निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति : उनेपा अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’ को लहर धेरै समय नटिक्ने दाबी गरेका छन्।

देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ मात्रै अन्तिम र भरपर्दो विकल्प भएको घिसिङको भनाइ थियो। ‘विगतमा विभिन्न क्रान्तिका नाममा अनेकौँ राजनीतिक परिवर्तन भए। कसैले त्यसलाई श्वेत क्रान्ति भने, कसैले रातो क्रान्ति। यदि १० वर्षे जनयुद्धपछिको परिवर्तनलाई रातो क्रान्ति भनेर नामकरण गर्ने हो भने, केही समयअघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अभियानलाई निलो क्रान्ति भनेर प्रस्तुत ग¥यो तर निलो क्रान्ति धेरै समय टिक्दैन,’ घिसिङले भने, ‘अन्तिम र दिगो क्रान्ति भनेको हरित क्रान्ति अर्थात् ग्रिन रिभोल्युसन हो।’

शुक्रबार उज्यालो नेपालले काठमाडौंमा आयोजन गरेको युवा भेलामा बोल्दै उनले मुलुकमा भएका विगतका राजनीतिक परिवर्तनलाई विभिन्न रङको क्रान्तिका रूपमा चित्रण गर्दै अध्यक्ष घिसिङले अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताए । अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको बताए।

‘हरित क्रान्तिले नेपाललाई दिगो रूपमा संस्थागत गर्छ, दिगो विकासको आधार तयार गर्छ र देशमा राजनीतिक स्थायित्व कायम गर्न मद्दत गर्छ,’ उनले थपे, ‘नेपालको दिगो विकास र दिगो राजनीतिक स्थायित्वका लागि अब आवश्यक क्रान्ति भनेको हरित क्रान्ति नै हो र यो हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्छ।’

पार्टीको झण्डा हरियो हुनु र चुनाव चिह्न ‘चिम’ ले शक्तिको सञ्चार गर्नुले पनि यो अवधारणालाई पुष्टि गर्ने उनको तर्क थियो। हरित क्रान्तिको केन्द्रमा सुशासन रहेको उनले बताए। ‘उज्यालो नेपाल पार्टीको एउटा प्रमुख उद्देश्य नेपालमा हरित क्रान्ति गर्नु हो। हामी नेपालमा ग्रिन रिभोल्युसन ल्याउने अभियानमा छौँ,’ उनले भने।

सुशासनका अतिरिक्त जलस्रोतको अधिकतम उपयोग गरी जलविद्युत् उत्पादन, हरित हाइड्रोजन र हरित युरियाको उत्पादनलाई पार्टीले मुख्य प्राथमिकतामा राखेको उनले बताए।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सह-सचिव थपलिया