सालपा पोखरी मेलामा कुटपिटवाट शिक्षकको हत्या, ११ जना पक्राउ

कुटपिट गरी हत्या गरिएका केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राई ।

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँका ११ जनालाई नियन्त्रणमा लिएको छ ।

धार्मिक तथा पर्यटकीय स्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति भएको विवादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार शिक्षक राईको ज्यान जाने गरी भएको कुटपिटमा सुङ्देलकै ११ जना व्यक्ति संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार घटनास्थलसम्म पैदल जानुपर्ने र त्यहाँ टेलिफोन नेटवर्क समेत काम नगर्ने भएकाले थप विवरण आउन बाँकी छ । प्रारम्भिक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट प्रहरी टोली फर्किएपछि थप कुरा खुल्ने प्रहरीको भनाई छ । पक्राउ परेका आरोपितसहित प्रहरी टोली शनिबार बेलुकासम्म जिल्ला प्रहरी कार्यालय भोजपुर आइपुग्ने प्रहरीले जनाएको छ ।

राहत कोटाअन्तर्गत निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राईको हत्या आरोपमा नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । हत्या सामूहिक कुटपिटबाट भएकाले दोषी कोही पनि उम्कन नदिने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार ऋषितर्पणी पूर्णिमादेखि लगातार तीन दिन विद्यालय बिदा हुँदा संखुुवासभा गएर फर्कने भन्दै शिक्षक राई बिहीबार गाउँबाट हिँडेका थिए ।

उनी संखुवासभाबाट फर्किँदा सालपा पोखरी पुगी बिहीबार राति गाउँलेहरूसँगै बसेका थिए । प्रत्यक्षदर्शीका अनुसार सालपा पोखरी नजिकै आयोजित धार्मिक मेला भर्ने क्रममा बिहीबार दिउँसो शिक्षक राईको सुङ्देलकै माइकल नामले चिनिने निशान राईसँग विवाद भएको थियो । दिउँसोकै विवादपछि राति योजनाबद्ध तरिकाले गाउँलेले उठाएर कुटपिट गरी हत्या गरेको मृतकका आफन्तको आरोप छ ।

घटना भएको क्षेत्र भोजपुर जिल्लाभित्र पर्ने भएकाले अनुसन्धान तथा कारबाहीको सम्पूर्ण प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले नै गर्ने कानूनी व्यवस्था रहेको र आवश्यक परे खोटाङबाट थप सहयोग पुर्याइने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

शिक्षामा बजेटको समानुपातिक र आवश्यकतामा आधारित वितरण आवश्यक : मुख्यमन्त्री भट्ट