कोरोना नियन्त्रण प्रभावकारी नभएको भन्दै पोखरामा आन्दोलन

पोखरा । कोरोना नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै सोप्रति जिम्मेवार बनाउन पोखरामा युवाले बिहीबार विरोध प्रदर्शन गरेका छन् ।

पोखराको राष्ट्र बैंकचोकदेखि शहीदचोकसम्म लहरै रहेका उनीहरुले जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिएका हुन् । ५ घेरा बनाएर उनीहरुले विभिन्न नाराअंकित प्लेकार्डसहित मौन र शान्तिपूर्ण धर्ना दिएका हुन् ।

स्वतन्त्र पोखरेली युवाहरुको नाममा स्वतःस्फूर्त सहभागी युवाले ‘असुरक्षित क्वारेन्टाइन बन्द गर’, ‘प्रभावकारी स्वास्थ्यउपचारमा प्रत्येक नागरिकको अधिकार हो’, ‘हेलो–हेलो सरकारले आवाज सुन्दैन’, ओलीको चमत्कार, हत्या हिंसा बलात्कार, सत्प्रतिशत पीसीआर लागू गर, कर तिर्न सक्दैनौं लगायत नाराअंकित प्लेकार्ड बोकेका थिए ।

कार्यक्रम संयोजक सलैजा श्रेष्ठले संविधानमा सबै नागरिकको समान अधिकार भनिए सरकारले स्वास्थ्य उपचारमा विभेद गरेको आरोप लगाइन् । उनले आरडीटी र पीसीआर चेकजाँचमा नागरिकलाई विभेद गर्न नहुने भन्दै सचेत गराइन् । देशका विभिन्न ठाउँमा क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो बरोबर सुनिएको भन्दै सरकारले नसके आफूहरुले निःशुल्क रुपमा सेवा दिन तयार रहेको बताइन् ।

कोभिड–१९ का कारण सामाजिक दूरी कायम गर्दै धर्नामा करिब २ हजार जना युवाले सहभागिता जनाएका थिए । धर्नापछि नाराबाजी गरेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो । प्रदर्शनका क्रममा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका विमलबहादुर पहारी र प्रेमबहादुर केसीले आफूमाथि ढुंगा प्रहार गरेकाले पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आयोजक समिति सदस्य मोनिका रानाभाटले सो घटनाको विरोध गरेकी छिन् । उनले मापदण्डविपरीत कार्य गर्ने ती दलका कार्यकर्ताहरुसँग आयोजकको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छन् । उनले आफ्नो आन्दोलनमा दलका मानिसहरुको घूसपैठ भएको आरोप लगाएकी छन् ।

आन्दोलनका सहभागी शतिस खरेलले आफूहरु स्वतःस्फूर्त रुपमा आन्दोलनमा आएको बताए । उनले सरकारलाई कोभिड–१९ को नियन्त्रणको कार्यमा थप जिम्मेवार बनाउन सडकमा आउनुपरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

संवेदनशील र निषेधित क्षेत्रमा उडान भर्न पूर्वअनुमति नचाहिन