राष्ट्रिय परिचयपत्रको सिस्टम खरिदमा कानुनी प्रश्न

फ्रान्ससँग अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम खरिदमा प्रक्रियादेखि मूल्यसम्ममा कैफियत

काठमाडौं । फ्रान्सको सरकारी स्वामित्वको संस्था इन ग्रुपबाट राष्ट्रिय परिचयपत्रका लागि आवश्यक अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम खरिद गर्ने सरकारी निर्णयमा प्रश्न उठेको छ ।
सरकारले जीटुजी मोडालिटीमार्फत खरिद गर्ने निर्णयमाथि महालेखापरीक्षकको कार्यालयले मात्र नभई कानुनी, प्रक्रियागत र सुशासनसम्बन्धी गम्भीर प्रश्न देखिएका छन् ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले कर फरफारक नगरको भन्दै प्रश्न उठाएको कम्पनीसँग खरिद प्रक्रिया अघि बढाइएको, प्रतिस्पर्धात्मक प्राविधिक तथा व्यावसायिक प्रस्ताव नमागिएको र प्रस्तावित मूल्यको औचित्य पुष्टि गर्ने स्वतन्त्र मूल्यांकन समेत सार्वजनिक नगरिएपछि सरकारको निर्णय र नियतमा प्रश्न उठेको हो ।

अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम भनेको व्यक्तिको जैविक विवरणहरू जस्तै औँठाछाप, अनुहार, आँखा वा हत्केलाको छापलाई कम्प्युटर प्रणालीमार्फत स्वचालित रूपमा संग्रह, भण्डारण, तुलना र पहिचान गर्ने प्रविधि हो । यसले कुनै व्यक्ति पहिले नै दर्ता भएको हो कि होइन? वा बायोमेट्रिक विवरण कसको हो? भन्ने जानकारी केही सेकेन्डमै पहिचान गर्न सक्छ । यति संवेदनशील प्रणाली खरिदमा प्रक्रियागत र कानुनी प्रश्न उठेको भन्दै गम्भीर छानबिन गर्न विज्ञहरूले सरोकारवाला निकायलाई सुझाव दिएका छन् ।

महालेखा परीक्षकको प्रतिवेदनमा नेपालमा कार्यरत आइडिमिडिया कम्पनीसँग सम्बन्धित कर दायित्व तथा करसम्बन्धी विषय उल्लेख छ । प्रतिवेदनले करसम्बन्धी प्रश्न उठाएको संस्थासँगै सम्बन्धित कम्पनीसँग सरकारले गर्न लागेको खरिदमा नैतिक प्रश्नसमेत उब्जिएको छ ।

खरिद सम्झौतामा पुग्नुअघि कम्पनीसँग प्राविधिक–व्यावसायिक प्रस्ताव मागेर मूल्य, प्रविधि, सञ्चालन क्षमता, दीर्घकालीन मर्मत सम्भार तथा समग्र आर्थिक लाभको तुलनात्मक मूल्यांकन समेत नगरिएको सरोकारवालाहरू बताउँछन् ।

सार्वजनिक खरिदमा प्रत्यक्ष सम्झौता गर्दा प्रस्तावित मूल्य अन्तर्राष्ट्रिय बजार, समान प्रकृतिका परियोजना तथा अन्य सम्भावित आपूर्तिकर्ताको मूल्यसँग तुलना गरी उचित रहेको पुष्टि गर्ने अभ्यास छ । तर इन ग्रुपसँग यस्तो कुनै प्रक्रिया पुरा नगरिएको सरकारी उच्च श्रोतको दाबी छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४१ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ ले विशेष अवस्थामा जिटुजी मोडालिटीमार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ भने नियमावलीको नियम ८५(५ख) ले विदेशी सरकारको स्वामित्वमा रहेको संस्थासँग प्रत्यक्ष खरिद गर्न सकिने आधार व्यवस्था गरेको छ । तर कानुनले प्रत्यक्ष खरिदको बाटो खोले पनि त्यसले प्रतिस्पर्धा, पारदर्शिता र मूल्यको औचित्य परीक्षण गर्नुपर्ने दायित्व भने नहटाउने कानुनविद्हरू बताउँछन् ।

कानुनले जिटुटी खरिद गर्न सकिने भने पनि कुन प्रक्रिया पूरा गरेर विदेशी सरकारी संस्था छनोट गर्ने, कुन स्तरको सरकारी समझदारी आवश्यक पर्ने, मूल्य परीक्षण कसरी गर्ने र निर्णय प्रक्रियाको अभिलेखीकरण कसरी गर्ने भन्ने विषयमा विस्तृत सञ्चालन निर्देशिका छैन ।

राहदानी विभागका अधिकारीहरूले भने जिटुजी मोडिलाटी सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार अघि बढाइएको बताउँछन् । इन ग्रुप कम्पनी फ्रान्स सरकारको स्वामित्वको संस्था भएकाले कानुनी प्रक्रिया पूरा गरेर नै खरिद प्रक्रिया अगाडि बढाइएको र सरकारले आवश्यक कानुनी परामर्शका आधारमा निर्णय गरेको उनीहरूको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह