सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा ४६ जना प्रदेश सांसद सहभागी रहेकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको छ ।

बजेट पुनर्लेखन गर्ने, एक महिनाभित्र पारित गर्ने

प्रदेशसभामा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा¬) का २० र नेकपा (एमाले) का ११ जना प्रदेशसभा सदस्यले पक्षमा मत दिएका छन् । नेपाली कांग्रेस १४ र राप्रपाका एक सांसदले विपक्षमा मतदान गरेका छन् । कांग्रेसका तीन सांसद भने बैठकमा सहभागी थिएनन् ।

नेकपा संसदीय दलका नेता भट्ट शुक्रबार सुदूरपश्चिमको पाँचौ मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमति भएपछि अल्पमतमा परेका कांग्रेसका कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सरकारले बजेट पुनर्लेखन गर्ने, एक महिनाभित्र पारित गर्ने
चालु आर्थिक वर्ष २०८३÷८४ को एक महिनादेखि बजेट शुन्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले बजेट पुनर्लेखन गर्ने भएको छ । प्रदेशसभामा विचाराधीन अवस्थामा रहेको बजेटलाई पुनर्लेखन गरेर पारित गर्ने सरकारको तयारी छ ।

मुख्यमन्त्री भट्टले बुधबार प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा बजेट पुनर्लेखन गर्ने जानकारी दिएका हुन् । उनले बजेट पुनर्लेखनका लागि केही चाडपर्वका दिनबाहेक अन्य बिदाका दिनमा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय खुला राखेर काम अघि बढाइने बताए ।

मुख्यमन्त्री भट्टले जनअपेक्षाअनुसार बजेट पुनर्लेखन गरी पारित गर्नुपर्नेमा जोड दिए । बजेट कार्यान्वयन गर्नुपर्ने समय एक महिना मात्रै बाँकी रहेकाले पुनर्लेखन, पारित र कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो ।

‘बजेट पुनर्लेखन गरेर पारित गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने चाप छ,’ मुख्यमन्त्री भट्टले भने ।

उनले आफ्नो नेतृत्वको सरकारले विकासलाई कुनै निश्चित क्षेत्र वा सहरमा मात्र केन्द्रित नगरी प्रदेशका पहाड, हिमाल र तराईलाई सन्तुलित, समानुपातिक र समावेशी ढंगले अघि बढाउने बताए । भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, आर्थिक, सामाजिक तथा मानव विकासलाई पनि प्राथमिकतामा राखेर बजेट पुनर्लेखन गरिने उनले स्पष्ट पारे ।

‘शिक्षा, स्वास्थ्य र विकासको लहर ल्याउँदै सुदूरपश्चिमको मुहार फेर्ने संकल्प गर्दछौँ,’ उनले भने, ‘राज्यको स्रोत र साधन परिचालन गर्ने कुरा सुसंगत प्रणालीअन्तर्गत हुनुपर्छ ।’

मुख्यमन्त्री भट्टले अघिल्लो सरकारले ल्याएको बजेटमा केही राम्रा कार्यक्रम रहेकाले तिनलाई पुनर्लेखनमार्फत समेटिने बताए । बजेट पूर्ण रूपमा नयाँ नहुने भन्दै उनले आवश्यक सुधारसहित अघि बढाउने स्पष्ट पारे ।

‘तपाईंहरूले ल्याउनुभएको छ, त्यो पास हुन सकेको छैन,’ नेपाली कांग्रेसतर्फ संकेत गर्दै उनले भने, ‘त्यसलाई हामीले पुनर्लेखन गर्ने भनेका छौँ । त्यो भनेको पूरै नयाँ लेख्ने होइन । त्यसभित्र जे–जति खराब चिजहरू छन्, हामी छलफल गरेर निष्कर्ष निकाल्छौँ र सुधार गर्छौँ । त्यसभित्रका राम्रा कुराहरूलाई पुनर्लेखनको अंग बनाउन हामीलाई कुनै आपत्ति छैन ।’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा निवर्तमान आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आफूले विनियोजन गरेको बजेट कटौती हुने चिन्ता व्यक्त गरेका थिए । त्यसको जवाफ दिँदै मुख्यमन्त्री भट्टले सरकारले सबै क्षेत्रलाई समेटेर बजेट पुनर्लेखन गर्ने बताए ।

उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा समेत समान दृष्टिकोण अपनाइने उल्लेख गरे । ‘भुम्केनी धामलाई जसरी माया गरिएको छ, त्यसैगरी जगन्नाथ धाम, परशुराम धाम, मालिकार्जुन धामलाई पनि उत्तिकै माया गर्नुपर्छ,’ उनले भने, ‘हामीले कुनै एक ठाउँलाई मात्रै नभई सबै क्षेत्रलाई समेट्ने गरी बजेट पुनर्लेखन गर्नेछौँ ।’

मुख्यमन्त्री भट्टले बडिमालिका, शैलेश्वरी, मालिकार्जुन, निङ्लाशैनीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पनि प्राथमिकतामा राखिने संकेत गरेका छन् ।

सरकारले बजेट पुनर्लेखन गरेर प्रदेशसभाबाट पारित गराएपछि बाँकी रहेको अवधिमा कार्यान्वयनलाई समेत तीव्रता दिने तयारी गरेको छ । बजेट पारित हुन नसक्दा लामो समयदेखि प्रभावित बनेका प्रदेश सरकारका योजना तथा कार्यक्रमलाई गति दिने सरकारको लक्ष्य छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत