काठमाडौं । भारतको विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीले नेपाली बजारमा प्रवेश गरेको छ । कम्पनीले नेपालको आधिकारिक वितरक विशाल ग्रुपसँगको सहकार्यमा काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा एक्स्पो २०२६’ मा विद्युतीय स्कुटर ‘इन्डी’ सार्वजनिक गरेको हो ।
नाइमा एक्स्पोअन्तर्गत हल बीको स्टल एल ३ एमा इन्डी स्कुटर प्रदर्शनमा राखिएको छ । इच्छुक ग्राहकले एक्स्पोस्थलबाटै स्कुटरको प्रि–बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । ६ दिनसम्म चल्ने एक्स्पो ३१ साउनसम्म सञ्चालन हुनेछ ।
नेपालमा बिक्री तथा बिक्रीपछिको सेवाका लागि विशाल ग्रुपसँग साझेदारी गरिएको रिभरले जनाएको छ । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय विशाल ग्रुपको देशका विभिन्न सहरमा रहेको वितरण तथा सेवा सञ्जाललाई आधार बनाएर रिभरले बजार विस्तार गर्ने भएको हो ।
रिभर मोबिलिटीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अरविन्द मणिले नेपाली बजारमा इन्डी सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । विशाल ग्रुपको वितरण सञ्जाल र अटोमोबाइल क्षेत्रमा रहेको अनुभवले नेपालमा बजार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । सन् २०२३ मा सार्वजनिक गरिएको इन्डीलाई दैनिक प्रयोग, उपयोगिता र टिकाउपनलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ । नेपालमा सार्वजनिक गर्नुअघि स्कुटरको काठमाडौंका विभिन्न उकालो तथा कठिन सडकमा परीक्षणसमेत गरिएको कम्पनीको दाबी छ ।
इन्डीमा ४ किलोवाटको ब्याट्री प्याक छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा आईडीसी प्रमाणित १६० किलोमिटरसम्म यात्रा गर्न सक्छ । स्कुटरको अधिकतम गति प्रतिघण्टा ९० किलोमिटर रहेको छ भने १८ डिग्रीसम्मको उकालो पार गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
नेपाली सडकको अवस्थालाई लक्षित गर्दै स्कुटरमा १७७ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र १४ इन्चका चक्का राखिएका छन् । यसमा ५५ लिटरसम्मको स्टोरेज क्षमता छ । त्यसमध्ये सिटमुनि ४३ लिटर र अगाडि १२ लिटरको ग्लोभबक्स रहेको कम्पनीले जनाएको छ ।
इन्डीमा इको, राइड र रश गरी तीनवटा ड्राइभिङ मोड छन् । भारी सामान बोक्न प्यानियर माउन्ट्स तथा अतिरिक्त सुविधाका लागि फ्रन्ट राइडर फुटपेग्ससमेत उपलब्ध छन् । कम्पनीले स्कुटरमा आठ वर्षसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ ।
इन्डी विन्टर ह्वाइट, स्टोर्म ग्रे, मनसुन ब्लू, समर रेड र स्प्रिङ येलो गरी पाँच रङमा उपलब्ध हुनेछ । रिभर मोबिलिटी सन् २०२१ मा स्थापना भएको बेङ्गलोरमा आधारित विद्युतीय सवारीसाधन निर्माता कम्पनी हो । कम्पनीमा जापानको यामाहा मोटर कर्पोरेसनसहित विभिन्न अन्तर्राष्ट्रिय तथा भारतीय लगानीकर्ताको लगानी रहेको छ । कम्पनीले विशाल ग्रुपको वितरण सञ्जालमार्फत इन्डीको बिक्री तथा बिक्रीपछिको सेवा अघि बढाउने भएको छ ।
सम्बन्धित समाचार
झापामा ३७८ जनाले पाए आमाको नामबाट नागरिकता
जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन
सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह
अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन
ब्रड पिकमा भेटियो तीनवटा ट्र्याकिङ उपकरण
गर्मी बढेपछि बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
विद्युत् आपूर्ति नियमित गर्न आग्रह
प्रमुख प्रतिपक्षी नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता






