काठमाडौं । मंगलवारबाट फ्रान्सको कान्स सहरमा सुरु भएको विश्व प्रसिद्ध चलचित्र महोत्सव ‘कान्स फिल्म फेस्टिभल २०२६’मा यस पटक नेपाली चलचित्र पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चयन भएको छ । १० दिनसम्म जारी रहने यो चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ छानिएको छ ।
कान्सले यो चलचित्रको प्रिमियर मिति पनि सार्वजनिक गरेको छ । महोत्सवमा यो चलचित्र २० मे अर्थात् आगामी ७ जेठमा प्रिमियर हुने क्यान्सको प्रिमियर सूचीमा उल्लेख गरिएको छ ।
यसरी विश्वको सबै भन्दा ठुलो चलचित्र महोत्सव कान्समा नेपाली चलचित्र चयनसँगै प्रिमियर हुनु चलचित्रकर्मीहरूको लागि सुखद समाचार हो । नेपाली चलचित्र कान्स जस्तो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रतिस्पर्धामा चयन भएकोमा यसको निर्माण पक्षलाई चलचित्र विकास बोर्डले बधाई ज्ञापन गरेको छ । बोर्डले यो चलचित्रलाई सहयोग पनि गर्ने जनाएको छ ।
चलचित्र ‘एलिफेन्ट्स इन द फग’ कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा चयन भएको हो । चलचित्रको प्रिमियर पनि यही विधामा हुँदै छ । निर्देशक अविनाश विक्रम शाहले यो चलचित्र निर्देशन गरेका हुन् । उनको यो पहिलो फिचर चलचित्र हो ।
चलचित्र ‘एलिफेन्ट्स इन द फग’मा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डे, शान्ति गिरी, सञ्जय गुप्ता, महिमा नौबाग, आशान्त शर्मालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
निर्देशक अविनाश विक्रम शाहका अनुसार झापामा बिगबिगी रहेको हात्ती आतंक र त्यहाँ हात्तीले निम्त्याएका धनजन क्षतिपछि समस्याको कथा यो चलचित्रमा समेटिएको छ ।
चलचित्रमा तेस्रो लिंगीहरुको समाजमा संघर्षको कथालाई पनि प्रस्तुत गरिएको छ । यो चलचित्रलाई अनुप पौडेल, कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्ड मान श्रेष्ठलगायत निर्माण गरेका हुन् ।
‘एलिफेन्ट्स इन द फग’ कान्समा प्रिमियर हुने भएपछि यो चलचित्रको ट्रेलर यति बेला सार्वजनिक गरिएको छ । १ मिनेट ४४ सेकेण्डको ट्रेलरमा पनि गाउँमा हात्तीको बिगबिगीलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा तेस्रो लिंगीहरुको संघर्ष पनि प्रस्तुत गरिएको छ ।
यो चलचित्र सुरुमा अन्तर्राष्ट्रिय बजारमा रिलिज गरिने भएको छ । चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकारी ‘वेस्ट फ्रेन्ड फरेभर’ले लिएको यसका निर्देशक अविनाशले बताएका छन् । चलचित्रलाई फ्रान्समा ‘अरिजोना डिस्ट्रीब्युसन’ र ‘ले भाल्सेउर डिस्ट्रीब्युसन’, जर्मनी र अस्ट्रियामा ‘मिसिङ फिल्म्स’ र ब्राजिलमा ‘इमोभिजन’ले प्रदर्शन गर्ने पक्का भएको छ ।
यो चलचित्रको प्रिमियरका लागि केही कलाकार र निर्माण टोलीलाई लिएर निर्देशक अविनाश कान्समा सहभागी हुन फ्रान्स तर्फ लाग्दै छन् । विदेशमा रिलिज पछि २०८३ भित्रै नेपालमा पनि चलचित्र ‘एलिफेन्ट्स इन द फग’ रिलिज गर्ने पनि निर्देशक अविनाशले बताएका छन् ।
सम्बन्धित समाचार
चलचित्र काजी’को ‘वारि बर पारि पीपलु…’ रिलिज
फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न अस्विकार
अदालतबाट ‘लालीबजार’ रिलिजको लागि फुकुवा
प्रदान गरियो कलाकारलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार
सामाजिक सञ्जालमा गाली आएपछि साइबर ब्युरो पुगे रामकृष्ण
महंगियो चलचित्र सम्बन्धी संघ संस्थाका उम्मेदवारी दस्तुर
‘मितज्यू’को ट्रेलरमा मितबिच नै द्वन्द्व
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो






