एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. हेम राज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो।

गैरआवासीय नेपाली संघका पदाधिकारी तथा अभियन्ताहरू र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट संकलित रकममध्ये संघले पहिलो चरणमा रु. १ करोड प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको हो।

राहत, पुनर्स्थापना र पुनर्निर्माणमा एनआरएनएसँग सहकार्य गर्छौं : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले बाढी तथा डुबानबाट भएको ठूलो क्षतिको पुनर्स्थापना र पुनर्निर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भएकाले एनआरएनए सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

विपद्को कठिन घडीमा एनआरएनएले प्रभावित स्थानमै पुगेर प्रत्यक्ष रुपमा गरेको राहत वितरण सहित रु. ५ करोड सहयोग गर्ने भनी गरेको प्रतिबद्धताप्रति सरकारका तर्फबाट धन्यवाद दिँदै उहाँले राहत, पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनएसँग सहकार्य र समन्वय गरिने बताएका हुन् ।

उनले हालको विपद् सामान्य बाढीभन्दा फरक र अत्यन्त ठूलो प्रकृतिको रहेको बताउँदै रसुवा र नुवाकोटका धेरै बस्तीमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको उल्लेख गरे ।

उनले सरकारले अघि सारेको एकद्वार प्रणाली लागू गरेता पनि एनआरएनएले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत वितरण गर्न सक्ने र त्यसको पूर्व तथा पश्चात् आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने उनले बताए ।

विदेशमा रहेका नेपालीसँग विभिन्न क्षेत्रमा रहेको सीप, अनुभव र विशेषज्ञतालाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा उपयोग गर्न एनआरएनसँग समन्वय गर्ने उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना