‘खिजीदेम्बालाई ओखलढुंगाको कर्णाली भनिन्छ, विकासको पहिलो प्राथमिकता सडक सञ्जाल हो’

ओखलढुंगाको विकट भूगोलमा अवस्थित खिजीदेम्बा गाउँपालिका प्राकृतिक स्रोतसाधन, जडीबुटी, कृषि र पर्यटनका हिसाबले सम्भावनायुक्त क्षेत्र हो । तर पर्याप्त सडक सञ्जाल र पूर्वाधारको अभावका कारण यहाँका नागरिकले अझै पनि सहज यातायात तथा आधारभूत सेवाका लागि संघर्ष गर्नुपरिरहेको छ। संघीय संरचनापछि स्थानीय तहले विकास निर्माणलाई प्राथमिकता दिँदै सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा पर्यटन क्षेत्रमा काम गरिरहेको छ। आगामी विकासका प्राथमिकता, सडकको अवस्था, स्थानीय नागरिकको आयआर्जन र गाउँपालिकाको सम्भावना’bout राजधानीकर्मी जितेन्द्र थापाले खिजीदेम्बा गाउँपालिका–१ का वडा अध्यक्ष कुमार सुनुवारसँग गरिएको कुराकानीको सम्पादित अंश :

संघीय संरचनामा आउनुअघि र अहिलेको स्थानीय तहबीच के फरक देख्नुभएको छ ?

संघीय संरचनामा आउनुअघि अहिलेको खिजीदेम्बा गाउँपालिका विभिन्न गाविसमा विभाजित थियो। चण्डेश्वरी, खिजीफलाटे, खिजीकाती, रगनी, रावादुलु, भुसिङ्गा र पातलेलगायत गाविस थिए। पछि पातले गाविसका पाँच वटा वडा र पोखली गाविसको एउटा वडा समेटेर अहिलेको नौ वटा वडा रहेको खिजीदेम्बा गाउँपालिका बनेको हो।

पहिले गाविस हुँदा सानो–सानो बजेट आउने भएकाले विकास निर्माणका काम पनि सीमित थिए। अहिले गाउँपालिका बनेपछि बजेटको आकार बढेको छ र विकासका कामलाई समग्र पालिकाको योजनाअनुसार अघि बढाउन सकिएको छ।

खिजीदेम्बालाई ओखलढुंगा जिल्लाको ‘कर्णाली’ जस्तै भनेर पनि भन्ने गरिन्छ। यातायात र अन्य सुविधाका हिसाबले अझै पनि हामी विकट अवस्थामा छौँ। तर प्राकृतिक स्रोतसाधनका हिसाबले भने खिजीदेम्बा निकै सम्पन्न क्षेत्र हो। यहाँ पाँचऔँले, जटामसीलगायत विभिन्न बहुमूल्य जडीबुटी पाइन्छन्। करिब ३ हजार ३ सय ५० मिटर उचाइको रहेको महत्वपूर्ण थोलेदेम्बा डाँडा पनि यही गाउँपालिकामा पर्छ।

विकासको मुख्य प्राथमिकता केलाई दिनुभएको छ ?

हाम्रो पहिलो प्राथमिकता सडक सञ्जाल विस्तार र गुणस्तरीय सडक निर्माण हो। स्थानीय नागरिकले लामो समयदेखि रामेछापको देवीटार र दोलखाको जिरी हुँदै राजधानी काठमाडौंसँग सहज रूपमा जोडिनुपर्ने माग गर्दै आएका छन्।

वि।सं। २०६४ सालतिर लिखु–भुसिङ्गा हुँदै खिजीदेम्बामा सडकको ट्र्याक खुलेको थियो। अहिले त्यो सडक विस्तार हुँदैछ। गाउँपालिकाका अधिकांश वडामा ट्र्याक पुगेका छन् र साना–ठूला सवारीसाधन सञ्चालन गर्न सकिने सोलिङ सडक पनि निर्माण भएका छन्।

वडा नम्बर १ मा केही दूरी कालोपत्रे पनि गरिएको छ। तर सुरुवाती चरणको कालोपत्रे अपेक्षाअनुसार टिकाउ हुन सकेन। अहिले भने रामेछापको ढाँडेदेखि खिजीफलाटेसम्मको सडक कालोपत्रेका लागि करिब २६ करोड रुपैयाँ बजेट छुट्याइएको छ। यो सडक निर्माणले यातायातमा ठूलो सहजता ल्याउने अपेक्षा गरेका छौँ।

शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य क्षेत्रमा वडाले के काम गरिरहेको छ ?

गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ। खिजीदेम्बालाई अर्गानिक गाउँपालिका बनाउने अभियानमा हामी अघि बढिरहेका छौँ। स्थानीय उत्पादन बढाउने र त्यसको बजारीकरण गर्ने काममा जोड दिएका छौँ।

पर्यटनको क्षेत्रमा पनि विभिन्न सम्भावना छन्। प्याराग्लाइडिङदेखि अन्य पर्यटन गतिविधि र प्रतियोगिताहरू भएका छन्। गाउँपालिकाले पर्यटन रुट निर्माणको काम पनि अघि बढाएको छ।

वडाको बजेटबाट शिक्षा, स्वास्थ्य, ग्रामीण सडक र खानेपानीलाई प्राथमिकता दिएका छौँ। ग्रामीण सडकमा सोलिङ गर्ने, कल्भर्ट निर्माण गर्ने तथा खानेपानीका पुराना योजनाको मर्मत–सम्भार र व्यवस्थापन गर्ने काम भइरहेका छन्।

स्वास्थ्यतर्फ प्रत्येक वडामा स्वास्थ्य चौकीको व्यवस्था छ। हामी निर्वाचित भएर आएपछि गाउँपालिकामा पाँच वटा एम्बुलेन्स ल्याएका छौँ। सुत्केरी तथा प्रसूति सेवाका लागि आवश्यक परेमा काठमाडौंसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गरेका छौँ। त्यस्तै, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्थानीय अस्पतालबाट रेफर भएपछि राजधानीसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने व्यवस्था गरिएको छ। अन्य बिरामीका लागि भने इन्धन खर्च लिएर सेवा दिने गरेका छौँ।

स्थानीय नागरिकको आयआर्जन बढाउन के कस्ता कार्यक्रम सञ्चालन गर्नुभएको छ ?

हाम्रो मुख्य आधार कृषि नै हो। परम्परागत बाली उत्पादनमा लागत धेरै लाग्ने भएकाले वैकल्पिक तथा आम्दानी बढाउने खेतीतर्फ पनि जोड दिएका छौँ।

आर्थिक वर्ष २०८१/८२ मा तीन लाख रुपैयाँ बजेट छुट्याएर कफीका बिरुवा ल्याई इच्छुक कृषकलाई वितरण गरेका थियौँ। त्यसैगरी कुक तालिम, सिलाइ–बुनाइ, बाख्रापालनलगायत आयआर्जनसँग जोडिएका विभिन्न तालिम सञ्चालन गरेका छौँ।

तर हाम्रो मुख्य समस्या बजारीकरण हो। उत्पादन गरेपछि बजारसम्म पुर्‍याउन चुनौती छ। आगामी दिनमा माटो परीक्षण गरेर यहाँको हावापानी र माटोअनुसार कुन कृषि उत्पादन उपयुक्त हुन्छ भन्ने प्राविधिक अध्ययन गराई त्यहीअनुसार बिरुवा तथा कृषि सामग्री वितरण गर्ने योजना बनाएका छौँ।

स्थानीय नागरिकले सडकको गुणस्तर र वर्षायाममा हुने समस्या’bout गुनासो गरिरहेका छन् । यसलाई कसरी हेर्नुभएको छ ?

गुणस्तरीय सडक निर्माण हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो। त्यसका लागि हामीले निरन्तर पहल गरिरहेका छौँ। तर सडक निर्माणमा ठेक्का प्रक्रियाका कारण पनि समस्या देखिएको छ। कम मूल्यमा ठेक्का कबोल गर्नेले ठेक्का पाउने प्रवृत्तिले कतिपय अवस्थामा कामको गुणस्तरमा असर परेको देखिन्छ। ठेकेदारले लागत घटाउने क्रममा गुणस्तरमा सम्झौता गर्ने अवस्था आउनु हुँदैन।

वडा नम्बर १ मा गरिएको प्रारम्भिक कालोपत्रेको काममा पनि केही कमजोरी देखिएका थिए। सडकको जमिन सिमसार प्रकृतिको हुनु, कल्भर्टको पर्याप्त व्यवस्था नहुनु तथा निर्माणमा भएको ढिलाइका कारण कालोपत्रे टिकाउ हुन सकेन। कतिपय ठाउँमा आवश्यक मोटाइसमेत कायम नभएको देखियो।

पानीको उचित निकास नहुँदा पहिरो जाने र सडक बिग्रने समस्या पनि छ। अहिलेको अवस्थामा भने पहिलेको तुलनामा सडक केही व्यवस्थित भएको छ। तर वर्षायाममा पहिरोका कारण सवारीसाधन अवरुद्ध हुने समस्या अझै हाम्रो मुख्य चुनौती हो।

आगामी दिनमा सडक र समग्र विकासका लागि तपाईंको प्राथमिकता के हुनेछ ?

आगामी दिनमा हाम्रो मुख्य प्राथमिकता गुणस्तरीय सडक निर्माण, यातायातको सहज पहुँच र स्थानीय उत्पादनको बजारीकरण हो। सडक ट्र्याक खोल्ने मात्र होइन, दीर्घकालीन रूपमा टिक्ने र नागरिकले वर्षभरि प्रयोग गर्न सक्ने बनाउनुपर्छ।

सडकसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनलाई जोडेर समग्र विकास गर्नुपर्छ। खिजीदेम्बामा प्राकृतिक स्रोत र पर्यटनको ठूलो सम्भावना छ। त्यसलाई स्थानीय नागरिकको आयआर्जनसँग जोड्न सकियो भने यहाँका नागरिकलाई बाहिर जानुपर्ने बाध्यता पनि क्रमशः कम गर्न सकिन्छ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन