ढोरपाटन । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ । पर्यटकले जथाभावी फोहरले फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमलिन थालेको छ । पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, विस्कुटका प्लास्टिक र बियर बोतललगायत छरपस्ट छोड्दा पर्यावरणमा असर पर्ने चिन्ता बढेको छ ।
चार वर्ष अगाडिसम्म गोठाला बस्ने बुकीपाटनमा पछिल्लो समय दैनिक सयौँ पर्यटक बुकीपाटन पुग्न थालेपछि फोहर बढ्न थालेको ढोरपाटन नगरपालिका–९ का तीर्थबहादुर घर्तीमगरले बताए ।
पाटनभरी छरिएका प्लास्टिक र बोतलले सौन्दर्यलाई कुरुप बनाएको घर्ती मगरले सुनाए । पर्यटकले जथाभावी फोहर गर्ने मात्र नभइ बुकीपाटनका फूलसमेत कोपिलामै टिप्दा वनफूल नै मासिने जोखिम बढेको छ । समुन्द्री सतहदेखि चार हजार २०० माथिको क्षेत्रमा प्लास्टिक र सिसाजन्य फोहर बढ्दा सरसफाइ गर्ने चासो कुनै पनि निकायले नदेखाएको स्थानीयको गुनासो छ ।
बुकीपाटन बागलुङको एउटा अनुपम सम्पत्ति भएकाले त्यहाँको सुन्दरताको बयान जति नै गरे पनि कम हुनेछ । त्यहाँको सुन्दरतासँग रमाउन दैनिक सयौँ पर्यटक बुकीपाटन पुग्ने गरेकामा पछिल्लो समय त्यस क्षेत्रको अवलोकन गर्न जाने व्यक्तिले प्लास्टिक र सिसामा खानेकुरा बोकेर जाने र खाएपछि त्यही नै फ्याँकेर हिड्ने प्रवृत्ति वातावरण संरक्षणका लागि घातक देखिएको छ ।
बुकीपाटन क्षेत्रमा मात्रै नभई ढोरपाटन उपत्यकाको पाखाथरदेखि उकालो लागेपछि पदमार्गका छेउछाउ, कोल्सा, डाँडा, खोला र बुकीपाटनसम्मै बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल छरपस्ट भेटिन्छन् । त्यस्ता फोहोर व्यवस्थापनमा सिकार आरक्षले पनि चासो दिनुपर्ने स्थानीयको भनाइ छ ।
बुकीपाटनमा पर्यटकले फालेको प्लास्टिकजन्य फोहर घासँमा मिसिर वस्तुभाउले खाँदा बिरामी परेर मर्ने गरेको ढोरपाटन नगरपालिका–६ का किसान तुलबहादुर अदैले गुनासो गरे । फोहोर फल्नका लागि गोठालाले ठाउँठाउँमा खाल्डो निर्माण गरी दिएपछि पर्यटकले जथाभावी फल्ने गरेको स्थानीयको भनाइ छ । बुकीपाटनको गर्पाछेडा, दहखर्क, फुर्सेदेउराली, टीकाधारा, फागुने क्षेत्रमा बढी फोहर गरेको स्थानीय अदै बताउँछन् ।
स्थानीय कुलबहादुर विकले अघिल्लो वर्ष बुकीपाटनमा छरिएका प्लास्टिक खाएर करिब ६० वटा भेडाबाख्रा र गाईभैँसी बिरामी परेको बताए । पोसिलो घाँस खुवाउन बागलुङसहित रोल्पा, रुकुम, डोल्पा र म्याग्दीबाट गोठालाले आफ्ना वस्तुभाउ लिएर त्यहाँ जाने गरेका छन् ।
सम्बन्धित समाचार
आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु
किशोरावस्थामा गर्भपतन गराउँदा प्रजनन स्वास्थ्यमा खतरा बढ्ने
एपीएफ स्कुलको शुल्क रकम हिनामिना प्रकरण : छानबिनपछि कानुनी कारबाहीका लागि सिफारिस
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
नेपाली मृत्यु प्रकरण: सदन र सडकमा प्रधानमन्त्रीको राजीनामा माग
वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण
निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री






