काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले पर्यटन व्यवसायीका समस्या र क्षेत्रगत एजेण्डालाई प्राथमिकतामा राख्न थालेका छन् ।
नाट्टाको आगामी नेतृत्वका लागि अध्यक्ष पदकी प्रत्याशी युबिका भण्डारी नेतृत्वको समूहले बुधबार पर्यटनलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा विकास गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
भण्डारी नेतृत्वको समूहले गौतम बुद्ध, नेपाली वेलनेस पर्यटन र पोखरालाई अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन पहिचानका रूपमा स्थापित गर्ने एजेण्डा अघि सारेको छ । ‘पर्यटन उठे नेपाल उठ्छ’ भन्ने नारासहित चुनावी मैदानमा रहेको समूहले संस्थागत नेतृत्व परिवर्तनभन्दा पर्यटन व्यवसायीले भोगिरहेका नीतिगत, कर, हवाई टिकटिङ, प्रविधि, बजार तथा वित्तीय समस्या समाधानलाई अभियानको केन्द्रमा राखेको जनाएको छ ।
नाट्टाको ५९औं वार्षिक साधारणसभा तथा २५औं कार्यसमिति निर्वाचन २९ साउनमा हुँदैछ । निर्वाचनमा भण्डारीसहित जिस्वाँ तुलाधर श्रेष्ठ र भरतजंग पाण्डेको नेतृत्वमा तीन प्यानल प्रतिस्पर्धामा छन् ।
भण्डारी समूहले पर्यटनलाई केवल व्यवसायका रूपमा नभई रोजगारी, विदेशी मुद्रा आर्जन, कृषि, यातायात, संस्कृति, सम्पदा र नेपालको अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा विकास गर्नुपर्ने धारणा अघि सारेको छ ।
ट्राभल व्यवसायीले लामो समयदेखि उठाउँदै आएका ‘भोइड चार्ज’ र ‘ननरिफन्डेबल टिकट’ लगायतका समस्या समाधानका लागि सम्बन्धित निकाय तथा एयरलाइन्ससँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता समूहले जनाएको छ ।
आइएटीएमा बैंक ग्यारेन्टी राखेर अन्तर्राष्ट्रिय हवाई टिकटिङ कारोबार गर्ने नेपाली ट्राभल एजेन्सीलाई अन्तर्राष्ट्रिय एयरलाइन्सबाट अनिवार्य ‘क्यापिङ’ सुविधा उपलब्ध गराउने वातावरण निर्माण गर्ने प्रस्तावसमेत समूहले अघि सारेको छ ।
पर्यटनमार्फत विदेशी मुद्रा भित्र्याउने व्यवसायी तथा कम्पनीलाई प्रोत्साहनस्वरूप निश्चित प्रतिशत ‘रिबेट’ उपलब्ध गराउने नीतिगत व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि भण्डारी समूहको छ ।
कर तथा वित्तीय दायित्वका कारण पर्यटन व्यवसायमा देखिने समस्या समाधानका लागि नाट्टाभित्रै ‘लिगल एन्ड फाइनान्सियल डेस्क’ स्थापना गर्ने योजना समूहले अघि सारेको छ । डेस्कमार्फत सदस्य व्यवसायीलाई कानुनी तथा वित्तीय समस्यामा परामर्श, सहजीकरण र सहयोग उपलब्ध गराउने बताइएको छ ।
त्यस्तै पर्यटन व्यवसायी, विज्ञ, सरकारी अधिकारी, नीति निर्माता तथा अन्तर्राष्ट्रिय अनुभव भएका व्यक्तिलाई एउटै मञ्चमा ल्याएर नियमित अन्तरसम्वाद गर्ने योजना पनि समूहले सार्वजनिक गरेको छ ।
भण्डारी समूहले परम्परागत पर्यटन उत्पादनमा मात्र निर्भर नरही नयाँ बजार र पर्यटन उत्पादन विकास गर्नुपर्नेमा जोड दिएको छ । नेपालको प्रकृति, आयुर्वेद, योग, ध्यान, आध्यात्मिकता तथा परम्परागत उपचार प्रणालीलाई जोडेर ‘वेलनेस टुरिजम’ विस्तारको सम्भाव्यता अध्ययन गर्ने उसको एजेण्डा छ ।
हिमाल, पदयात्रा र धार्मिक पर्यटनसँगै स्वास्थ्य तथा आरोग्य पर्यटनलाई नयाँ उत्पादनका रूपमा विकास गर्नुपर्ने भण्डारीको भनाइ छ ।
समूहले पर्यटन प्रवद्र्धनलाई नेपालको कूटनीतिक संयन्त्रसँग समेत जोड्ने प्रस्ताव गरेको छ । विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगसँग सहकार्य गरी अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा विदेशी ट्राभल ब्लगर, सञ्चारकर्मी र पर्यटन क्षेत्रका प्रभावशाली व्यक्तिलाई नेपाल भ्रमण गराएर गन्तव्य प्रचार गर्ने योजना अघि सारिएको छ ।
भण्डारी समूहको बरिष्ठ उपाध्यक्षमा बरुण मेहता, उपाध्यक्ष ढकनाथ काफ्ले, महासचिव कृष्णप्रसाद ढकाल, सचिव श्रद्धा जोशी, कोषाध्यक्ष रमा कुमारी प्याकुरेल र सहकोषाध्यक्ष विदुर प्रसाद खतिवडा रहेका छन् ।
यस्तै कार्यसमिति सदस्यमा प्रदीप प्रसाद उदय, विभाष पौडेल, श्रीराम थापा, संकेत दाहाल, स्मारिका थापा, होम बहादुर परियार, डा.उमेश गुप्ता र राजेन्द्रप्रसाद त्रिपाठी उम्मेदवार रहेका छन् ।
सम्बन्धित समाचार
आज सुनको भाउ घट्दा चाँदीको भने वृद्धि
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो, चाँदी पनि बढ्यो
६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
पाइपलाइनबाट डिजेल, पेट्रोल आउन थालेपछि चोरीको निसाना ‘हवाइ इन्धन’
एक करोड ९४ लाख राजस्व सङ्कलन
सुन तोलामै ६ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?
ग्लोबल आइएमई बैंकको नाइमा अफर






