६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँबराबरको एकमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।

बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो ।

केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत मात्र बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी २२ भदौसम्म हुनेछ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने छ ।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोलबाट कुल निष्काशित रकमभन्दा बढी रकमको माग भएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र उक्त बोलकबोलमा सहभागी हुन पाउनेछन् । बोलकबोलमा निक्षेपकर्ताले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ ।

स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी लिइने र सङ्कलित निक्षेपका लागि छुट्टै खाता खोली जम्मा गरिने केन्द्रीय बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिमा निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ । सो निक्षेप रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन । यद्यपि नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा गणना गर्न सकिनेछ ।

संकलित निक्षेप रकम भुक्तानी मितिअघि सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा प्रि–म्याच्योर भुक्तानी गर्न पाइने छैन ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

समुदायसँगै विपद् प्रतिकार्यका पहल