सिन्धुली । कमलामाई नगरपालिका–४ ढकालगाउँकी शारदा थापालाई ऋण नतिरेको भन्दै स्थानीयले शरीर बन्धक बनाई कुटपिट गरेको घटनामा सिन्धुली जिल्ला अदालतले मंगलबार सजाय निर्धारण गरेको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले मंगलबार सजाय तोकेको हो ।
सो घटनामा पक्राउ परेका ७ जनामध्ये ईश्वर पोखरेल, निकेश ढकाल, मिलन देवकोटा र एक्कबहादुर खड्कालाई ३ वर्ष कैद सजाय, ३०–३० हजार रुपैयाँ जरिवाना र पीडितलाई ५०–५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
यस्तै विष्णुप्रसाद ढकाल, वीरविक्रम ढकाल र शारदाका श्रीमान सन्तोष थापालाई १ वर्ष कैद सजाय, १०–१० हजार रुपैयाँ जरिवाना र पीडितलाई २०–२० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
घटनामा संलग्न दुईजनालाई सफाइ दिइएको छ भने एकजना फरार रहेको सिन्धुली जिल्ला अदालतका श्रेस्तेदार चित्रखर अधिकारीले जानकारी दिए । घटनामा संलग्न लीलाकुमारी खड्का फरार छिन् ।
के हो शारदा थापा घटना ?
कमलामाई नगरपालिका–४ ढकाल गाउँकी शारदा थापालाई ऋण नतिरेको भन्दै स्थानीयले शरीर बन्धक बनाई कुटपिट गरेका थिए । उनलाई ६ पुस २०८० देखि तीन दिनसम्म घरकै पिढीको खाँबो र बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको सन्दर्भमा तत्कालीन जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले उद्धार गरेका थिए । कुटपिटबाट अर्धचेत अवस्थामा उद्धार गरिएपछि उनलाई सिन्धुली अस्पतालमा उपचार गरिएको थियो । केही समय उनलाई सुरक्षित आवास गृहमा समेत राखिएको थियो । तीन दिनसम्म खाना खानसमेत नदिई कुटपिट गरिएको थियो ।
उनलाई उद्धार गर्दा शारदाको शरीरभरि निलडाम थियो । स्वास्थ्य जोखिमपूर्ण रहेको चिकित्सकहरुले सुझाएका थिए । ७ पुसमा एसपी सिलवालले उद्धार गर्दा उनलाई बेहोस अवस्थामा पोलमा बाँधेको, लडिरहेको र होस गुमेको अवस्थामा एसपी सिलवालले आफ्नै गाडीमा उद्धार गरी अस्पताल पु¥याएका थिए । तत्कालीन अवस्थामा आफूलाई बाँधेर मुक्का, लात्ती र लौरोले कुटपिट गरेको शारदाले प्रहरीमा बयान दिएकी थिइन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, विष्णुकुमार ढकाल, वीरविक्रम ढकाल, पीडितका श्रीमान सन्तोष थापा र एकबहादुर खड्कालाई तत्कालै पक्राउ गरेको थियो ।
पीडितले ११ पुस २०८० मा किटानी जाहेरी दिएकी थिइन् । शारदामाथि ऋण लिएर काठमाडौंमा जग्गा जोडेको र ऋण तिर्नुपर्छ भनी श्रीमानसँग डिभोर्स गर्न खोजेको पीडक पक्षको आरोप थियो ।
शारदाका श्रीमान्ले स्थानीयसँग एक करोड २५ लाख रुपैयाँ ऋण लिएको पीडक पक्षको आरोप थियो ।
सम्बन्धित समाचार
राहदानी ठेक्का प्रकरणः महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा
बिष्णु पौडेललाई आजै अदालतमा उपस्थित गराइने
रास्वपा महाधिवेशनः मतदान बिहान १० बजेसम्म जारी रहने
रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान
मधेश प्रदेश खेलकुद समाज कल्याण मन्त्रालयका नाममा अल्पकालीन आदेश जारी
यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह
निजीलाई सरकारी विज्ञापन नदिने नीतिविरुद्ध सर्वोच्चले माग्यो निणयको प्रमाणप्रति
चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा आज भारी वर्षाको सम्भावना






