सेतीको बहावमा अवरोध

पोखरा । पोखराको पर्यटकीय गन्तव्यमध्ये एक सेती नदीको बहावमा अवरोध हुँदा सबैजनाको ध्यान गएको छ । २ दिनयता रातोपैह्रो क्षेत्रमा अवलोकनका लागि सर्वसाधारणको भीड लाग्ने गरेको छ । बहावमा अवरोधले तल्लो तटीय क्षेत्रमा सम्भावित क्षतिको आकलन हुने गरेको छ ।

पर्यटकीय राजधानी पोखराको बीच भागबाट बग्ने सेती नदीले जोकोहीलाई पनि वास्तवमा आकर्षित गर्छ । किनकि यो नदी सहरी क्षेत्रका अधिकांश ठाउँमा गहिरो खोंचबाट चट्टान छिचोल्दै भूमिगत भई बग्ने गरेको छ ।

स्थानीयका अनुसार पोखरा वडा १५ र १७ को सीमा आइएनएफतर्फबाट करिब २ महिनाअघि सुख्खा पहिरो खसेको थियो । पहिरोले नदीभित्र ठूलो मात्रामा ढुंगा माटो र गेग्रानजस्ता नदीजन्य वस्तु थुपारेपछि त्यहाँ प्राकृतिक बाँध बनेको देखिन्छ ।

केही दिनयताको अविरल वर्षासँगै नदीमा बहाव बढ्दा सेती केही मात्रामा थुनिन गएको हो । जसका कारण पानी सहजरुपमा बग्न नसक्दा बाँधमाथिबाट सेती झरनाका रुपमा परिणत भएको दृश्य देख्न सकिन्छ । यो झरना आकर्षण प्राकृतिक दृश्यजस्तो लागे पनि नदीको बहाव थुनिएर झरना बनेकाले गम्भीर जोखिमको आशंका पनि गरिएको छ ।

स्थानीयवासी समेत रहेका पत्रकार हरि बास्तोलाले पहिरोले नदीको बहावमा अवरोध हुँदा नदी किनारको दायाँ–बायाँ कमलो भाग तान्न सुरु गरेको पाइन्छ । यदि सेतीका बहाव पूरै रोकियो भने तल्लो तटीय क्षेत्रमा क्षति पार्न सक्ने बास्तोला बताउँछन् । उनी भन्छन्, ‘सम्बन्धित निकायका प्राविधिकले अध्ययन अवलोकन गरी नदीलाई आफ्नै बाटोमा बगाउन सक्यो भने त्यसबाट क्षति नहोला । होइन भने कल्पनै नगरेको क्षति पनि हुन सक्छ ।’ उनका अनुसार सेतीको माथिल्लो भाग कमजोर भाग हो । रंगशालाको वरिपरि चिराचिरा पर्ने भाग छ ।

रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष भगवान पोखरेलले बाल्यकालदेखि नै खेलेको यो स्थानमा आजसम्म यस्तो झरना नदेखेको बताउँछन् । नदीको करिब ४० देखि ५० मिटरबाट पानी झरेको कारण भित्रीभागमा ठूलो जलाशय बनेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

पोखरा–१७ कि वडाध्यक्ष राधिका शाहीले सेतीनदीमा यति ठूलो बाँध बन्नुले माथिल्लो र तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको बताउँछिन् । जोखिम कम गर्दै बाँधको व्यवस्थापनमा सम्बन्धित निकायलाई जानकारी गराएको उनले बताइन् ।

आइतबार दिउँसो कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहित जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुख सम्मिलित टोली स्थलगत अध्ययन–अवलोकनका लागि गएको थियो । जसमा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंत बराल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, सिँचाइ तथा जलस्रोत आयोजना प्रमुख गण्डकी प्रदेश विदुरमान श्रेष्ठसमेत सहभागी थिए । टोलीले अवलोकनका क्रममा नदीको बहाव पूरै नथुनिएको र छिद्र छिद्रबाट बगेको हुँदा तत्काल संकट नहुने अनुमान गरेको सहायक प्रजिअ बरालले बताए ।

स्थलगत अवलोकन गरेका पत्रकार सन्देश श्रेष्ठ सेतीमा चुनढुंगा भएकाले माटो कमलो, गेग्रान एवं बलौटे टाइपको भएको बताउँछन् । उनका अनुसार सेतीको दूरी पोखराको सहरी क्षेत्र केआईसिंह दोबिल्लासम्म ४.३ किमी जति छ । उनले सेती थुनिएको क्षेत्रको पूर्वतर्फबाट ४० देखि ५० मिटरजति भाग पहिरो खस्दा छिद्रा भएर पानी बगेको बताए । उनले भने, ‘बायाँ भागमा पनि अर्को चिरा परेको छ । चिरा जुनसुकै बेला पनि खस्न सक्छ । अध्ययन अवलोकनका अनुसार गर्ज ठूलो भएकाले तत्काल तल्लो तटीय क्षेत्रलाई जोखिम छैन ।’

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २० रुपैयाँमै भरपेट शाकाहारी भोजन