‘लाली’ हराएको ‘बजार’

विवादित चलचित्र ‘लालीबजार’का कतिपय दृश्यले दर्शकलाई नै असहज बनाउनेगरी समाजको कठोर यथार्थ उजागर गर्न खोजेका छन् । कथा संरचनामा कमजोरी स्पष्ट देखिन्छ । सुरुवाती दृश्यले उत्सुकता जगाए पनि मध्यभागमा कथा अलमलमा परेको र दोहोरिएको छ ।

कतिपय दृश्य पीडा देखाउनकै लागि लम्ब्याइएजस्तो लाग्छ । पात्रका आन्तरिक द्वन्द्व गहिराइमा लैजान सकिने ठाउँमा चलचित्र पटकपटक भावनात्मक संवाद र करुण दृश्यमै निर्भर छ । यसले कथा स्वाभाविकरूपमा अघि बढ्नुभन्दा पनि ‘दर्शकलाई रुवाउने’ उद्देश्यकेन्द्रित लाग्छ । केही पात्र अधुरा लाग्छन् । विशेषगरी विरोधी चरित्रका मनोविज्ञान स्पष्ट खुलाइएको छैन । ‘उनीहरू किन यस्तो व्यवहार गरिरहेका छन् ?’ भन्ने आधार कमजोर हुँदा कथा एकपक्षीय अनुभूत हुन्छ ।

महिलाले आफ्नो अस्तित्व र सम्मान’bout बोल्ने मिश्रित संवाद दृश्यमा प्रभावकारी लाग्छन् । तर, कतिपय ठाउँमा बढी नै संवाद ‘लेखिए’जस्तो भान पर्छ । वास्तविक जीवनमा ‘मानिस यसरी नै बोल्छन् र ?’ भन्ने अनुभव पनि गराउँछ । सामाजिक सन्देश दिन खोज्दा पात्रभन्दा पनि ‘भाषणकर्ता’ बढी लाग्छन् । विशेषतः चरम भावनात्मक दृश्यमा संवाद अत्यधिक नाटकीय बनिदि“दा दृश्यप्रभाव कमजोर बनेको छ ।
अभिनय पक्षमा भने चलचित्र बलियो देखिन्छ । स्वस्तिमा खड्का पीडित महिलाको भूमिकामा जीवन्त लाग्छिन् । मुहारभाव, मौनता र आन्तरिक पीडालाई उनको अभिनयले न्याय गरेको छ । रविन्द्र सिंह बानियाँको अभिनय सधैंझैं संयमित र यथार्थपरक लाग्छ । सहायक कलाकार ठीकठाक छन् । यद्यपि, केही कलाकारको अभिनय भने ‘टेलिसिरियल शैली’को लाग्छ । यसले चलचित्रको ‘गम्भीर टोन’ कतैकतै कमजोर बनाएको छ ।

चलचित्रको आकर्षक पक्षमध्ये हो– सिनेम्याटोग्राफी हो । अँध्यारा गल्ली, ग्रामीण परिवेश, पुराना घर र धुलाम्मे वातावरण प्रभावकारीरूपमा खिचिएका छन् । प्रकाश र छाया प्रयोगले पात्रका मानसिक अवस्था झल्काउने प्रयास गरिएका छन् । मौनता र खालीपना ‘फ्रेम’मा सुन्दर ढंगमा कैद भएका छन् । तर, चलचित्रमा कतिपय दृश्य अत्यधिक ‘स्टाइलाइज्ड’ गरिएका छन् । गरिबी र पीडालाई यथार्थभन्दा बढी ‘सिनेमाटिक’ बनाउने प्रयास हुँदा ती दृश्य ‘कृत्रिम’ लाग्छन् । केही भावनात्मक दृश्यमा अत्यधिक ‘स्लो–मोसन’, पृष्ठभूमि संगीत र नाटकीय क्यामेरा ‘मूभमेन्ट’ले बढी नै कृत्रिमता प्रतीत गराउँछ ।

चलचित्रको अर्को कमजोरी भावनात्मक हेरफेर हो । दर्शकलाई पीडा महसुस गराउन संगीत, ‘क्लोजअप’ र आँसुयुक्त दृश्य प्रयोग गरिएका छन् । कुनै दृश्य आफैं बलियो हुँदा अतिरिक्त नाटकीयता आवश्यक पर्दैन, तर ‘लालीबजार’मा कतिपय दृश्यमा कलाकारलाई जबर्जस्ती निर्देशन गराएको अनुभूत हुन्छ । यसले संवेदनशील विषय अझ गहिरो बनाउनुको सट्टा कृत्रिम बनाइदिएको छ ।

संगीत र ‘ब्याकराउन्ड स्कोर’ कथानुसार उपयुक्त भए पनि कतिपय दृश्यमा अत्यधिक प्रयोग भएका छन् । मौनताले धेरै प्रभाव पार्नसक्ने दृश्यमा समेत संगीत घुसाइँदा प्राकृतिक भाव ओझेल परेको छ । यद्यपि, केही लोकधुनमिश्रित संगीतले वातावरण निर्माणमा सहजता थपेको छ । असन्तुलित कथा संरचना, अत्यधिक नाटकीयता, कृत्रिम संवाद र भावनात्मक दबाबका कारण चलचित्र पूर्णरूपमा प्रभावशाली बन्न सकेको छैन । यथार्थ देखाउने प्रयासमा कतिपय ठाउँमा वास्तविकभन्दा बढी कृत्रिम देखिन्छ ।

प्राविधिकरूपमा चलचित्र आकर्षक लागे पनि सिनेमाटोग्राफर सुशन प्रजापतिले अँध्यारो सामाजिक परिवेश प्रभावकारी देखाउने प्रयास गरेका छन् । ‘लालीबजार’ नेपाली चलचित्र उद्योगमा मनोरञ्जनका लागिमात्रै बनेको चलचित्र भने होइन । कथाको गम्भीरता, अभिनय परिपक्वता र सामाजिक सन्देशका बावजुद चलचित्र प्रभावकारी बन्न सकेको छैन । यस्ता विषयमा बनेका चलचित्रमा संवेदनशीलता, सन्तुलन र समुदायप्रतिको सम्मान अत्यन्त आवश्यक हुन्छ । सन्तुलन कायम राख्न सफल भएको भए ‘लालीबजार’ नेपाली सामाजिक चलचित्रको कृति स्थापित हुन सक्थ्यो ।

चलचित्रको मुख्य शक्ति विषयवस्तु हो । नेपाली समाजमा पुस्तौंदेखि विभेद र यौन शोषणको चक्रमा फसाइएका महिलाका पीडा पर्दामा ल्याउनु आफैंमा चुनौतीपूर्ण प्रयास हो । कथाले गरिबी, सामाजिक अपमान, महिलामाथिको हिंसा र जीवनसंघर्ष देखाउँछ । महिला पात्रका मनोवैज्ञानिक पीडा चलचित्रले भावनात्मकरूपमा प्रस्तुत गर्न खोजेको छ ।

यसअघि, वादी समुदायकेन्द्रित ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएस“गै विवाद चर्कियो र उच्च अदालत पाटनमा रिट दायरपछि चलचित्र प्रदर्शनमा अस्थायी रोक लगाइयो । अदालतको आदेशपछि तय रिलिज मितिसमेत प्रभावित बन्न पुग्यो ।

वादी अगुवाले चलचित्रले आफ्नो समुदायलाई ‘नकारात्मक र अपमानजनक रूपमा प्रस्तुत गरेको’ आरोप लगाएका छन् । उनीहरू चलचित्र प्रदर्शन रोक्न माग गर्दै अदालतसम्म पुगे । तर, रिलिज भएरै छाड्यो । यसपछि विवाद सडकसम्म पुग्यो र विरोध जारी छ । काठमाडौं माइतीघर मण्डलालगायत स्थानमा वादी समुदायका अगुवाले ‘चलचित्रले आफ्नो समुदायलाई यौनकर्मीसँग मात्र जोडेर सामाजिक पूर्वाग्रहलाई बल पुर्याएको’ आरोप लगाएका छन् ।

यता, निर्माण पक्षले भने ‘चलचित्र कुनै समुदायलाई अपमान गर्न नभई सीमान्तकृत वर्गको यथार्थ प्रस्तुत गर्न बनाइएको’ तर्क गरिरहेको छ । विवादपछि नेपाली चलचित्र क्षेत्रमा समुदायको प्रतिनिधित्व, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक संवेदनशीलता’bout व्यापक बहससमेत सुरु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’