काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने सुरक्षाकर्मीको उच्च कदर हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत आज आइतबार उनले विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई उनीहरुको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने बताएका छन् ।
‘तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ, ’ प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन । संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौँ । संकट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरुलाई पनि हामी विशेष धन्यवाद दिन्छौँ ।’
प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ मानिसलाई उद्धार गरिएकोसमेत उल्लेख गरेका छन् । सुरक्षाकर्मीले घाइतेको स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेरसमेत जतिसक्दो चाँडो अस्पताल पु¥याएको उनले बताएका छन् ।
साथै शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरमा प्रभावितलाई हौसला बढाउन हाम्रा तीनै निकायका सुरक्षाकर्मी अहोरात्र खटिरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।
‘कठिन भूगोल छ, प्रतिकूल मौसम छ, तर, हाम्रा सुरक्षाकर्मी बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ,’ उनले भनेका छन्, ‘तपाईंहरूले प्रभावितको पीडा गहिरोसँग बुझ्नुभएको छ । बाढीका कारण सम्पर्कविहीन भएको भन्दै आफ्ना मान्छे खोजिदिन तपाईंहरुसँग आग्रह गर्ने मानिसको संख्या ठूलो छ । त्यसैले तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ ।’
‘हामीलाई थाहा छ– तपाईंहरु पनि साथीहरु गुमाएको पीडामा हुुनुहुन्छ । बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन हुनुहुन्छ । यस्तो पीडामा आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ । सकिनसकी शव उठाइरहनुभएको छ । होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ । अझै पनि बाढी आउनसक्ने सूचना आएकाले सर्तक रहन माइकिङ गर्दै हिँडिरहनुभएको छ । तपाईंहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा लागिरहनुभएको छ,’ प्रधानमन्त्री शाहको भनाइ छ ।
‘आ–आफ्ना मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टबाट कमाण्डरहरुले प्रभावित क्षेत्रमा खटिरहेका सुरक्षाकर्मीलाई निर्देशन दिइरहनुभएको छ । समन्वय गरिरहनुभएको छ । कमान्डरलाई चिन्ता पनि छ होला कतै आफ्ना सुरक्षाकर्मी खोजी र उद्धारमा खटिँदै गर्दा आफैँ अप्ठ्यारोमा पर्छन् की ? त्यसैले प्रभावित क्षेत्रमा खटिरहनुभएका आफ्ना साथीहरुको मनोबल उच्च राख्ने प्रयास गरिरहनुभएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।
प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाले बाढी आएलगत्तै सैनिक मुख्यालयको योजनाअनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको छ । रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको र ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ ।
प्रभावित क्षेत्रको कठिन भूगोलमा अन्य सुरक्षा निकायको सहयोग लिएर उद्धारको अगुवाइ गरिरहेको छ । विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धारको नेतृत्व गरिरहेको छ । यो उद्धार टोलीमा सशस्त्र प्रहरी बल, नेपालको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टिम’ परिचालन भइरहेको छ । साथै, सेनाले तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र बाटो खोल्ने काम तीव्र पारेको छ । नुवाकोटको देवीघाटमा सेना आफँैले आफ्ना इन्जिनियरहरु परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा अहिले नौ हजार २८७ सेना खटिरहनुभएको छ ।
बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय रहेको प्रधानमन्त्री शाहको भनाइ छ । तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन् । घाइतेलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउने काम भइरहेको छ । शव व्यवस्थापनमा प्रहरीले नेतृत्व गरिरहेको छ । जोखिमपूर्ण क्षेत्रमा निरन्तर सूचना प्रवाह गर्दै नागरिकको जिउधनको सुरक्षा गरिरहेको छ । त्यति मात्रै होइन, प्रभावित क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न पनि प्रहरीले उत्तिकै मेहनत गरिरहेको छ । हाल बाढी प्रभावित क्षेत्रमा सात हजार ९७५ प्रहरी खटिरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहका अनुसार, सशस्त्र प्रहरी बल, नेपालले पनि कठिन भूगोल र उर्लदो भोटेकोशी–त्रिशूली नदीको जोखिम मोल्दै विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत प्रत्यक्ष खोज तथा उद्धारमा सक्रिय रूपमा खटिरहेको छ । त्यसका लागि प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट, १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको थियो । ड्रोन स्क्वाड परिचालन गरिरहेको छ । केनाइन टोली पनि सँगसँगै खटाएको छ । प्रभावित क्षेत्रमा उपचार सेवा दिइरहेको छ । प्रभावित क्षेत्रको नेपाल–चीन सीमानामा नेपाली झण्डा स्थापना गर्न सफल भएको छ । हाल प्रभावित क्षेत्रमा चार हजार २०३ सशस्त्र प्रहरी खटिरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।
सम्बन्धित समाचार
मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
कोइरालाको नेतृत्वमा आपतकालीन केन्द्र स्थापना
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
सुरुङभित्र फसेका मानिसको उद्धारमा खटिएको टीम सुरङभित्र प्रवेश
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो
आज रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
भोटेकोशी बाढीबाट रसुवामा तीन हजार अझै सम्पर्कविहीन






