सांसद प्रकाशबहादुर देउवा पदमुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् । देउवा सुदूरपश्चिम प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री पनि हुन् । प्रदेशसभा बैठकमा बिना सूचना लगातार १० भन्दा बढी पटक अनुपस्थित भएपछि पदमुक्त गरिएको हो ।

११ महिनामा ७ लाख ५३ हजार भुक्तानी

देउवा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका भतिजा हुन् । उनी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि देउवा पदमुक्त भएका हुन् । सभामुखले यस’bout आज बुधवार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा जानकारी गराउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

देउवा गत वर्ष भदौमा भएको जेन्जी आन्दोलनपछि २८ भदौमा व्यक्तिगत कामका लागि अमेरिका गएका थिए । त्यस क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अमेरिकामै बसेका उनी ११ महिना बितिसक्दा पनि नेपाल फर्किएका छैनन् । छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए ।

सभामुखलाई सम्बोधन गरिएको पत्रमा उनले स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता जनाएका थिए । तर पत्र पठाएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन् । उनको उपचारको अवस्था र नेपाल फर्किने मिति’bout नेपाली कांग्रेसका नेताहरूलाई समेत स्पष्ट जानकारी नरहेको बताएका छन् ।

नेपालको संविधानको धारा १८० को (घ) मा सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । यही संवैधानिक व्यवस्थाअनुसार देउवाको पद रिक्त भएको सभामुख भीमबहादुर भण्डारीले बताए । सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० मा पनि यससम्बन्धी व्यवस्था रहेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनमा २५ वटा बैठक बसेकामा देउवा आठ दिन मात्रै उपस्थित भएका थिए । त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उनी उपस्थित भएनन् । पछिल्ला २७ वटा बैठकमा उनको हाजिरीसमेत नरहेको सचिवालयको अभिलेखमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म १२८ वटा बैठक बसेका छन् । तीमध्ये देउवा ६० वटा बैठकमा मात्रै उपस्थित सचिवालयले जनाएको छ ।

अमेरिकामा रहेका देउवाको खातामा प्रदेशसभा सचिवालयले पद कायम रहेसम्म सेवा–सुविधाबापतको रकम नियमित पठाउँदै आएको थियो । सचिवालयका अनुसार ११ महिनामा मात्रै देउवाले ७ लाख ५३ हजार ५ सय रुपैयाँ सेवा–सुविधाबापत बुझेका छन् । मासिक पारिश्रमिक, धारा–बिजुली, सञ्चार र अतिथि सत्कारलगायत शीर्षकमा उनको खातामा रकम जम्मा हुँदै आएको थियो ।

सचिवालयले मासिक रूपमा पारिश्रमिकबापत ५६ हजार ५ सय, धारा–बिजुलीबापत २ हजार, सञ्चार सुविधाबापत ३ हजार र अतिथि सत्कारबापत ७ हजार रुपैयाँ गरी कुल ६८ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको जनाएको छ । यसैगरी गत जेठमा निजी आवास मर्मत शीर्षकमा थप ३५ हजार रुपैयाँसमेत उनको खातामा पठाइएको थियो ।

यसअघि माघमा देउवा नेपालमा नरहेको भन्दै सचिवालयले उनको सेवा–सुविधा रोक्का गरेको थियो । तर कानुनअनुसार प्रदेशसभा सदस्य पद कायम रहेसम्म सेवा–सुविधा रोक्न नमिल्ने भएपछि जेठमा चार महिनाको रकम एकमुस्ट भुक्तानी गरिएको सचिवालयले जनाएको छ । लामो समयदेखि आफ्नो निर्वाचित प्रतिनिधि सम्पर्कविहीन रहेको भन्दै उनको निर्वाचन क्षेत्रका मतदाताले समेत असन्तुष्टि जनाउँदै आएका थिए ।

प्रदेशसभा बैठकमा लामो समयदेखि अनुपस्थित रहेका सांसदले राज्यबाट नियमित सेवा–सुविधा पाइरहेको विषय एकातिर थियो भने अर्कोतर्फ उनी कहिले नेपाल फर्किन्छन् भन्ने प्रश्न अनुत्तरित थियो । अब भने लगातार १० बैठकमा अनुपस्थित रहेको संवैधानिक व्यवस्थाअनुसार उनको प्रदेशसभा सदस्य पद नै रिक्त भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीचको वार्ता औपचारिकरुपमा सुरु