नेपालजस्तो बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्रमा धार्मिक पर्वहरू, उत्सवहरू आस्था र आराधनामै सीमित छैनन् । ती समाजका मूल्य, संस्कार र आदर्शका स्मरण गराउने महत्वपूर्ण दिन पनि हुन् ।
रामनवमी त्यस्तै एउटा पवित्र दिन हो, जसले सत्य, धर्म र मर्यादाको प्रतीकका रूपमा रामको जन्मलाई स्मरण गराउँछ । यही दिनको अवसरमा बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिए । यस राजनीतिक घटनाक्रमलाई जोडेर हेर्दा नेतृत्व र आदर्शबीचको सम्बन्ध’bout गहिरो चिन्तन गर्न सकिन्छ ।
मेरो मनमस्तिष्कमा बसेका रामचरित्र धार्मिक आख्यानमै सीमित छैन, यो सम्पूर्ण मानव जीवनका लागि आदर्शका रूपमा स्थापित छ । उनको जीवनमा देखिएको अनुशासन, सत्यनिष्ठा, न्यायप्रियता र जनताको हित नै अमरत्व हो । उनले व्यक्तिगत सुखभन्दा कर्तव्य माथि राखे र सत्ता र शक्ति प्रयोग सधैं धर्म र न्यायको पक्षमा गरे ।
आज देशको प्रधानमन्त्री बन्दै गर्दा बालेन्द्र शाहले महानगरमा देखाएको नेतृत्वशैली विशेषतः भ्रष्टाचारविरुद्धको दृढता, जनतामुखी सोच र परिवर्तनप्रतिको प्रतिबद्धताले धेरैलाई आशावादी बनाएको छ । हिजोको महत्वपूर्ण क्षण राजनीतिक घटनामात्र नभई नैतिक र सांस्कृतिक सन्देश दिने अवसर पनि बन्न सक्छ ।
रामनवमीजस्तो पवित्र दिन विभिन्न धर्मका गुरुहरूको उपस्थितिमा शपथ लिनु धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको प्रतीकका रूपमा व्याख्या गर्न सकिन्छ । गएको शुक्रबार भएकाले देशमा शान्ति, सुव्यवस्था र सहिष्णुता चाहने मुस्लिम समुदायले पनि सफल कार्यकालको प्रार्थना गरेका होलान् ।
रामजस्तो कदापि बन्न सक्नुहुन्न तर उनका आदर्शलाई अनुशरण गरेर सत्ता प्रयोग पारदर्शी, न्यायपूर्ण बनाउन, व्यक्तिगत स्वार्थभन्दा जनहितलाई माथि राख्नु र कानुन तथा नीति अधिकतम पालना गर्दै शासन सञ्चालन गर्नुेछ भन्नेमा आशावादी छौं ।
त्यस्तै, सबै नागरिकलाई समान व्यवहार गर्नु, धर्म र संस्कृतिको सम्मान गर्नु र देशलाई एकतामा बाँध्ने प्रयास गर्नु नै कर्तव्य हुनेछ । तराईमा देखिएको अधार्मिक गतिविधिले सन्तुलित समाजलाई बिखन्डनतिर धकेल्दै छ । एउटाले अर्काको अस्तित्व सहज रूपमा स्वीकार्ने अवस्थामा छैन । यो परिस्थितिमा नागरिक समाज, बुद्धिजिवीको साथ लिएर यस्ता कुपात्रलाई समयमा दण्डित नगरिए परिणाम भयावह नहुने भन्ने अवस्था छैन । बालेन्द्र शाकको ‘कम बोल्ने र धेरै काम गर्ने’ सबैलाई मन नपरे पनि व्यक्तिगतरूपमा
जोकोहीलाई मन पर्ने अधिकार छ ।
अब के रामराज्यजस्तै विद्वत्लाई पनि सम्मान गरिएला त ? यसको परिकल्पना गरिएको छ ? रामको दरबारमा विद्वत्लाई जहिले पनि माथिल्लो ओहदा र केही काम गर्दा सल्लाह लिने गरिन्थ्यो । शाहले कसलाई गुरु बनाएका होलान् ? उनको गुरु को हुन् ? यो हेर्न बाँकी नै छ । विगतका नेताजस्तै तिघ्रे र बिचौलियालाई पक्कै पनि ठाउँ दिने छैन भन्नेमा आमजनता आशावादी छन् । गरिबको सुनिदिने राज्यमा पढेलेखेकाले अवश्य पनि सम्मानजनक स्थान र इज्जत पाउने छ । अब उनीहरूलाई पहिले विभिन्न परिबन्दमा परेर दास बनाइने छैन ।
शाह राजनीतिमा आफैं आएका भने होइनन्, परिस्थितिले नेता बनाइदिएको विभिन्न अन्तर्वार्ता र सामाजिक सञ्जालमा उनकै कथनले प्रस्ट हुन्छ। बलिउड चलचित्र ‘नायक’को अनिल कपुरजस्तो तीन घण्टाको ‘रिल’ नभएर समग्र देशको भविष्य नीति र व्यवहारमा भर पर्छ । जसले शाहलाई आज सत्तामा पु¥याए, तिनै जनताले भोलि पछार्न पनि सक्छन् भन्ने कुरा सधैं हेक्का राख्नुपर्छ । अहिले किनारा लगाइएका नेताले शाहले भन्दा बढी संघर्ष गरेका थिए, जेलनेल भोगेका थिए, तर बेथिति, आर्थिक अनुशासन उल्लंघन, भ्रष्टाचार प्रशासनको दुर्गतिसँगै दलीय राजनीतिको विकृति, अदूरदर्शिता र बिचौलियाका कारण विसर्जन उन्मुख बने ।
जताततै अहिले पुनर्संरचना गर्नुपर्ने गरेर जनआकांक्षा पूरा गर्ने ठूलो जिम्मेवारी वर्तमान सरकारको काँधमा आएको छ । कहिलेकाहीँ पदमा रहिरहँदा भेष बदलेर पनि बजारको स्थिति, यातायात व्यवस्था, सरकारी अड्डा काम गर्ने कारबाही बुझिदिए भने बिचौलिया र आसेपासेबाट बचिने सम्भावना बढी हुन्छ ।
याद रहोस्, जहिले पनि मानिसलाई बढी खतरा आफ्नैनिकट र आफन्तबाट भएको इतिहास छ । रवि लामिछानेको अभिमुखीकरण साँच्चिकै ऐतिहासिक र समयसापेक्ष र मननयोग्य थियो । त्यसलाई वर्तमान मन्त्रिमण्डल र सांसदले कत्तिको व्यवहारमा उतार्न सक्लान् ? त्यो हेर्न बाँकी छ ।
(लेखकको यो निजी विचार हो)







