पाँचथर । पद्मसन्दर लाओती प्रतिष्ठानले महिलाहरुको लागि यासोक, कुम्मायकमा संचालन गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविर पूर्ण सफलताका साथ सम्पन्न भएको छ । शिविरमा उपलब्ध स्वास्थ्य सेवाबाट स्थानीय महिलाहरु सन्तुष्ट भएको जानकारी प्राप्त भएको छ ।
‘स्त्रीरोग सम्बन्धी विशिष्ट सेवा उपलब्ध भएको शिविरबाट हामी महिलाहरु लाभान्वित भएका छौं, हामी सबै पूर्ण सन्तुष्ट छौं । यस्तो स्वास्थ्य शिविर कुम्मायक क्षेत्रमा पहिले आयोजना भएको थिएन, यस किसीमको सेवाको निरन्तरता जरुरी देखिन्छ,’ सेवाग्राही महिला शीला चाम्लिङले बताइन् । कुम्मायक आधारभूत अस्पताल यासोकमा आयोजित दुई दिने शिविर मंगलबार सम्पन्न भयो ।
‘आफ्नै घर आँगनमा निःशुल्क परिक्षण र उपचार प्राप्त गरेबाट हामी धेरै खुशी भएका छौं । शिविरले दिएको सेवाको महत्व बुझेर धेरै महिलाहरुले यो शिविरको स्वःस्फूर्त प्रचार प्रसार गरे, अन्य महिलाहरुलाई सेवा लिन प्रोत्साहन गरे जसकारण अन्य शिविरको तुलनामा यसपटक सेवाग्राहीहरुको सहभागिता उल्लेखनीय देखियो,’ कुम्मायक निवासी कमला लावतीले भनिन् ।
पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा स्तन क्यान्सरको परिक्षण, रोकथाम तथा उपचार सम्बन्धी सेवाहरु शिविरमा उपलब्ध गरिएको थियो । दुई दिने शिविरमा ३३४ जना महिलाले स्वास्थ्य सेवा र परामर्श लिएका थिए । जसमा पहिलो दिन ११९ जना र दोस्रो दिन २१५ महिलाले सेवा लिएका थिए ।

भीआइए परिक्षणको क्रममा २४ जना महिलामा पाठेघरको मुखमा क्यान्सर हुनसक्ने लक्षण देखियो । यस अवस्थामा क्यान्सर संक्रमणको पूर्वअवस्थाको उपचार गरेर रोकथामको उपाय गरिएको थियो । ४२ जना महिलामा पहिलो र दोस्रो चरणको आङ खस्ने समस्या देखियो भने ४ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको थियो । यसैगरी ५५ जना सेवाग्राहीमा विभिन्न किसीमका संक्रमण देखा परेको थियो । शिविरको दौरान परामर्श सेवा समेत उपलब्ध गरिएको थियो ।
‘शिविरको नतिजाबाट महिला स्वास्थ्यका हकमा विशेष स्वास्थ्य कार्यक्रम संचालन गर्नुपर्ने देखिन्छ जसमा नियमित जाँच परिक्षण र उपचार लगायत स्त्रीरोग लक्षित सेवाहरु आवश्यक छन् । स्थानीय सरकारको रुपमा कुम्मायक गाउँपालिकाले विशेष ध्यान दिएर महिलाहरुको हितमा स्वास्थ्य कार्यक्रमहरु संचालन गर्न जरुरी देखिन्छ,’ शिविर आयोजक संस्था पद्मसन्दर लाओती प्रतिष्ठानका सल्लाहकार सगुन सुन्दर लावतीले भने ।
स्वास्थ्य शिविरका लागि काठमाडौंबाट आएको टोलीमा डा. परमेश्वरी श्रेष्ठ, कार्यक्रम संयोजक अमला देवी मानन्धर, रुपा कर्माचार्य र पुष्पा कर्माचार्य सहभागी थिए । शिविर व्यवस्थापनमा कुम्मायक गाउँपालिकाको भूमिका थियो भने रोटरी क्लब अफ काष्ठमाण्डप, काठमाडौं, एन एन सी टी आर नेपाल, बनेपा र नेपलीज डक्टर्स एसोसिएसन, यूकेले शिविर आयोजनामा सहयोग गरेका थिए ।
कार्यक्रम संयोजक अमला देवी मानन्धरले परिक्षण नतिजाप्रति इंगित गर्दै महिलाहरुका लागि कुम्मायक क्षेत्रमा फलो अप सेवा र कार्यक्रमहरु आवश्यक देखिएको बताए ।
कुम्मायक आधारभूत अस्पताल यासोकका प्रमुख डा. एरिक बाँस्कोटाले शिविर उपलब्धिमूलक रहेको बताए । पद्मसन्दर लाओती प्रतिष्ठानका अध्यक्ष विजयवोध लावतीले स्वर्गीय पद्मसुन्दर लावतीको पदचिन्हमा यस्तै प्रकारका सामाजिक सेवा गर्दै जाने बताए ।
सम्बन्धित समाचार
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
विश्व वातावरण दिवसमा सुन्दरहरैँचामा वृहत बाँस वृक्षारोपण कार्यक्रम सम्पन्न
सुन्दरहरैंचामा निजी विद्यालयको मनोमानी
अनाधिकृत रूपमा विद्यालय अनुगमन गर्दै रास्वपा सुन्दरहरैंचा शिक्षा विभाग
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
केराबारीमा वन फडानीको नयाँ शैली: झाडी सफा गर्ने नाममा ४ सय सखुवाका रुखमाथि आरा !
मोरङबाट सशस्त्र प्रहरीद्वारा ९ सय २२ किलोग्राम गाँजा बरामद






