स्थानीयको विरोधबीच स्याङ्जाका कोरोना संक्रमितको शव गाडियो

फाइल तस्वीर

पोखरा । कोरोना भाइरस संक्रमणका कारण आइतबार राति पोखरामा ज्यान गुमाएका स्याङ्जाका ५८ वर्षीय पुरुषको चर्को विरोधबीच अन्ततः अन्त्येष्टि गरिएको छ । मृत्युको झण्डै २० घण्टापछि मात्र नेपाली सेनाको टोलीले सेती नदी किनारमा शव गाडेको हो ।

कोभिड–१९ बाट मृत्युवरण गर्नेहरुको शव कहाँ–कसरी व्यवस्थापन गर्ने भन्ने’bout पूर्व तयारी हुन नसक्दा व्यवस्थापनमा चुनौती देखा परेको थियो । स्याङ्जा वालिङ वडा–३ घर भइ ४ दिनदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ती पुरुषको आइतबार राति ११ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

नेपाली सेनाको शव व्यवस्थापन तालिमप्राप्त टोलीले पोखरा वडा ११ र २० मा पर्ने सेती किनार रिठ्ठाघाटमा खाल्डो खनेर सोमबार साँझ गाडेको हो । सोमबार बिहानैदेखि शव व्यवस्थापनको लागि विभिन्न ठाउँ खोजी गरिएकोमा स्थानीयको विरोधबीच समस्या उत्पन्न भएको थियो भने अस्पतालमै लामो समयसम्म शव राखिँदा अन्य बिरामी भयभित बनेका थिए ।

उनको मृत्युपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यले गएराति नै सरोकारवाला पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुलाई खबर गरेको बताए ।

कोरोना संक्रमितको शव व्यवस्थापन समिति संयोजकसमेत रहेका कास्कीका प्रजिअ यज्ञप्रसाद ढकालले सोमबार बिहान हरियो खर्क अस्पताल नजिक गाडिने भने पनि स्थानीयको विरोधपछि खाल्डो खन्न गएको महानगरको जेसीबी पनि फर्किएको थियो । स्थानीयले शव गाड्दा संक्रमण फैलिन सक्ने भन्दै विरोध गरेका हुन् ।

पछि ठाउँ खोज्दै जाँदा सेती किनार रिठ्ठाघाटमा गाड्ने भनी खाल्डो खनि सक्दासमेत स्थानीयको विरोध गरेका थिए । सोक्रममा प्रहरीले भीड तितरबितर पार्ने क्रममा लाठीचार्ज गरेको थियो । लाठीचार्जबाट पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोलासमेत सामान्य घाइते छन् । उनले भने, ‘प्रशासनले बल प्रयोग गरी जबर्जस्ती गरेको र आफूलाई पनि निर्धात कुटेको छ । यो कानूनी शासनको उपहास हो । ’

प्रहरीले वडा २० का ५ र वडा ११ का ३ गरी ८ जनालाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको छ । उता, शव उठाउन नेपाली सेनाको टोली दिउँसो २ पटकसम्म अस्पताल पुगेकोमा व्यवस्थापनको टुंगो नलाग्दा फर्किएको थियो ।

भारतबाट वालिङ फर्केका ती पुरुषलाई वालिङमा क्वारेन्टाइनमा राखिएकोमा स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्टै २२ जेठमा पोखरामा उपचारार्थ ल्याइएको थियो । सुरुवातमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–आइसोलेसन बार्डमा राखिएकोमा २५ जेठमा कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखिएकोमा आइतबार राति निधन भएको हो । उनको उपचारक्रममा कोरोना पुष्टि नहुञ्जेलसम्म आमा र छोरी पनि प्रत्यक्ष सम्पर्कमा थिए । मृत्यु भएका ती पुरुषमा किड्नी, मधुमेहलगायत रोगबाट ग्रसित थिए । गण्डकीमा कोरोनाबाट मृत्यु हुने पहिलो घटना हो ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम