बस्तु स्थानीय बालमैत्री शासनयुक्त वडा घोषणा

गुल्मी । धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरे । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, घोषणा कार्यविधि २०७९, स्थानीय सरकार संचालन ऐन २०७४, बालबालिकासम्बन्धि ऐन २०७५ ले निर्दिष्ट गरेका सूचक र तहगत चरणहरु पुरा गरेपछि बस्तुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

घोषणा गर्नको लागि वडाले विभिन्न अभिमुखीकरण कार्यक्रम, बालवस्तुगत विवरण तयार गरी काम गरेको, घोषणाको दीगोपनाको लागि समुदायस्तरमा विभिन्न समितिहरु गठन गरिएको लगायतका कार्य गरिएको वडाध्यक्ष केशव भण्डारीले जानकारी दिए । त्यसैगरी वडाभित्र बालमैत्री संरचनाहरु निर्माण गरिएको, ८ बर्षदेखि १८ बर्षभित्रका बालबालिकाहरुको विद्यालय र टोलस्तरीय विभिन्न बाल समुह र सबै समुहहरुको प्रतिनिधित्व सहितको बालसंजाल गठन गरिएको लगायतका कार्यहरु वडाले गरेको वडा सचिव मिलन घमले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले विकासका धेरै सूचकमध्ये सामाजिक विकास महत्वपूर्ण रहेको बताए । जिल्लाका १२ पालिकामध्ये धुर्कोटले सबैभन्दा पहिले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने कामको सुरुवात गरेकोमा धुर्कोटलाई बधाई दिए ।

पालिका अध्यक्ष भुपाल पोखरेलले दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले धुर्कोटले बालबालिकाहरुमाथि लगानी गर्दै हालसम्म चारवटा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको बताए । त्यसैगरी उनले पालिकाका सबै वडालाई बालमैत्री वडा घोषडा गर्दै पालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने बताए । पालिका उपाध्यक्ष सीता गिरीले अब राज्यको लगानी मानवीय पुजीँमा हुनुपर्ने बताइन् । धुर्कोट गाउँपालिकामा हालसम्म वस्तुसहित वडा नम्बर १ नयाँगाउँ, वडा नम्बर २ पिपलधारा वडा नम्बर ६ रजस्थल गरी चारवटा वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते