चौरासीमा पहिलाः नेतृत्वमा महिला

गुल्मी । ‘चौरासीमा पहिला : नेतृत्वमा महिला’ भन्ने मुल नाराका साथ गुल्मीमा अन्तरपुस्ता महिलावादी मञ्चको कोणसभा सम्पन्न भएको छ । सोमबार सदरमुकाम तम्घासमा सम्पन्न सभाले आगामी पालिका निर्वाचनलाई लक्षित गर्दै महिला नेतृत्वकेन्द्रित कोणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्ने महिलाहरुले महिला अधिकार, महिला शसक्तिकरण, राजनीतिक दल र सरकारमा महिलाले कम अवसर पाउने जस्ता बिषयमा धारणा राखेका थिए । सत्यवती गाउँपालिकाकी उपाध्यक्ष निरु मगरले आगामी निर्वाचनका लागि महिलाहरुले आजैबाट घरदैलो एवं जनसम्पर्क बढाउनुपर्ने धारणा राखिन् । काँग्रेस नेतृ लक्ष्मी पाण्डेले ०७९ सालको निर्वाचनमा थुप्रै महिलाहरु वडाध्यक्षको लागि इच्छ्या राखेपनि पार्टीबाट वञ्चित भएको बताइन् ।

उनले आफ्नो पनि पार्टीमा सहमतिभित्र पनि थुप्रै असहमति रहेको बताइन् । नेकपा नेतृ विनिता रोका पोखरेलले गणतन्त्र प्राप्तीको लागि महिलाहरुले महत्वपूर्ण भूमिका खेलेपनि नेतृत्वदायी भूमिकामा भने पछाडी परेको उल्लेख गरिन् । कालिगण्डकी गाउँपालिका उपाध्यक्ष मञ्जु कुमारी दर्लामीले महिलाहरुले पुरुषलाई दोष दिन भन्दा आफु नै सक्षम हुन आग्रह गरिन् ।

पत्रकार महासंघका पूर्व अध्यक्ष टोपलाल अर्यालले महिलाहरुलाई दलिय गुटभन्दा माथि उठ्न आग्रह गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी पूर्व सासंद दिलशोभा पुनले आगामी निर्वाचनमा उठ्ने योजना भए अहिलेबाट नै तयारीमा लाग्नुपर्ने धारणा राखिन् ।

आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै अन्तरपुस्ता महिलावादी मञ्चले देशव्यापी रुपमा पाँच बर्षे ‘अनुपम अभियान’ संचालन गरिरहेको छ । वि.स. २०७६ सालमा स्थापना भएको यो महिला मञ्च एक अनौपचारिक, साझा, स्वयम्सेवी र स्वतन्त्र महिलाहरुको संजाल हो ।

यसमा हाल ७७ वटै जिल्लाका हजारौं महिलाहरु आवद्ध छन् । गुल्मीमा महिलाहरुले ‘८४ मा पहिला, नेतृत्वमा महिला’, ‘पार्टी हामी जान्दैनौ, महिलाबाहेक छान्दैनौ’ जस्ता नारा लगाएको महिला नेतृ गीता थापाले जानकारी दिइन् ।

समग्र महिलाहरुको क्षमता विकास गरी उनीहरुलाई आगामी स्थानीय तहको निर्वाचनमा अधिकतम सहभागि गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थापाले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित, अर्काे बैठक १ भदौमा