रास्वपा महाधिवेशनः ९ मन्त्री मैदानमा उत्रदा पूर्वपदाधिकारी मनोनयनको सुरक्षित बाटोमा

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशन लम्बिएको छ । तीन दिनमा सम्पन्न गर्ने पूर्वकार्यतालिका भए पनि महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन सकेन ।

रास्वपाले यसअघि तीन दिन (७, ८ र ९ असार)मा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । महाधिवेशनबाट नेतृत्व चयनसहितको प्रक्रिया पूरा गर्न थप तीन दिनभन्दा बढी लाग्ने भएको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका भुवन केसीले सार्वजनिक गरेको प्रतिनिधिको नामावलीअनुसार महाधिवेशनमा ३ हजार ८४९ प्रतिनिधि सहभागी छन् । मतदान अत्याधुनिक विद्युतीय मतदान मेसिन (ईभीएम) बाट हुन्छ ।

८० वटा ‘राम–लक्ष्मण’ भोटिङ मेसिन जडान गरिएको छ । एक मतदाताले २० देखि ४५ मिनेटमा मतदान सम्पन्न गर्ने बताइएको छ । अर्थात मतदान सम्पन्न गर्न कम्तीमा १५ देखि २० घण्टा लाग्नेछ । मतदान गर्न समय लाग्ने भए पनि मतपरिणाम मतदान सम्पन्न भएको दुई घण्टामा आउने निर्वाचन आयोगले जनाएको छ ।

रास्वपाले पहिलो र दोस्रो गरी दुई चरणमा मतदान सम्पन्न गर्दैछ । पहिलो चरणको मतदान प्रक्रिया चलिरहेको छ । बुधबार रातिबाट मतदान सुरु भएको छ । महाधिवेशनस्थल चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतदानको व्यवस्था गरिएको छ ।

धेरै क्लस्टर र उम्मेदवार छान्नुपर्ने भएकाले एक जना प्रतिनिधिलाई मतदान गर्न २० देखि ४५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ । विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूका लागि भने ‘डायस्पोरा भोटिङ’ एपमार्फत मतदानको व्यवस्था मिलाइएको छ । महाधिवेशनको चौथो दिन मतदान सुरु भएको हो ।

केन्द्रीय सदस्यमा तीव्र प्रतिस्पर्धा
पार्टी सभापति पदका लागि रवि लामिछानेको मात्र एकल उम्मेदवारी परेकाले उनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । महाधिवेशनको मुख्य चासो अब ९९ सदस्यीय केन्द्रीय समिति चयनतर्फ केन्द्रित भएको छ ।

खुलातर्फ ६४ पदका लागि २१० जना र भूगोल (प्रदेशगत) क्लस्टरतर्फ ३५ पदका लागि १७४ जनाको उम्मेदवारी कायम भएको छ । भूगोलतर्फ प्रत्येक प्रदेशबाट ५–५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । कार्यसूचीअनुसार प्रारम्भिक सूचीमाथि दाबी विरोध र उजुरी, छानबिन गरेर अन्तिम नामावली प्रकाशनसंगै रुजु गरेर मतदान सुरु भएको हो ।

आयोगले प्रकाशित गरेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरूको प्रारम्भिक सूचीअनुसार ९९ पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ । तीमध्ये ८० जना महिला छन् ।

भूगोलमा १३९ जना पुरूष प्रतिस्पर्धामा छन् भने ३५ जना महिला छन् । यसैगरी, राष्ट्रिय क्लष्टरमा १६५ पुरूष छन् भने ४५ महिला प्रतिस्पर्धानमा छन् । यी दुवै क्लष्टरबाट ८० जना महिला र ३०४ जना पुरूषले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

पदाधिकारी र ६ मन्त्री चुनावी मैदानबाहिर
रास्वपाको विधानअनुसार पहिलो चरणमा निर्वाचित हुने ९९ सदस्यीय केन्द्रीय समितिले मात्र दोस्रो चरणमा पदाधिकारीका लागि उम्मेदवारी दिन पाउने व्यवस्था छ । यस व्यवस्थाका कारण सरकार र संसद्मा रहेका केही बहालवाला मन्त्री, सांसद तथा निवर्तमान केन्द्रीय पदाधिकारीले पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका छैनन् ।

पार्टी स्रोतका अनुसार ‘सांसद र मन्त्रीहरूले सरकार तथा संसद्को काममा ध्यान केन्द्रित गर्नुपर्ने’ वा ‘नेतृत्व तहबाट पछि सिधै मनोनयन हुने’ आन्तरिक समझदारी र रणनीतिका कारण धेरै स्थापित अनुहार पहिलो चरणको चुनावी दौडबाट बाहिरै बसेका हुन् । यद्यपि, केही मन्त्री र सांसदहरू भने केन्द्रीय सदस्य बन्न तीव्र प्रतिस्पर्धामा उत्रिएका छन् र प्रतिनिधिहरूसँग भोट मागिरहेका छन् ।

पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचन सकिएलगत्तै बिहीबार दोस्रो चरणअन्तर्गत उपसभापति, महामन्त्रीलगायतका १९ जना पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

प्रतिस्पर्धामा ९ मन्त्री
केन्द्रीय सदस्यका लागि ६ जना मन्त्रीले उम्मेदवारी नै दिएनन् भने ९ जना केन्द्रीय सदस्य बन्न मैदानमा छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सिधै वरिष्ठ नेतामा मनोनीत हुने भएकाले उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु पर्दैन । उनीसहित ६ जना मन्त्रीको नाम पनि उम्मेदवारहरूको प्रारम्भिक सूचीमा छैन ।

आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा बालेन निकट भनेर चिनिएका गृहमन्त्री सुधन गुरूङ र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको नाम छैन । भौतिक पूर्वाधारमन्त्री लम्साललाई सिधै पदाधिकारीमा मनोनीत गर्ने तयारी छ । उनलाई उपसभापति मनोनयन गर्ने तयारी रहेको रास्वपा स्रोतको दावी छ ।

यसैगरी केन्द्रीय सदस्यका लागि उम्मेदवारी नदिने अन्य चार जना मन्त्रीमा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिना, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव छन् ।

यसमध्ये प्रतिभा रावलको नाम उपसभापति (महिला) तर्फ चर्चामा थियो । यो खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने पद हो । यसबाहेक बाँकी ९ जना मन्त्रीले भने केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गण्डकी प्रदेशबाट उम्मेदवारी दिएका छन् भने परराष्ट्रमन्त्री शिशिर खनालले बागमती प्रदेशबाट उम्मेदवारी दिएका छन् । कानुनमन्त्री सोबिता गौतम (राष्ट्रिय क्लस्टर), ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ (राष्ट्रिय), शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल (राष्ट्रिय), स्वास्थ्यमन्त्री निशा मेहता (भूगोल), कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरी (राष्ट्रिय), युवा श्रम तथा रोजगारमन्त्री रामजी यादव (राष्ट्रिय) र महिला तथा बालबालिकामन्त्री सीता वादी (भूगोल) को नाम उम्मेदवार सूचीमा छ ।

केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ जना चुनावमार्फत निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ ।

पहिलो चरणमा केन्द्रीय सदस्य निर्वाचनको नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि चुनाव हुनेछ । रास्वपाको संशोधित विधानअनुसार १९ सदस्यीय पदाधिकारीमध्ये ८ जनाका लागि मात्र चुनाव हुनेछ । बाँकी ११ जना सभापतिले मनोनयन गर्ने छन् ।

निर्वाचित हुने ९९ मध्ये ७ प्रदेशबाट ५–५ जना अनिवार्य हुनेछन् । प्रदेशमा ५ जना चयन हुँदा २ महिला हुने व्यवस्था पार्टीको संशोधित विधानमा छ । अन्य ६४ पदमा खुला प्रतिस्पर्धा हुन लागेको हो ।

रास्वपाको विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । जसमा ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ । ७ प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य हुनेछन् । केन्द्रीय समितिको निर्वाचन पछि ३३ सदस्यीय सचिवालय गठन गरिनेछ ।

सभापति १, वरिष्ठ नेता १, १ जना महिलासहित ३ उपसभापति, दुई महामन्त्री, १ महिलासहित ५ सहमहामन्त्री, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १, सहप्रवक्ता ३ जना रहने व्यवस्था रास्वपाको विधानमा छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिको नामावलीअनुसार महाधिवेशनमा ३ हजार ८४९ प्रतिनिधि सहभागी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

फिफा विश्वकपः कतै गोल वर्षा, कतै खडेरी