्पको उद्धार गरेको छ । उपमहानगरपालिकाको नगर प्रहरीले सर्प उद्धार सेवा सुरु गरेको दुई वर्ष सात महिनाको अवधिमा उक्त सर्पको उद्धार गरेको हो ।
यो उपमहानगरपालिकाले २०८० असार ३१ गतेदेखि नागरिकको घरभित्र पस्ने सर्पको उद्धार अभियान थालेको हो । उपमहानगरपालिकाकाअनुसार हालसम्म (२०८२ चैत ८ गतेसम्म) तीन हजार ३०२ वटा सर्प उद्धार गरिएको छ ।
उपमहानगरपालिकाको उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ८३४, आर्थिक वर्ष २०८१÷८२ मा एक हजार ३७९ र चालु आर्थिक वर्षको फागुनसम्म एक हजार ७७ सर्प उद्धार गरिएको छ ।
नगर प्रहरी टोलीले घरगोठ, आँगन तथा बाथरुम, पसलमा पसेका सर्प सुरक्षित रूपमा समातेर उचित स्थानमा छोड्ने गरेको छ । उद्धार गरिएका सर्पमा कमन करेत, करेत, अजिङ्गर, कमन कोब्रा, ब्ल्याक कोब्रा, किङ कोब्रा र ब्यान्डेड करेतजस्ता विषालु प्रजाति रहेका छन् ।
सर्प घरगोठ, आँगन तथा बाथरुम, पसलमा पसेमा तत्काल उद्धारका लागि नगर प्रहरीले ०९१–५९०६९० र टोल फ्री नम्बर १८१०५००००९० सार्वजनिक गरेको छ । यी नम्बरमा जानकारी दिएपछि सर्प उद्धार टोली तुरुन्तै घटनास्थल पुग्ने व्यवस्था मिलाइएको छ ।
उपमहानगरले सुरुमा २५ जना नगर प्रहरीलाई सर्प उद्धार सम्बन्धी तालिम दिएको थियो । उक्त तालिम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले प्रदान गरेको हो । त्यसपछि प्रशिक्षित टोलीले अन्य नगर प्रहरीलाई समेत तालिम दिएको जनाइएको छ ।
सर्पको टोकाइबाट हुने जोखिम कम गर्दै नागरिकको ज्यान जोगाउने उद्देश्यले सुरु गरिएको यो अभियानप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन् । नागरिकको सुरक्षासँगै सर्प संरक्षणमा समेत योगदान पुगेको भन्दै यसको प्रशंसा भइरहेको छ ।






