टेनिसका प्रदीप : ५ पल्ट मनोनयन, २ पल्ट अवार्ड

पोखरा । १० औं पोखरा स्पोर्ट्स अवार्डमा टेनिसका प्रदीप खड्का र एथलेटिक्सकी नारायणी भण्डारी वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी आयोजनामा हिजो बिहीबार आयोजित समारोहमा वर्ष उत्कृष्ट पुरुषतर्फ खड्का र महिलातर्फ भण्डारी घोषित हुँदै अवार्डसहित हिरोको जुम स्कुटर प्राप्त गरेका छन् ।

पुरुषतर्फ उत्कृष्ट ३ मनोनयनमा जुडोका विज्ञान टि खत्री र भलिबलका सञ्जुविक्रम शाह पनि प्रतिस्पर्धामा थिए । महिलातर्फ भण्डारीसँगै जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका रानामगर मनोनयनमा परेका थिए ।

खेलाडी छनोट समितिको सिफारिसमा मञ्चले मनोनयन परेका उत्कृष्ट ३ मध्येबाट एकजनालाई वर्ष खेलाडीको अवार्ड प्रदान गरेको हो ।

लामो समयदेखि टेनिस खेलिरहेका पोखराका प्रदीप खड्का लगातार छैटौं पल्टसम्म पोखरा स्पोर्टस् अवार्डमा मनोनयनमा पर्ने एकमात्र खेलाडी हुन् । उनी पाँचौं संस्करणमा उदीयमान विधामा मनोनयनमा परेकामा त्यसयता भने वर्ष खेलाडीतर्फ मनोनयनमा पर्दै आएका हुन् । उनी यसअघि छैटौं संस्करणका पनि वर्ष खेलाडी हुन् । २ पल्ट अवार्ड हात पारेका उनले आगामी अवार्डका लागि समेत आफ्नो दाबेदारी रहने मञ्चमै घोषणा गरेका थिए ।

यसैगरी, भलिबल खेलाडी राजन दर्लामी मगर पिलल च्वाइसमा परे । उनले अवार्डसहित जुम स्कुटर प्राप्त गरे । मञ्चले पिपल च्वाइस अवार्डमा उत्कृष्ट ५ जनाको मनोनयन सार्वजनिक गरेको थियो । जसमा भलिबलका दर्लामीसहित फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र क्रिकेटका विपीन खत्री मनोनयनमा परेका थिए ।

खल्ती एपमार्फत दर्शकले गरेको भोटमा उनले सर्वाधिक ६४ प्रतिशत भोट प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी फुटबलका दीप कार्कीको पक्षमा करिब २० प्रतिशत भोट परेको थियो ।

यसैगरी, लाइफटाइफ एचिभमेन्ट अवार्ड एथ्लेटिक्सका खेलाडी टीकाबहादुर बोगटीले प्राप्त गरेका छन् । गोरखाका बोगटीले विगतमा २ पटक ओपम्पिकमा सहभागी बनेका थिए । उनलाई चाँदीको करुवा, अवार्ड, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

यसैगरी, वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला क्रिकेट संघ, वर्ष उदीयमान खेलाडी ब्याटमिन्टनकी नीभा राई, स्पेशल अवार्ड पारा खेलाडी सुस्मा तामाङ, वर्ष उत्कृष्ट प्रशिक्षक सिद्धान्त अधिकारी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीननाथ बराल सम्मानित भए । उनीहरुले अवार्डसँगै नगद ३ं५ हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरे ।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसी, गुरुङ गहनाघरका सञ्चालक सीमा गुरुङ, रुपाकोट ज्योति सुनचाँदी पसलका सञ्चालक दशरथ सुनार, तमु धिं यूकेका ट्रष्टी महेश गुरुङ, फ्र्याङ्लिन एजुकेशनका कमल खड्का, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई, आयोजक मञ्च अध्यक्ष एमबि आस्था मगरलगायतले अवार्डसहित सम्मान गरे ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको स्रोत र साधनले भ्याएसम्मको कार्यक्रम गरिरहेको बताए । सीमित स्रोतका बाबजुत पनि गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरुलाई मासिक भत्ता उलब्ध गराइरहेको उनले बताए ।

पोखराका मेयर आचार्यले इभेन्टको सहरमा पोखरा स्पोटर््स अवार्डले अर्को रौनक थपेको बताए । यस अवार्डलाई पोखरा महानगरले अभिभाकत्व प्रदान गर्ने गरी कार्यपालिकामा छलफल गरिरहेको बताए ।

सो अवसरमा गायिका मिलन नेवारले गीत गाएर मनोरञ्जन प्रदान गरेकी थिइन् भने सेन्ट मेरिज स्कुजका विद्यार्थीले झ्याउरे नृत्य प्रस्तुत गरे । कार्यक्रम संचालन सञ्चारकर्मी सञ्जयकुमार मल्ल र शोभा केसीले संयुक्तरुपमा गरे ।

पोखरा इभेन्ट सेन्टरमा बिहीबार दिउँसो करिब ३ घण्टा चलेको कार्यक्रममा खेलकुदकर्मी, सरकारी निकाय एवं विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

चलचित्रको काम छाडेर फेशन र्‍याम्पतिर अभिनेत्रीहरू