इरानका साझेदारलाई ट्रम्पले दिए गम्भीर चेतावनी, नयाँ आर्थिक दबाब बढाइँदै

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार गर्ने कुनै पनि देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै तेहरानलक्षित नयाँ आर्थिक दबाब अभियान घोषणा गरेका छन् । युद्ध छैटौँ महिनातर्फ अघि बढिरहेका बेला र हर्मुजको महत्वपूर्ण जलघाँटीबाट हुने आवागमन अझै प्रभावित भइरहेका बेला उनको घोषणाले इरानमाथिको आर्थिक दबाब थप बढाउने संकेत गरेको छ ।

ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत कुनै पनि देशले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायलाई इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउन दिएमा ती देशले कडा आर्थिक परिणाम भोग्नुपर्ने बताएका हुन् ।

उनले आफ्नो कदमलाई अहिलेसम्मकै ठूलो आर्थिक अभियानका रूपमा प्रस्तुत गर्दै अभूतपूर्व स्तरमा आर्थिक युद्ध र इरानको अलगाव अघि बढाउने घोषणा गरेका छन् । यद्यपि, इरानबाहेक कुन देश वा संस्थामाथि कस्तो कारबाही गरिनेछ भन्ने उनले स्पष्ट पारेका छैनन् ।
ट्रम्पले तेल तस्करी, स्वाप लाइन, नगद स्थानान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा इरानले प्रयोग गर्ने अगाडिका कम्पनीलगायत गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि गत साता अमेरिकी नौसेनाको नाकाबन्दीसँगै इरानलाई आर्थिक रूपमा अलग्याउने अभियान तीव्र पारिने बताएका थिए । उनले यसलाई विश्वले यसअघि कहिल्यै नदेखेको स्तरको आर्थिक अलगावको प्रयासका रूपमा व्याख्या गरेका थिए ।

अमेरिकी अर्थ मन्त्रालयले केही महिनादेखि ‘अपरेसन इकोनोमिक फ्युरी’ नामक अभियान सञ्चालन गर्दै लक्षित प्रतिबन्धमार्फत इरानको आर्थिक स्रोत सीमित गर्ने प्रयास गरिरहेको छ ।

यसैबीच, अमेरिकी सैन्य कारबाहीको महिनौँ सामना गरेपछि इरानले पनि कडा प्रतिक्रिया जनाउँदै आएको छ । अमेरिकी सञ्चारमाध्यमले युद्धका कारण अमेरिकी हतियार भण्डारमा उल्लेखनीय कमी आएको दाबी गरे पनि पेन्टागनले त्यसलाई अस्वीकार गरेको छ ।

द्वन्द्व २२ फेब्रुअरीमा इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको थियो । त्यसको जवाफमा इरानले क्षेत्रका विभिन्न स्थानमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । इरानी क्षेप्यास्त्र तथा ड्रोनको जोखिमका कारण हर्मुज जलघाँटी हुँदै हुने ढुवानीमा ठूलो कमी आएको थियो । जलघाँटी पुनः खोल्न अमेरिका र इरानबीच भएको सम्झौताको प्रयाससमेत असफल भएको छ ।

यद्यपि, ट्रम्पले बुधबार हर्मुज हुँदै जहाज सञ्चालनमा सहयोग गर्न अमेरिकी सेनाले गरिरहेको प्रयासको बचाउ गर्दै अहिले धेरै जहाज आवतजावत गरिरहेको बताएका थिए । डिजिटल सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकी सेनाले पछिल्ला साताहरूमा दैनिक करिब १५ देखि २० वटा जहाजलाई हर्मुजभित्र र बाहिर आवतजावत गर्न सहज बनाइरहेको छ । ती जहाजले युद्धअघिको तुलनामा करिब आधा परिमाणमा तेल ढुवानी गरिरहेको जनाइएको छ ।

अमेरिका र इरानबीच पछिल्ला दिनमा सन्देश आदानप्रदान भइरहेको बताइए पनि ट्रम्पले मंगलबार वार्ता रोकिएको दाबी गरेका थिए । उनले सामाजिक सञ्जालमा हर्मुज जलघाँटीलाई अमेरिकाको नयाँ क्षेत्रका रूपमा स्थापित गर्न सकिने संकेतसमेत गरेका थिए ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई) ले मंगलबार इरानमाथि दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै तेहरानसँगका सबै आर्थिक सम्झौता स्थगित गर्ने घोषणा गरेको थियो । युएई र इरानबीच गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहे पनि युद्धअघि युएई अमेरिकी प्रतिबन्धमा रहेको इरानको प्रमुख व्यापारिक साझेदारमध्ये एक थियो । युएईमा ठूलो इरानी समुदायसमेत बसोबास गर्दै आएको छ ।

ट्रम्पले इरानको खतरा अलग्याउन र पराजित गर्न अमेरिकाका सबै सहयोगीले अमेरिकाको साथ दिनुपर्ने बताएका छन् । उनको पछिल्लो घोषणाले इरानमाथि मात्र नभई उससँग आर्थिक कारोबार गर्ने देशहरूमाथि समेत अमेरिकी दबाब बढ्ने संकेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल