दुर्गममा स्वास्थ्य सेवा दिनु आफैंमा चुनौतीपूर्ण काम हो । सीमित स्रोतसाधन, कठिन भूगोल र विशेषज्ञ जनशक्तिको अभावबीच स्वास्थ्यकर्मीले बिरामीको उपचार मात्रै होइन, अस्पताल व्यवस्थापनको जिम्मेवारीसमेत सम्हाल्नुपर्छ। तर, यही चुनौतीलाई अवसरका रूपमा लिएर खिजीदेम्बा आधारभूत अस्पतालमा सेवा दिइरहनुभएको छ मेडिकल डा. समिर श्रीवास्तव ।
बंगलादेशबाट एमबीबीएस अध्ययन पूरा गरेका डा. श्रीवास्तवले आफ्नो चिकित्सकीय यात्राको सुरुवात पनि बंगलादेशबाटै गरेका थिए । केही समय त्यहीँ सेवा गरेपछि नेपाल फर्किए । नेपाल आएपछि ललितपुरको गोदावरी नगरपालिकामा स्वास्थ्य सेवा दिएका उनी त्यसपछि ओखलढुंगाको खिजीदेम्बा आधारभूत अस्पताल पुगे ।
खिजीदेम्बा आउने निर्णय भने उनका लागि सहज थिएन। दुर्गम भूगोल र कठिन सडक’bout सुनेपछि बाटोबाटै फर्किने अवस्थासमेत आएको उनी बताउँछन्। तर, अन्ततः त्यही दुर्गम ठाउँमा पुगेर सेवा गर्ने निर्णय गरे । अहिले करिब १० महिनादेखि उनी खिजीदेम्बामा बिरामीको उपचारसँगै अस्पतालको सेवा र व्यवस्थापन सुधारमा सक्रिय छन् । सेवा राम्रो भएकैले नजिकको जिल्ला रामेछापका पालिका देखि समेत बिरामी बोकेर सेवा लिन यहाँ आउने गर्दछन् ।
अस्पतालको सरसफाइ र व्यवस्थापनदेखि औषधिको उपलब्धता, सेवा विस्तार र बिरामीको अपेक्षाअनुसार स्वास्थ्य सेवा प्रवाहसम्मका काममा केन्द्रित हुनुहुन्छ । दुर्गममा चिकित्सकका रूपमा काम गर्दाको अनुभव, चुनौती र सम्भावना’bout राजधानीकर्मी जितेन्द्र थापाले खिजीदेम्बा गाउँपालिका-५ खिजीफँलाटे स्थित खिदेम्बा आधारभूत अस्पतालमा कार्यरत मेडिकल अधिकृत (कार्यालय प्रमुख) डा. श्रीवास्तवसँग गरिएको कुराकानीको सम्पादित अंश :
खिजीदेम्बा आधारभूत अस्पतालमा तपाईं आउनुभन्दा पहिलेको अवस्था कस्तो थियो ? तपाईं आएपछि अस्पतालको मुहारमा के–कस्तो परिवर्तन आएको छ ?
धन्यवाद । म यहाँ आएको करिब १० महिना हुन लाग्यो । अस्पताल पहिलेदेखि नै सञ्चालनमा थियो र चलायमान पनि थियो। मभन्दा अगाडि काम गर्नुभएका डाक्टर तथा स्वास्थ्यकर्मीहरूले आफ्नो क्षमताअनुसार काम गर्नुभएको थियो ।
तर समयअनुसार सेवा–सुविधामा पनि परिवर्तन आवश्यक हुन्छ । अहिलेको आवश्यकता र सेवाग्राहीको अपेक्षाअनुसार अझै के सेवा थप्न सकिन्छ भन्ने विषयमा हामीले काम अघि बढायौँ । पुरानो परिपाटीबाट केही अगाडि बढेर सेवाग्राहीलाई अझ राम्रो स्वास्थ्य सेवा दिने प्रयास गरेका छौँ ।
अहिले अस्पतालमा ओपीडीदेखि आईपीडीसम्मका सेवा सञ्चालनमा छन् । स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा, बर्थिङ, एमसीएच, खोप तथा पोषणसम्बन्धी सेवाहरू सञ्चालनमा छन् । १२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा पनि विस्तारै सुरु गर्ने तयारीमा छौँ ।
खिजीदेम्बा दुर्गम क्षेत्रका रूपमा चिनिन्छ। सुगम क्षेत्रबाट आउनुभएको तपाईंले दुर्गम ठाउँ नै रोज्नुको कारण के हो ?
डाक्टरी पेसा नै सेवामूलक पेसा हो । सेवाको भावनाले नै दुर्गममा आउने प्रेरणा मिलेको हो। सुगम क्षेत्रमा धेरै सेवा–सुविधा र विज्ञ जनशक्ति हुन्छ। हामीभन्दा पनि विज्ञ व्यक्तिहरू त्यहाँ हुनुहुन्छ । तर दुर्गम क्षेत्रमा जनशक्तिको कमी हुन्छ। मैले आफ्नो तर्फबाट सकेको सेवा दिन सकेँ भने यहाँका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्छ।
बिरामीको उपचार, काउन्सिलिङ र उहाँहरूको सन्तुष्टिका कुरामा मैले आफ्नो क्षमता प्रयोग गर्न सक्छु भन्ने आत्मविश्वास पनि हुन्छ। ‘मैले गर्न सक्छु, हामीले नगरे अब कसले गर्छरु’ भन्ने आँटले पनि मलाई यहाँ आउन प्रेरित गर्यो ।
अर्कोतर्फ, आफ्नो देशका लागि केही योगदान गर्नुपर्छ भन्ने सोच पनि थियो । हामी राजनीतिक क्षेत्रमा गएर योगदान गर्न नसकौँला, तर स्वास्थ्यकर्मीका रूपमा स्वास्थ्य सेवा राम्रो बनाएर देशलाई योगदान गर्न सक्छौँ । नागरिकले पाउने स्वास्थ्य सेवा उहाँहरूको अधिकार हो । हामी स्वास्थ्यकर्मी हौँ भने त्यो सेवा नदिएर कसले दिने भन्ने सोचले मलाई प्रेरित गरेको हो ।
यहाँ आएको करिब १० महिनामा कार्यालय प्रमुखका रूपमा अस्पतालमा के–कस्ता परिवर्तन गर्नुभयो ?
कार्यालय प्रमुखका रूपमा आएपछि आवश्यकताअनुसार धेरै कुरामा परिमार्जन गरेका छौँ। फोहोर व्यवस्थापन, सरसफाइ र अस्पतालको समग्र व्यवस्थापनमा जोड दिएका छौँ ।
अस्पतालका विभिन्न फाँट तथा विभागलाई व्यवस्थित गर्ने प्रयास गरेका छौँ । आईपीडी, ओपीडी, ड्रेसिङलगायत विभागमा आवश्यक सामग्रीको व्यवस्थापन र स्टक प्रणालीलाई क्रम मिलाएर सञ्चालन गरेका छौँ ।
यी कुरा हेर्दा साना लाग्छन्, तर अस्पताल प्रभावकारी रूपमा सञ्चालन गर्न निकै महत्वपूर्ण हुन्छन् । उदाहरणका लागि ड्रेसिङ कक्षमा आवश्यक सिजर, गजपिसलगायत सामग्री छैन भने बिरामी आएपछि अर्को कोठाबाट सामान ल्याउनुपर्ने हुन्छ। त्यसैले जुन कक्षमा जुन सामग्री आवश्यक हुन्छ, त्यहीँ उपलब्ध हुने व्यवस्था गरेका छौँ।
अस्पतालमा कर्मचारी परिचालनदेखि सचेतनासम्मका कुरामा पनि ध्यान दिएका छौँ । पहिले पनि सेवा–सुविधा थिए, तर अहिलेको आवश्यकता, बिरामीको अपेक्षा र त्यसलाई पूरा गर्न आवश्यक पूर्वतयारीमा सुधार भएको छ ।
तपाईंले नेपाल फर्किनुअघि बंगलादेशको दुर्गम क्षेत्रमा पनि काम गर्नुभएको रहेछ। त्यो अनुभवले खिजीदेम्बामा काम गर्न कत्तिको सहज बनायो ?
मैले नर्वेको एक गैरसरकारी संस्थामार्फत नेपालको तर्फबाट बंगलादेशको दुर्गम क्षेत्रमा रहेर पनि काम गर्ने अवसर पाएको थिएँ। त्यहाँ काम गर्दा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउँदा आउने चुनौती र समुदायसँग नजिक भएर काम गर्दाको अनुभव हासिल भयो ।
त्यसैले नेपाल फर्किएपछि पनि दुर्गम क्षेत्रमा काम गर्ने चाहना थियो। ललितपुरको गोदावरी नगरपालिकामा केही समय सेवा गरेपछि खिजीदेम्बा आउने अवसर पाएँ । यहाँको भूगोल र स्वास्थ्य सेवाको अवस्थालाई नजिकबाट बुझ्दै काम गरिरहेको छु।
खिजीदेम्बा आधारभूत अस्पतालमा अहिले बिरामीले कस्ता-कस्ता सेवा पाउन सक्छन् ?
अहिले अस्पतालबाट विभिन्न किसिमका स्वास्थ्य सेवा उपलब्ध भइरहेका छन् । ओपीडी, आईपीडी, स्त्री तथा प्रसूति सेवा, बर्थिङ, एमसीएच, खोप तथा पोषणसम्बन्धी सेवाका साथै आयुर्वेद सेवा पनि सञ्चालनमा छ ।
त्यसैगरी एक्स–रे, गर्भवतीको अल्ट्रासाउन्ड, ईसीजी, होलबडी जाँच, ल्याब सेवा र आँखासम्बन्धी सेवा पनि उपलब्ध छन् । यी सेवाहरू २४ घण्टा, सातै दिन उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी औषधिसमेत पालिकाभर निःशुल्क उपलब्ध गराइएको छ। अस्पताललाई सबै नागरिकका लागि सहज बनाउने उद्देश्यले अस्पताल पूर्ण रूपमा अपाङ्गमैत्री पनि बनाइएको छ ।
अस्पतालको बाहिरी बोर्डदेखि भित्रको सजावट, नर्सिङ स्टेसन, फर्निचरलगायतमा पनि परिवर्तन देखिन्छ । १० महिनामै यस्तो सुधार कसरी सम्भव भयो ?
यसमा खिजीदेम्बा गाउँपालिकाको ठूलो सहयोग छ । गाउँपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिहरू धन्यवादका पात्र हुनुहुन्छ । हामीले पहिले अस्पताललाई कस्तो बनाउने भन्ने खाका तयार गर्यौँ । अस्पतालमा के–के आवश्यक छ भनेर पहिचान गरेर स्थानीय तहसमक्ष राख्यौँ । उहाँहरूको सकारात्मक सहयोग प्राप्त भयो । त्यसपछि नर्सिङ स्टेसन, आईपीडी, ओपीडीका वार्डमा आवश्यक फर्निचर, औषधि व्यवस्थापनका र्याक तथा ट्रलीलगायत सामग्री थप्दै गयौँ ।
बिरामीको चाप बढेपछि बस्ने कुर्सीदेखि अन्य आवश्यक सामग्री पनि थप गर्नुपर्ने भयो । पहिले पर्याप्त भएको सामग्री बिरामीको चाप बढेसँगै अपुग हुन थालेपछि आवश्यकताअनुसार पूर्ति गर्दै गएका छौँ ।
यहाँ आउने बिरामीमा कुन–कुन स्वास्थ्य समस्या बढी देखिन्छ ?
यहाँको भूगोल र चिसो मौसमका कारण बालबालिकामा टन्सिल, ज्वरो, रुघाखोकीलगायत समस्या बढी देखिन्छ। भौगोलिक अवस्थाका कारण दुर्घटनाका केस पनि आउँछन्। भीरबाट लडेर खुट्टा भाँचिएका तथा विभिन्न चोटपटक लागेका ट्रमाका बिरामी आउने गरेका छन्।
त्यसैगरी भाइरल तथा ब्याक्टेरियल संक्रमण, टाइफाइड, एक्युट ग्यास्ट्रोइन्टेराइटिस, वाकवाकी, पेट दुख्ने र रिँगटा चल्नेलगायत समस्या लिएर बिरामी आउने गरेका छन्। मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरू पनि अस्पतालमा आउने गरेका छन्। अस्पतालमा प्रायजसो सेवा निःशुल्क छ। मानसिक स्वास्थ्यसम्बन्धी बिरामीका लागि पनि पालिकाले निःशुल्क सेवा उपलब्ध गराएको छ।
नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधि पर्याप्त मात्रामा छ ?
९८ प्रकारका सरकारी औषधि पर्याप्त मात्रामा छन् । त्यसलाई गाउँपालिकाले पनि पूर्ति गर्छ। त्यसबाहेक गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट थप औषधि खरिद गरेर निःशुल्क वितरण गर्ने गरेको छ । सरकारी सूचीमा रहेका ९८ प्रकारबाहेक थप करिब २३ प्रकारका अन्य औषधि पनि निःशुल्क उपलब्ध गराउँदै आएका छौँ ।
खिजीदेम्बामा सुरक्षित तथा असुरक्षित गर्भपतनको अवस्था कस्तो छ ? कस्ता बिरामी आउने गरेका छन् ?
पछिल्लो समय असुरक्षित गर्भपतनका बिरामी मैले प्रत्यक्ष रूपमा भेटेको छैन । त्यसैले त्यस्तो अवस्था छ भनेर यकिन गर्न मिल्दैन । तर सुरक्षित गर्भपतनका लागि परामर्श लिन आउनेहरू हुनुहुन्छ । कतिपय परिवारका सदस्यसहित पनि आउनुहुन्छ । बिरामीको स्वास्थ्य अवस्था हेरेर आवश्यक जाँचबुझ गर्छौँ र उहाँहरूको आवश्यकता तथा स्वास्थ्य अवस्थाअनुसार उपयुक्त परामर्श दिने गरेका छौँ ।
अब यहाँका नागरिकलाई अझ राम्रो स्वास्थ्य सेवा दिन स्थानीय, प्रदेश र संघीय सरकारले के गर्न आवश्यक छ ?
अहिले हामीले यहाँ दिइरहेको सेवाको स्तरमा ठूलो कमी छैन । तर अस्पताललाई अझ चुस्त–दुरुस्त बनाउन केही सेवा थप गर्न आवश्यक छ। विशेषगरी अप्रेसन सेवा सञ्चालनको विषय महत्वपूर्ण छ । यसका लागि आवश्यक स्वास्थ्यकर्मी र ओटी स्टाफको व्यवस्थापन गर्नुपर्छ। यहाँको भौगोलिक अवस्थालाई हेरेर अप्रेसन सेवा सञ्चालन कत्तिको उपयुक्त हुन्छ भन्ने विषयमा पनि परामर्श आवश्यक छ ।
जनशक्ति थप्ने काम पनि भइरहेको छ। थप डाक्टर ल्याउने तथा डेन्टल सेवा सुरु गर्ने तयारीमा छौँ । त्यसैगरी विभिन्न विशेषज्ञ सेवा जोड्न आवश्यक छ । विशेषगरी एमडीजीपी चिकित्सकको व्यवस्था हुन सके दुर्गम क्षेत्रका नागरिकका लागि धेरै प्रभावकारी हुन्छ ।
पालिकास्तरीय अस्पतालमा केन्द्र सरकारले एमडीजीपी चिकित्सक उपलब्ध गराउन सके एउटै अस्पतालबाट विभिन्न प्रकारका सेवा दिन सकिने अवस्था बन्न सक्छ। यसले यहाँका सेवाग्राहीलाई धेरै लाभ पुर्याउँछ।
दुर्गममा यति धेरै सेवा उपलब्ध गराउनुलाई तपाईं कसरी हेर्नुहुन्छ ?
दुर्गम क्षेत्रमा अस्पताल हुनु मात्रै पर्याप्त हुँदैन, बिरामीले आवश्यक सेवा आफ्नै ठाउँमा पाउन सक्ने अवस्था पनि बनाउनुपर्छ। सामान्य जाँच वा उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता कम गर्न सकियो भने त्यसले समुदायलाई ठूलो राहत दिन्छ ।
त्यसैले उपलब्ध स्रोतसाधनलाई अधिकतम उपयोग गर्दै सेवाहरू विस्तार गर्ने र अस्पताललाई नागरिकको भरोसाको स्वास्थ्य संस्था बनाउने हाम्रो प्रयास हो। अझै धेरै सेवा थप्नुपर्ने आवश्यकता छ र त्यसका लागि पनि हामी निरन्तर काम गरिरहेका छौँ ।
अन्त्यमा, खिजीदेम्बाका नागरिकलाई के भन्न चाहनुहुन्छ ?
स्वास्थ्यसम्बन्धी समस्या लुकाएर नराख्नुहोस् । समयमै अस्पताल आउनुहोस् र आवश्यक परामर्श लिनुहोस् । हामी स्वास्थ्यकर्मीको उद्देश्य यहाँका नागरिकलाई सकेसम्म गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा दिनु हो । दुर्गम क्षेत्रमा काम गर्नु चुनौतीपूर्ण भए पनि सेवाग्राहीलाई राम्रो सेवा दिन सक्नु नै हाम्रो मुख्य उद्देश्य हो ।
सम्बन्धित समाचार
मोबाइलबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने बाध्यताको अन्त्य
विश्वविद्यालयको सयौँ बिघा जग्गा अतिक्रमणमा
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन
अब काठमाडौंबाट हेटौंडा जाने आउने कसरी ? यस्तो छ नयाँ रुट
‘खिजीदेम्बालाई ओखलढुंगाको कर्णाली भनिन्छ, विकासको पहिलो प्राथमिकता सडक सञ्जाल हो’
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
दुध बिक्रीबाटै मनग्य आम्दानी गर्दै सत्यवतीका किसान






