‘पहाड’ले पूरा ग-यो विपिनको गायक बन्ने धोको

काठमाडौं । अभिनेता विपिन कार्की स्कुले जीवनमा निकै मिठो गीत गाउँथे । साप्ताहिक रुपमा शुक्रबार हुने स्कुले कार्यक्रममा उनी गीत गाउन खुबै तम्सिन्थे । त्यति बेला उनको चाहना गायन तिर थियो । तर त्यो चाहना यति बेला पुरा भएको अभिनेता विपिनको कथन छ ।

यी अभिनेताको भनाइमा उनी जब उच्च शिक्षाको लागि काठमाडौँ आए । उनका दाइ एवम् अभिनेता अर्जुन कार्की त्यति बेला चलचित्रमा नायकको रूपमा स्थापित भइसकेका थिए । काठमाडौँ बसेर उच्च शिक्षा हासिल गरिरहँदा दाजुकै संगतले गायन भन्दा उनी अभिनय तर्फ आकर्षित भए । आरोहण गुरुकुल थिएटरमा जोडिएर नाटकमा अभिनय गर्दा गर्दै उनको गायक बन्ने चाहना त्यतिकै सेलायो । बरु उनी नाटकमा मुख्य कलाकार हुँदै नायकको रूपमा ठुलो पर्दातर्फ उक्लिए ।

चलचित्र अभिनयमै डेढ दशक बिताइसकेका उनले यो अवधिमा अभिनयमा व्यस्तताकै कारण अन्तर मनमा रहेको गायन प्रतिको चाहनालाई बिर्सिसकेका थिए । यसै क्रममा आफूले मुख्य भूमिका निर्वाह गर्न लागेको चलचित्र ‘पहाड’मा निर्देशक तुलसी घिमिरेले उनलाई गायनमा प्रस्ताव गरे । सो प्रस्ताव आएपछि उनको बाल्यकालको त्यो चाहना पुरा भएको छ ।

चलचित्र ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने…’को भिडियो सोमबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरियो । यही गीतमा यस चलचित्रका अभिनेता विपिन कार्कीको स्वरमा ¥याप राखिएको छ । गीतलाई निर्देशक तुलसी घिमिरेले लेखेका हुन् । रञ्जित गजमेरको संगीत रहेको यो गीतलाई मुख्य गरेर साकार आप्टे, अस्मिता अधिकारीले गाएका हुन् । गीतमा भारती घिमिरे, मदनकृष्ण श्रेष्ठको पनि स्वर रहेको छ ।

विपिनको भनाईमा निर्देशक तुलसी घिमिरेले गायनको लागि प्रस्ताव गरेपछि सुरुमा उनी अलमलमा परे । तर गीतमा ¥यापको पाटो मात्र गाउनु पर्ने भएपछि उनले त्यो प्रस्तावलाई सहजै स्विकारे । तुलसी घिमिरेकै अगाडि विपिनले ¥यापको शैली सुनाएपछि यो गीतमा विपिनकै स्वर राख्ने कुरामा निर्देशक घिमिरे पक्का भएका थिए ।

यो चलचित्रमा अभिनेता विपिन कार्की रोजगारको क्रममा भारतबाट घर आउँदा गाउँमा भएको सांगीतिक कार्यक्रममा पुग्छन् । सोही कार्यक्रममा भेटिएकी एक युवती मन परेपछि विपिनले ¥याप गाउँछन् । सोही कारण आफूले गाएको यो गीतमा केही हिन्दी शब्दहरूको पनि प्रयोग गरिएको अभिनेता विपिनले बताए ।

यसरी चलचित्र ‘पहाड’को ‘मोहनी लगाउने…’ गीतमा ¥याप हान्दै विपिनले औपचारिक गायन यात्रा सुरु गरेका हुन् । पहिलो गीतमार्फत यति बेला दर्शकबाट राम्रो प्रसंसा पाएको यी अभिनेताले बताए । आगामी दिनमा ¥यापसँगै गम्भिर र रोमाञ्चक भावको गीत पनि आफूले गाउन सक्ने उनी बताउँछन् । निर्देशक तुलसी घिमिरेले दिएको यो अवसरलाई आउँदा दिनमा अघि बढाउन सक्ने योजना उनले सुनाए ।

नयाँ वर्षको अवसर पारेर १ वैशाखमा रिलिज हुने चलचित्र ‘पहाड’मा आफूले परिवारको जीविकोपार्जनको लागि बाध्य भएर विदेश जानु परेको नेपाली युवाहरूको चरित्र निर्वाह गरेको विपिनले बताएका छन् । दिग्गज निर्देशक तुलसी घिमिरेका चलचित्रहरू हेरेर हुर्किएको आफूले यिनै निर्देशकसँग यो चलचित्रमा काम गर्न पाउँदा धेरै खुसी लागेको पनि उनले बताए । चलचित्रमा मदन कृष्ण श्रेष्ठ, सुनिल थापा जस्ता अग्रज कलाकारहरूसँग काम गर्न पाउँदाको फरक अनुभव सम्हाल्ने अवसर पाएको पनि विपिनको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर