३० करोडभन्दा बढीको सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८२/०८३ मा ३० करोड ३ लाख ३३ हजार ८४९ रुपैयाँबराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरी राजश्व तथा भन्सार कार्यालयमा बुझाएको छ ।

सो बाहिनी तथा बाहिनी मातहत कार्यालयहरूले गत आर्थिक वर्षमा उल्लेखित रुपैयाँबराबरको लत्ताकपडा खाद्यान्नलगायत विभिन्न प्रकारका सामान बरामद गरेको हो ।

सोही आर्थिक वर्षमा सो बाहिनी तथा मातहत कार्यालयहरूले ती सामान बरामद गर्नुका साथै पेस्तोल २ वटा तथा सोको १ वटा म्याग्जिन, ४ राउन्ड गोली र २ वटा भरुवा बन्दुकसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ ।

यसैगरी सोही आर्थिक वर्षमा सो बाहिनी तथा मातहत कार्यालयहरूले ठूलो परिमाणमा लागूऔषधसहित १८१ जना पुरुष र १२ जना महिला गरी १९३ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको थियो । बरामद गरिएका लागूऔषधहरुमा करिब १ किलो १२३ ग्राम ब्राउन सुगर, १० हजार ७७३ किलोग्राम गाँजा तथा स्पास्मो प्रोक्सिन, ट्रामाडोल, नाइट्राभेट, डाइलक्स डिसी, लुपिजेसिक, फेनारगन, नाइट्रोजन, एभिल, डाइजेपामलगायतका छन् ।

यसैगरी मानव बेचबिखन कार्यमा संलग्न १ जना महिला र १८ जना पुरुषलाई नियन्त्रण लिई सम्बन्धित निकायमा बझाउनुका साथै २३ महिला, २ पुरुष र १३ बालबालिकाको उद्धार गरी सम्बन्धित निकायमा बुझाइएको छ ।

त्यस्तै सो बाहिनी तथा बाहिनीमातहत कार्यालयहरूले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमामा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुका साथै गत आर्थिक वर्षमा विभिन्न समूह, क्लब तथा शैक्षिक संस्थाहरूमा लागूऔषध दुव्र्यसनीसम्बन्धी सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको हो ।

त्यसैगरी नदीजन्य उत्खनन नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरीले १०४ वटा ट्याक्टर, ३ वटा टिपर र ५ वटा जेसीबीलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।

सोही आर्थिक वर्षमा वन्यजन्तु तथा वनपैदावार चारीपैठारी नियन्त्रणको क्रममा गैँडाको खाग १ , हरिणको सिङ १ , २ हजार ३ सय ३३ क्यूफिट विभिन्न जातका काठ बरामद गर्नुका साथै ती कार्यमा संलग्न २ जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो । त्यस्तै सो बाहिनी तथा बाहिनी मातहत कार्यालयले कोशी प्रदेशका विभिन्न स्थानमा ६ हजार ८४६ वटा फलफूल तथा विभिन्न प्रजातिका बोटबिरुवाहरू वृक्षारोपणसमेत गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीमा नेकपाले एमाले नेतृत्वको सरकार नमान्ने, अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने