वेरोजगारी कम गर्न वीरगन्जमा ‘रोजगार मेला २०८३’ लाग्दै

वीरगन्ज । मुलुककै पुरानो ‘वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर’ का उद्योगहरुले नेपाली कामदार राख्न मान्दैनन् भन्ने भाष्य निरुत्साहित गर्न वीरगन्जमा रोजगार मेला २०८३ लाग्ने भएको छ । ‘नेपाली कामदार यहाँकै विभिन्न उद्योग प्रतिष्ठानमा’ भन्ने उद्देश्यले वीरगन्जमा आगामी असार २१ गते ‘रोजगार मेला २०८३’ लाग्ने भएको हो ।

मेलाको अर्को महत्वपूर्ण पक्ष भनेको परनिर्भरतालाई निश्तेज पार्दै आत्म निर्भरता बढाउने पनि रहेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले बताए । यो मेला मधेश प्रदेशकै आकर्षकका रुपमा रहेने पनि उनको भनाइ छ । खासगरी अन्य प्रदेशको तुलनामा मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा जाने कामदारको तथ्य बढिरहेको कुरालाई गम्भिर रुपमा लिदै वेरोजगारलाई यही प्रदेशमा रोजगार दिने लक्ष्य राखिएको पनि संघका अध्यक्ष गौतमको तर्क छ ।

अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालयको रोजगार सेवा केन्द्रको सवलीकरण परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ), नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेश र वीरगन्ज उद्योग बाणिज्य संघको संयुक्त आयोजना तथा वीरगन्ज महानगरपालिका, Leadership Development Institute वीरगन्ज तथा HR Society Nepal मधेस च्याप्टरको सहकार्यमा रोजगार मेला २०८३ (Job Fair २०८३) हुने भएको शुक्रबार संघकै कार्यकक्षमा पत्रकार सम्मेलन गरी जनाइएको हो ।

परम्परागत रूपमा गरिने रोजगार मेलाभन्दा यो मेला सीप आवश्यकता मूल्याङ्कन (Skill Need Assessment) तथा श्रम बजारको अवस्था विश्लेषणका आधारमा गरिने पनि आयोजकको दावी छ । मेलाको अझ मुख्य उद्देश्य रोजगारदाताहरूको वास्तविक जनशक्ति आवश्यकता र रोजगार खोज्ने व्यक्तिहरूको सीप तथा क्षमता बीच प्रभावकारी समन्वय स्थापित गरिदिने पनि रहेको एफएनसिसिआईका रोजगारदाता परिषद् प्रमुख हरि पौडेलले बताए । मधेश प्रदेशमा उद्योग, व्यापार, सेवा, यातायात तथा प्राविधिक क्षेत्रहरूमा दक्ष तथा अर्धदक्ष जनशक्तिको उल्लेखनीय माग रहेको एक अनुसन्धानबाट खुलेपछि सात प्रदेशमध्ये पहिलो पटक वीरगन्जमा रोजगार मेला गर्न लागेको पनि उनको तर्क छ ।

‘मेला’ चुनौति चिर्ने अवसर
विशेषगरी युवा तथा महिलाहरूले श्रम बजारसम्बन्धी विश्वसनीय सूचना, करियर परामर्श तथा रोजगारीका अवसरमा पहुँच प्राप्त गर्न चुनौतीहरू रहेकोले त्यसलाई पनि सवलीकरण गर्ने नेपाल उद्योग बाणिज्य महासंघको दावी रहेको छ । रोजगारदाता, रोजगार सेवा केन्द्र, तालिम प्रदायक संस्था, स्थानीय तह तथा रोजगार खोज्ने व्यक्तिहरू बीच प्रभावकारी समन्वयको अभाव रहेको हृदयंगम गरी रोजगार सेवा प्रणाली पर्याप्त रूपमा परिणाममुखी बनोस् भनेर पनि वीरगन्ज उद्योग संघ पनि सहकार्य र आयोजनमा जुटेको संघका सह सचिव अनुप अग्रवालले बताए । रोजगारदाताहरूले रोजगार सेवा केन्द्रको सट्टा व्यक्तिगत सञ्जाल वा प्रत्यक्ष सम्पर्कमार्फत कर्मचारी भर्ती गर्ने प्रवृत्ति देखिएको छ, जसको प्रमुख कारण विश्वासको कमी, रिक्त पदहरूको न्यून सार्वजनिक सूचना तथा कमजोर पूर्व–छनोट प्रणाली । यी सबै कुरालाई निश्तेज पार्न पनि रोजगार मेला प्रभावकारी हुने उनको तर्क छ ।

मेलामा रोगजारदाता, र रोजगार खोज्ने दुबै पक्षलाई सामेल गराईंदा यसले बजारमा कस्तो जनशक्ति खोजिएको छ र कति खोजिएको छ भन्ने समेत प्रष्ट हुने वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधवलाल राजपालले बताए । अर्को कुरा यो कोरिडोर क्षेत्र र समग्र प्रदेशकै सवालमा पनि यहाँका उद्योगी व्यवसायीले भारतीय वा विदेशी कामदार मात्र बढि राख्छन् भन्ने भाष्य चिर्न पनि यो मेला प्रभावकारी हुने उनको तर्क छ ।

पाँच सयसम्मले रोजगार पाउने अपेक्षा
मधेश प्रदेशमा समावेशी तथा दिगो रोजगार प्रवद्र्धन गर्ने लक्ष्य सहित हुन लागेको यो मेला वीरगन्जको होटल भिस्वामा गरिने पनि आयोजकले प्रष्ट पारेको छ । मेलामा रोजगारदाता, रोजगार समन्वय केन्द्र, रोजगार खोज्ने व्यक्ति, तालिम प्रदायक संस्था, मिडिया तथा सम्बन्धित सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिता गराई ३ सयदेखि ५ सयसम्म वेरोजगारलाई रोजगार दिने लक्ष्य रहेको पनि आयोजक संस्था वीरगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजपालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

नर्वेको पोस्टमा फ्रान्सको ४ गोल, डेम्बेको ह्याट्रिक